यसरी मनाइँदै सामाजिक सद्भावको पर्व

यसरी मनाइँदै सामाजिक सद्भावको पर्व

बैतडी : सुदूरपश्चिमको मुख्य पर्व गौरा सोमबारबाट सुरु भएको छ। यो पर्व सुदूरपश्चिमका साथसाथै भारतको कुमाउ गढवालसम्म मनाइने गरिन्छ। गौरालाई सामाजिक सद्भावको पर्वको रुपमा पनि लिइन्छ। 

बिरुडापञ्चमीदेखि  सुरु भएको गौरा पर्व दुर्वाष्टमी अर्थात् अठ्यावलीको दिन सकिने गर्दछ। गौरामा विशेष गरी शिव पार्वतीको पूजा गर्ने चलन छ। खास गरेर यो पर्वको सम्बन्ध कैशाल पर्वतसँग रहेको संस्कृतिका जानकार आचार्य घनश्याम लेखक बताउँछन्। उनी भन्छन्, 'मानसखण्ड भूमिमा धेरै किसिमका मौलिक संस्कृति रहेका छन्। ती मध्ये गौरापर्व पनि एक हो। यसमा शिव र पार्वतीको उपासना गर्ने गरिन्छ। यो पर्वमा खास गरेर महिलाले ब्रत बसेर पूजा गर्ने चलन रही आएको छ।'गौरामा विवाहित महिलाले ब्रत बसी शिव र पार्वतीको पूजाआजा गर्ने गर्दछन्। शिवपार्वतीको जीवनगाथासँग जोडिएका फाग गाइने यो पर्वको मुख्य विशेषता हो। 

बिरुडापञ्चमी : गौरापर्वको मुख्य दिनको रुपमा बिरुडापञ्चमीलाई लिइन्छ। विवाहित महिलाले पञ्चमीकै दिनदेखि ब्रत बस्न सुरु गर्दछन्। कुनै वर्ष भाद्र शुक्ल पञ्चमी र कुनै वर्ष भाद्र कृष्ण पञ्चमीका दिन बिरुडा पञ्चमी पर्ने गर्दछ। यो वर्षको गौरा कृष्ण पक्षमा परेको छ।

बिरुडामा पाँच प्रकार अन्न मिसाइने गरिन्छ। गहत, गुरौस,केराउ, मास र गहुँ मिसाएर पञ्चबिरुडी बनाउने चलन छ। बिरुडापञ्चमीको दिन यी पाँच प्रकारका अन्नलाई मिसाएर तामाको भाँडामा भिजाउने गरिन्छ। बिरुडा भिजाउने बेलामा पनि फाग गाउने गरेको सुर्नया गाउँपालिकाकी हरिना अवस्थीले बताइन्। उनले भनिन्, 'गौराको सुरुवात श्रावणमा पर्ने गौरे एकदशीबाट भएपनि मुख्य रुपमा बिरुडापञ्चमीबाटै सुरु भएको मानिन्छ। यो दिन सबै ब्रतालु महिलाले आ-आफ्ना घरमा बिरुडा भिजाउने गर्दछन्। सबैले एक ठाउँमा बसेर फाग समेत गाउने गर्दछन्।'

'गौत गुरौस,गहुँ रे मास त कलौ बिरुडी नाइब पाया' जस्ता फागहरु गाएर बिरुडा पञ्चमीको दिन बिरुडा भिजाउने चलन रही आएको छ। षष्ठी(नानीगोरा): बिरुडा पञ्चमीको भोलीपल्ट षष्ठीको दिन ब्रतालु महिला बिहानै नुवाईधुवाई गरी नजिक धारा,कुवा तथा तलाउमा जमा हुने गर्दछन्। त्यो ठाउँमा खेतबाट साँवाको बोट,अपामार्ग लगायतका चीजहरु ल्याएर गौराको प्रतिमूर्ति बनाइ बिरुडाले पूजा गर्ने चलन छ। पञ्चमीका दिन भिजाएका बिरुडालाई धुने चलन समेत रही आएको छ। 

