जहाँ सडक नै छैन, त्यहींका जनप्रतिनिधिलार्इ गाडी
जाजरकोट : जाजरकोटको छेडागाड नगरपालिकाले ८० लाखको एउटा स्कारपियो र ६ वटा मोटरसाइकल किनेको छ। तर छेडागाडका कुनै पनि वडामा मोटरबाटोको सुविधा छैन। कच्ची सडक सञ्जालसँग नजोडिएको बारेकोट गाँउपालिकाले पनि दुईवटा मोटरसाइकल किनेको छ। कुशे गाँउपालिकाले दुई वटा बाइक खरिद गरेको गाँउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए। उनले गाउँपालिकालाई सामान्य प्रशासन मन्त्रालयले स्कारपियो दिन सहमति जनाइसकेकाले खरिद गर्नुपर्ने अवस्था नरहेको बताए।
भेरी नगरपालिकासँग जनप्रतिनिधि आउनुअघि नै खरिद गरिएको एक स्कारपियो गाडी छ। भेरीमा ३ वटा वडाध्यक्षसँग मोटरसाइकल छ। नगरले एउटा मेयर, उपमेयरको एक स्कुटी र अरु चारवटा कर्मचारीसँग रहेका गरी ९ मोटरसाइकल खरिद गरेको छ। त्यस्तै नलगाड नगरपालिकाले पनि सात वटा मोटरसाइकल किनेको छ। १३ वटा वडा रहेको नगरपालिकाका अधिकांश वडामा मोटरबाटो पुगेको छैन।
त्यस्तै शिवालय गाँउपालिकाले एउटा स्कारपियो जिप र १४ वटा बाइक किनेको लेखापाल दीपबहादुर बुढाले बताए। ९ ओटा वडा रहेको गाँउपालिकाका वडा नम्बर ६ र ७ मा अझै मोटरबाटो पुगेको छैन। अरु वडामा पनि कच्ची सडक हिउँदमा मात्र चल्छ तर गाँउपालिकाले ५५ लाख रूपैयाँमा गाडी र ३२ लाखमा १४ वटा मोटरसाइकल गरी करिब ८७ लाख रूपैयाँ खर्चेको छ।
स्कारपियो कारमा गाउँपालिका अध्यक्ष नरेन्द्र शाही चढ्छन्। उनले एउटा मोटरसाइकल पनि आफूसँगै राखेका छन्। ९ वटै वडाध्यक्षले एक-एक वटा मोटरसाइकल बुझेर लगेका छन्। बाँकी मोटरसाइकल कार्यकारी अधिकृत, लेखापाल र प्राविधिकले चलाउँछन्। उनीहरू सबैले गाँउमा भन्दा सदरमुकाम, सुर्खेत, नेपालगञ्ज आउँदा-जाँदा प्रयोग गर्ने गरेका छन्।
जुनीचाँदे-५ का वडाध्यक्षबाहेक अरु जनप्रतिनिधिलाई मोटरसाइकल चलाउन आउँदैन तर उनीहरू चालक राखेर मोटरसाइकल चढ्छन्।
गाउँपालिका अध्यक्ष शाहीले जनताको काम छिटोछरितो गर्न सहज होस् भनेर गाँउपरिषद् निर्णयअनुसार गाडी खरिद गरिएको बताए। ‘हामीले विलासिताका लागि गाडी र मोटरसाइकल खरिद गरेका होइनौं’, शाहीले भने, ‘समयको माग र आवश्यकताअनुसार किनेका हौं। यसमा कुनै दुरूपयोग भएको छैन र हुँदैन पनि।’
यसैगरी, जाजरकोटकै जुनीचाँदे गाउँपालिकाले गत वर्ष नै करिब ३५ लाख खर्चेर १६ ओटा मोटरसाइकल खरिद गर्यो। गाउँपालिका प्रमुख, उपप्रमुख, १० वटा वडाध्यक्षलाई एक-एक वटा मोटरसाइकल भागबण्डा गरिएको छ। बाँकी मोटरसाइकल कर्मचारीको जिम्मामा छन्। वडा नम्बर ५ का वडाध्यक्ष राजबहादुर शाहीबाहेक कुनै पनि जनप्रतिनिधिलाई मोटरसाइकल चलाउन आउँदैन। उनीहरू सहयोगी चालक राखेर मोटरसाइकलमा चढ्ने गरेका छन्। उनीहरू सबैले ती मोटरसाइकल जिल्ला सदरमुकाम खलंगा, सुर्खेत र नेपालगञ्जमा चलाउँछन्।
जनताकै काम छिटोछरितो गर्न मोटरसाइकल किनिएको गाँउपालिका अध्यक्ष कृष्णबहादुर केसीले बताए। गाँउपालिकाका सबै वडामा सडक नपुगे पनि बाटो पुगेका वडा र सदरमुकाम आउन-जान तथा कामकाजमा मोटरसाइकलले सहज भएको उनको भनाइ छ।
गाँउपालिका-११ का वडाध्यक्ष शिशिर घर्तीले गाँउपालिकाले उनलाई दिएको मोटरसाइकल फिर्ता गरिदिएका छन्। चलाउन पनि नजान्ने र आफ्नो वडामा मोटरबाटो पनि नपुगेको भन्दै उनले मोटरसाइकल फिर्ता गरेका हुन्। जुनीचाँदेका २, ३, ४, ५ र ९ नम्बर वडामा मात्र सडकको ट्रयाक खुलेको छ तर गाँउपालिकाले जनप्रतिनिधिका लागि १६ ओटा मोटरसाइकल खरिद गरेको छ।
‘गाँउमा बाटो छैन, अहिले नै मोटरसाइकल चाहिँदैन, नकिनौं भन्दा साथीहरू मानेनन्’, घर्तीले भने, ‘अरु वडाध्यक्ष, गाउँपालिका अध्यक्ष र उपाध्यक्षले त लिइसके तर मैलै लिइनँ, फिर्ता गरिदिएँ। जनताको जीवनस्तर निकै नाजुक छ। धेरै वडामा बाटो पुगेको छैन। बिजुली बत्तीको समस्या छ। टेलिफोन सुनिँदैन। विद्यालयमा दरबन्दी छैन। हामी मात्रै सुविधाभोगी भएर कसरी हुन्छ ? ’
सात स्थानीय तहमध्ये सदरमुकाम रहेको भेरी र नलगाडले आफ्नै केन्द्रबाट सेवाप्रवाह गरिरहेका छन् भने छेडागाड, शिवालय, जुनीचाँदे, कुशे र बारेकोटले सम्पर्क कार्यालयको नाममा सदरमुकामबाटै सेवा दिन्छन्।
जनप्रतिनिधिले गाँउमा सडक नपुग्दै गाडी किनेको तर जनतालाई अनावश्यक कर थोपरेको भन्दै भेरी-३ का कृष्णविक्रम शाहले उनीहरूको आलोचना गरे। शाहले भने, ‘जनप्रतिनिधि आफ्नै सेवासुविधा र विलासितामा केन्द्रित भए।’