मेसीको जर्सी जलाऊ भन्नेलाई प्रतिबन्ध
काठमाडौं : अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले प्यालेस्टाइनको फुटबल संघका अध्यक्ष जिब्रिल राजुबलाई एक वर्षको प्रतिबन्ध लगाएको छ। उनले अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीको जर्सी र तस्बिर जलाउन समर्थकलाई सुझाव दिएका थिए।
घृणा बढाएको तथा हिंसा भड्काउनका लागि उक्साएको भन्दै फिफाले उनीमाथि प्रतिबन्ध लगाएको हो। जिब्रिलले १५ हजार ८ सय २६ पाउन्ड जरिवाना पनि तिर्नुपर्नेछ। उनले अर्जेन्टिना र इजरायलबीच गत जुनमा तय भएको मैत्रीपूर्ण खेलअघि मेसीको जर्सी र तस्बिर जलाउन भनेका थिए।
विश्वकपअघि गत जुनमा इजरायलको जेरुसेललमा अर्जेन्टिनाले खेल्ने तय भएको थियो। तर, अर्जेन्टिनाले इजरालयमा आएर खेल्न लागेकोमा विवाद बढ्दै गएपछि यो खेल नै रद्द गरिएको थियो। खेल रद्द भएपछि प्यालेस्टाइनको फुटबल संघले वक्तव्य जारी गरेर मेसी तथा अर्जेन्टिनाको टिमलाई धन्यवाद पनि भनेको थियो।