धनगढीमा गौरा पर्व मनाइँदै। तस्बिर : शिवराज भट्ट

अमुक्ताभरण सप्तमी : यो दिन ब्रतालु महिलाले गौराघरमा गौरालाई भित्र्याउने गर्दछन्। ब्रतालु महिला साँझको समयमा एक ठाउँमा जम्मा भएर खेतबाट साँवाको बोटा, अपामार्गलगायत मिलाएर गौराको प्रतिमूर्ति स्थापित गर्ने गर्दछन्। त्यो दिन गौरासँगै महेश्वर पनि स्थापित गरेर पूजा गर्ने चलन रही आएको छ। ब्रतालु महिला आफ्ना खेतबारी फलेका फलफूल चढाएर गौराको पूजा गर्न जाने गर्दछन्। दुर्वाष्टमीका दिन लगाउने विशेष प्रकारको धागो (दुबधागो) पनि सप्तमीकै दिन गौरामा चढाउने चलन छ।

यो दिन गौरालाई आफूहरुले विभिन्न फाग गराएर आसन ग्रहण गर्न आग्रह गर्ने गरेको हरिना अवस्थीले बताइन्। उनले भनिन्, 'लिपि घसी द्यौ रुडी द्यौ पाड गौरादेवी आसन बस' भनेर सबै देवीदेवतालाई बस्न आग्रह गर्नेखालका फागहरु गाउने गर्दछौं। गौरा र महेश्वरलाई आसन ग्रहण गराएपछि गौराको पूजाआजका साथै कुण्ड स्नान समेत गर्ने गरिन्छ।'

कुण्डस्नान गर्ने बेलामा ब्रतालु महिलालाई गौरादेवीले चिताएको फल दिन्छिन् भन्ने जनविश्वास छ। कुण्डस्नान गर्ने बेला विशेष मन्त्रोच्चारण गरिने पण्डित विष्णुदत्त पन्तले बताए। सप्तमीकै दिन गौरा र महेश्वरको बिहेको प्रसंग समेत महिलाले फागमार्फत झल्काउने गर्दछन्। गौरामा गाइने फागकी जानकार हरिना अवस्थी भन्छिन्, 'गौरामा गाइने फागमा गौरी(पार्वती) र महेश्वर (शिव)को उत्पत्तिदेखि लिएर उनीहरुले सृष्टि रचना गरेकोसम्म समेटेको पाइन्छ। यो कतै लेखेको हुँदैन तर सुनेकै भरमा अर्को पुस्ताले अनुसरण गर्दै जान्छन्।'

दुर्वाष्टमी(अठ्यावाली) : गौराको मुख्य दिनको रुपमा दुर्वाष्टमी अर्थात अठ्यावालीको दिनलाई मानिन्छ। यो दिन बिहानै ब्रतालु महिलाले नुवाईधुवाई गरेर सप्तमीका दिन गौरा स्थापना गरेको गौरा घरमा जाने गर्दछन्।

गौरा घरमा सप्तमीका दिन स्थापना गरिएको गौरालाई श्रृंगारपटार गरी सजाएर गौरा खला (आँगन)मा लग्ने गरिन्छ। गौरा र महेश्वरलाई ब्रतालु महिलाले टाउकोमा राखेर खेलाउँदै विभिन्न फाग गाउँदै गौराखलामा लग्ने चलन छ।

गौरालाई गौराखलामा पुर्‍याएपछि ब्रतालु महिलाले फाग गाउँदै बिरुडापञ्चमीका दिन भिजाएका बिरुडाले गौराको पूजा गर्ने चलन रही आएको छ। अठ्यावालीका दिन गौराको उत्पत्ति, महेश्वरको उत्पत्ति, गौरा महेश्वरको बिहेलगायतका कुराहरु फागमार्फत जानकारी गराइन्छ।

धनगढीमा गौरा पूजामा सहभागी भक्तालु महिला  ।  तस्बिर : शिवराज भट्ट

अठ्यावालीका दिन फल प्रसाद पाइसकेपछि ब्रतालु महिलाले सप्तमीका दिन गौराका चढाएको विशेष प्रकारको धागो (दुबधागो)लाई आफ्नो घाँटीमा लगाउने गर्दछन्। तागाधारी पुरुषले जनै धारण गरेजस्तै सुदूरका महिलाले गौराका दिन दुबधागो लगाउने गर्दछन्। यसका साथै बिरुडाले आफ्ना आफन्तजनको टाउको पुज्ने गर्दछन्। 

