चिनियाँ माटोमा नेपाली वैज्ञानिक
काठमाडौं : चीन सरकारले नेपाली युवा वैज्ञानिक प्राध्यापक डा. राजीवकुमार झाकै नाममा चीनको सियानमा 'चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजीवकुमार झा' खोलेको छ।
त्यहाँ, विश्वमा नै ठूलो चुनौती बनिरहेको क्यान्सर रोगको नियन्त्रणका उपाय खोज्ने विषयमा अनुसन्धान हुन्छ। दिनहुँ दर्जनौँ चिनियाँ र अरू विदेशी विद्यार्थीले डा. झाबाट 'असाइनमेन्ट' लिन्छन्।
उनी त्यहाँका प्राध्यापक हुन् र चीन सरकारद्वारा घोषित सन् २०१५ का युवा वैज्ञानिक। चीनको सान्सी प्रान्तले दिने '१०० ट्यालेन्ट' को उपाधि चीन सरकारले सन् २०१५ मा नै दिएको हो उनलाई।
एमबीबीएसपछिका सबै कोर्स उनले चीन सरकारको छात्रवृत्तिमा गरेका हुन्। उनको पीएचडी र त्यसपछिको अनुसन्धान आमाशयमा हुने क्यान्सरमा केन्द्रित छ। सियान मेडिकल युनिभर्सिटीमा स्थापना गरिएको सो केन्द्रमा हाल क्यान्सर रोगसम्बन्धी अध्ययन, अनुसन्धानका साथै यससम्बन्धी नेपाल, चीन तथा अन्य देशसँगको चिकित्सकीय अनुभव पनि आदानप्रदान हुने गर्छ।
उनले आमाशयमा हुने क्यान्सर सेलहरूको वृद्धिको गति रोक्ने उपाय खोजी गरिरहेका छन्। यी युवा वैज्ञानिकको नेपालमा चिकित्सा क्षेत्रको अनुसन्धानका लागि विश्वस्तरको रिसर्च सेन्टर खोल्ने योजना छ। भन्छन्, 'अहिले पनि संसारमै चिकित्सा क्षेत्रमा अनुसन्धान हुन सकिरहेको छैन। नेपालमा त झन् यो अवस्था अत्यन्तै नाजुक छ।'
हरेक वर्ष नेपालमा विभिन्न रोगले मान्छे मर्ने गरेका छन्। यसमाथि अनुसन्धान नगरी सरकारी अधिकारीले अज्ञात रोगले मान्छे मरेको भनेर समाचार दिने गर्छन्। ‘अहिलेको जमानामा पनि रोगको नाम अज्ञात भन्ने हुन्छ र ?' उनी प्रश्न गर्छन्।
नेपालको चिकित्सा क्षेत्र बढी बजारमुखी भएको र सरकारको दायित्व एवम् अनुसन्धानका कुरा कतै पनि नआएको उनको धारणा छ। चिनियाँ नागरिकको परिश्रम गर्ने र पढ्ने बानीका कारण देश विकास सम्भव भएको अनुभव सुनाउँछन् उनी। विश्वविद्यालयमा पनि प्राध्यापकप्रति विद्यार्थीले गर्ने सम्मान तथा प्राध्यापकले विद्यार्थीका लागि गर्ने परिश्रमबाट आफू निकै प्रभावित भएको उनको अनुभव छ।
उनले यसै महिना मात्र सन् २०१८ को लागि ‘सियान फ्रेन्डसिप अवार्ड' पाए। चीनको सान्सी प्रान्तस्थित सियान सरकारद्वारा प्रत्येक दुई वर्षमा दिइने उक्त पुरस्कारका साथ 'सियान एक्सिलेन्ट फरेन एक्सपर्ट अवार्ड' बाट पनि डा. झासहित विभिन्न नौ देशका १० जना विशिष्ट प्रतिभाशाली व्यक्ति पुरस्कृत भएका छन्। सो पुरस्कार प्राप्त गर्ने उनी पहिलो नेपाली हुन्। उनी हाल चीनका विभिन्न विश्वविद्यालयमा भिजिटिङ प्रोफेसर पनि हुन्।
चीनको सान्सी प्रान्तले झालाई नेपालका लागि नागरिक दूत नियुक्त गरेको छ। चीनको कुनै पनि प्रान्तीय सरकारले त्यहाँ लामो समय बसेर विभिन्न क्षेत्रमा विशिष्टता हासिल गरेका र अन्य देशसँगको सम्बन्ध विकासमा उल्लेखनीय योगदान पुर्याउने विदेशी नागरिकलाई 'नागरिक दूत' का रूपमा नियुक्त गर्छ।
गत वर्ष मात्र झालाई सियान प्रान्तले चिनियाँ बृहत् आयोजना 'वान वेल्ट वान रोड' सम्बन्धी नेपालमा सञ्चालन गरिने सम्पूर्ण कार्यक्रम हेर्ने दूतका रूपमा नियुक्त गरेको थियो। चिनियाँ राष्ट्रपति सी चिनफिङको गृहनगरसमेत रहेको सियान चीनको पुरानो 'सिल्क रोड' अवधारणाको उत्पत्ति भएको शहर पनि हो।
जनकपुरधामको प्रवाहा गाउँमा जन्मिएका झाले काठमाडौँ विश्वविद्यालयबाट आईएससी गरेका हुन्। उनी २०५३ सालमा एमबीबीएस पढ्न चीन पुगे। त्यसपछि उनले त्यहीँबाटै पीएचडी र 'पोस्टडक' गरेका छन्। पढ्ने र पढाउने गरी उनले चीनमा २२ वर्ष बिताएका छन्।
सम्पूर्ण साप्ताहिक