त्रिशूलीबाट बालुवा निकाल्ने क्रममा डुबेर मृत्यु
बेल्खु (धादिङ) : त्रिशूलीमा आएको भल छोपेर बालुवा निकाल्ने क्रममा एकजना मजदुरको मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिका–६ बेल्खुस्थित त्रिशुली नदीको किनारमा हातैले बालुवा निकाल्ने क्रममा सिद्धलेक गाउँपालिका–७ का प्रकाश थापा मगरको डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।
बालुवा निकाल्न नदीमा पसेका थापा पानीमा डुबेका उनलाई अरुले थाहा पाउनेबित्तिकै खोजी गर्दा नभेटिएपछि मृत्यु भएको सहकर्मी मजदुरलाई उधृत गर्दै जिल्ला प्रहरी प्रमुख डम्बरबहादुर विकले बताए ।
अवैधरुपमा बालुवा प्रशोधन केन्द्रहरु चलाउन प्रशासनले कडाइ गरेपछि हातैले बालुवा निकाल्ने पेशा मजदुरहरुका लागि राम्रो कमाइ बनेको थियो । बर्षाका कारण उर्लिएको भेलमा पानीसँग कुनै सुरक्षा उपकरणबिना नदीको भेलसँग पौठेजोरी खेल्दै बालुवा निकाल्दा गत असारमा पनि एक मदजुर बेपत्ता भएका थिए ।
चाडबाड नजिकिएसँगै त्रिशुलीमा असुरक्षित रुपमा बालुवा निकाल्ने मजदुरहरु प्रशस्तै छन् । अझ बाहिरी जिल्ला र विशेष गरी तराईबाट पनि बालुवा निकाल्ने मदजुरहरु त्रिशुली किनारमा आएका छन् ।