अठ्यावालीका दिन ब्रतालु महिलाले गौराको पूजा गरिसकेपछि पुरुषले विभिन्न प्रकारका ठाडोखेल, ढुस्को,धमारी खेल्ने गर्दछन्। यी खेलमा इतिहास समेटेको पाइन्छ। ठाउँ अनुसार ठाडोखेल,ढुस्को, धमारी फरकफरक हुने गरेका छन्। 

कतिपय ठाउँमा देवीदेवताको गाथामा आधारित खेलहरु खेल्छन् भने कतिपय ठाउँमा वीरपुरुषको इतिहासका बारेमा खेल खेल्ने गरेका छन्। यी इतिहास अलिखित भएकाले मेटिदै जाने सम्भावना बढेको महाकाली साहित्य संगम बैतडीका अध्यक्ष चन्द्रमोहन तिवारी बताउँछन्। उनी भन्छन् 'गौराका समयमा गाइने ठाडोखेल,ढुस्को,धमारीमा इतिहास समेटिएको हुन्छ तर, नयाँ पुस्ताले यसमा चाँसो नदिएकाले हराउने सम्भावना त्यत्तिकै छ।'

अठ्यावाली अर्थात् दुर्वाष्टमीको दिन उपयुक्त दिन हेरेर गौरालाई समापन गर्ने गरिन्छ। ज्योतिषले दिएको शुभ दिनमा अमुक्ताभरण सप्तमीको दिन स्थापना गरिएको गौरालाई नजिकका मठमन्दिरमा लगेर समापन गर्ने गरिन्छ। 

त्यो दिन पनि ब्रतालु महिलाले फाग गाएर गौरालाई माइत पुर्‍याएको भन्ने गरिन्छ।'उपरी भदौकी रञ्झङिलो मु माइत बोलाया रञ्झङिलो' भनेर फाग गाउने गरिन्छ।  

पारिवारिक सम्बन्ध जोड्ने पर्व 
सदियौंदेखि मनाइँदै आएको गौरा पर्वलाई सुदूरपश्चिमेलीले सामाजिक सद्भाव र पारिवारिक सद्भावको पर्वको रुपमा लिन्छन्। बैतडीको सुर्नया गाउँपालिका- ६ शंकरपुरका विष्णुदत्त अवस्थी तराई झरेको तीन दशक हुन लागेको छ। तर उनी प्रत्येक वर्षको भाद्र महिनामा पहाड उक्लने गर्दछन्। भन्छन्, 'सकभर प्रत्येक वर्ष नभए तेश्रो वर्ष गौराका लागि पहाड आउने गर्दछु। गौरापर्वले हामी तराई झरेकालाई समेत पहाडसँग जोडेको छ। गौराकै समयमा पहाडमा बस्नका लागि भनेर हामीले घर बेचेका छैनौं। जन्मभूमीप्रतिको सम्बन्धलाई बलियो बनाउन गौरापर्वले भूमिका खेलेको छ। तराई झरेका हामीलाई पहाड बसेका प्रत्येक आफन्तसँगको भेट यस पर्वले गराउँछ।'

सुर्नया गाउँपालिका-६ शंकरपुरमै जन्मेका रघुनाथ अवस्थी पनि अचेल तराई बस्छन्। तर प्रत्येक वर्ष गौराका लागि पहाड पुग्ने गर्दछन्। भन्छन्, 'गौरापर्व हामीलाई एकआपसमा जोड्ने पर्व हो। तराई झरेपछि पहाड भुलेकालाई सम्झन् बाध्य पार्छ। हामी गौराका लागि सकेसम्म हरेक वर्ष पहाड आउने गर्दछौं। यसले जन्मेको ठाउँको विकासका लागि घच्घच्याउने काम समेत गर्दछ।'

बैतडीमा गौरा नाच नाच्दै महिला। तस्बिर : भगीरथ अवस्थी।

उमेरले ७५ वर्ष काटीसकेकी कमलादेवी अवस्थी पनि यो वर्ष गौराका लागि पुख्र्यौली थलो बैतडी फर्किइन्। पहाडमा बस्दा सँगैका साथीहरु भेट्दा उनको मन निकै फुरुंग थियो। उनी भन्छिन् , 'मसँगैका कतिपयले यो संसार छोडीसकेका रहेछन्। बाँचेकासँग भेट भयो। भेट गराउने गौरा पर्व नै हो। म गौरा पर्वकै लागि पहाड आएकी हुँ।'

गौरा पर्वकै लागि तराईबाट पहाड पुगेको गणेशदत्त अवस्थीले पनि गौरा पर्वले सबैलाई नजिक ल्याउने काम गरेको बताए। उनले भने, 'गौराको अन्तिम दिन महिलाले आउँदो भदौमा भेट्ने बाँचा फागमार्फत गर्छन्। यसले गर्दा गौराका लागि पहाड पुग्नु भनेको आफ्नो मातृभूमीप्रतिको माया पनि हो।'

मूलघर पहाड भई पछि तराई झरेका गौराका लागि पहाड फर्कने गर्दछन्। पहाडमा आफ्ना पुख्र्यौली घरमा गौराको बेला उनीहरु बस्ने गर्दछन्। यसले मातृभूमी प्रतिको मायालाई अझै प्रगाढ बनाउने संस्कृतिका जानकार नारद अवस्थी बताउँछन्। 

पहाडसँग गौरा पर्वको सम्बन्ध 
गौरा पर्वमा खास गरेर भगवान शिव र पार्वतीको पूजा गरिन्छ। महादेवलाई स्वामी पाउनका लागि राजा हिमालयकी छोरी पार्वतीले तपस्या गरेको प्रसंग उल्लेख छ। कैलाश पर्वतमै बसेर पार्वतीले तपस्या गरेको हुनाले पहाड र हिमालसँग गौरापर्वको साइनो जोडिएको जानकार बताउँछन्। गौरापर्व नेपालमा मात्रै नभएर भारतको कुमाउ गढवाल क्षेत्रसम्म मनाइन्छ। यसै पर्वका कारण भारतसँग रोटीबेटीको सम्बन्ध गाँसिएको कतिपयको ठहर छ। बैतडीको दशरथचन्द नगरपालिका त्रिपुरा गणेशसिंह थापा भन्छन्, 'सीमावर्ति भारतीय क्षेत्रमा हाम्रो बिहेबारी चल्नु भनेको सांस्कृति सामिप्यता नै हो। यिनै विविध संस्कृतिका कारण भारतसँग हाम्रो रोटीबेटीको सम्बन्ध रहेको छ।'

मौलिकता हराउने चिन्ता 
सुदूरपश्चिममा मनाइने विभिन्न चाडपर्व मध्ये गौरा एक सांस्कृति पर्व हो। यसलाई सद्भावको पर्वभन्दा अत्युक्ति नहोला। यो पर्वमा गाउँभरीका मानिस एकै ठाउँमा जमा भएर देवीदेवताको पूजाआजा मात्रै गर्दैनन् सबैसँग भलाकुसारी गर्न पनि भ्याउँछन्। संस्कृतिका जानकार आचार्य घनश्याम लेखक भन्छन्, 'मानसखण्ड पर्वतमा मनाइने गौराको विषयमा वेदमा उल्लेख गरिएको छ। कैलाश पर्वत,मानसखण्ड पर्वतसँग जोडिएको सांस्कृतिक पर्व हो गौरा।'

गौराका समयमा नयाँ लुगा लगाउने, मिठोमसिनो खाने चलन पहिलादेखिको हो। रोजगारीका लागि परदेश गएका समेत यो पर्वका लागि घर आउने गर्दछन्। तर पछिल्लो समयमा गौरापर्वको मुख्य आकर्षणका रुपमा फाग,ठाडोखेल,ढुस्को,धमारीहरु लोप हुने अवस्थामा पुगेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.