महिला भलिबल लिगको ट्रफी सार्वजनिक
काठमाडौं : नेपाल भलिबल संघ र नयाँ दिल्लीस्थित आधीअवाधी फाउन्डेसनको संयुक्त आयोजनामा असोजमा आयोजना हुने ‘आधीअवाधी महिला भलिबल लिग’ को ट्रफी सोमबार सार्वजनिक गरिएको छ। असोज १३ गतेदेखि १७ गतेसम्म हुने लिगमा तीन विभागीय क्लब पुलिस, एपीएफ र आर्मीका साथै चितवन टाइगर्स, पोखरा पिन्केज र न्यु डायमन्ड क्लबले प्रतिस्पर्धा गर्नेछन्। यसअघि काठमाडौं क्विन्स रहने बताए पनि त्यसको स्थानमा न्यु डायमन्डलाई मौका दिइएको नेपाल भलिबल संघले जनाएको छ।
प्रतियोगितामा सहभागी ६ टोलीमध्ये चार जना टोलीका गुडविल एम्बेसडर, संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा र आधीअवाधी फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेशकुमार सिंहले संयुक्त रूपमा ट्रफी सार्वजनिक गरेका थिए। लिगमा ६ वटै टोलीको गुडविल एम्बेसडर भारतीय कलाकार रहेका छन्।
प्रतियोगितालाई थप रोचक बनाउन हरेक टोलीमा गुडविल एम्बेसडर राखिएको संघका महासचिव जितेन्द्रबहादुर चन्दले बताए। ट्रफी सार्वजनिक कार्यक्रममा चार टोलीका एम्बेसडरहरूपूजा गौर (चितवन टाइगर्स), सोनिया शर्मा (आर्मी), ऋषिका सिंह (एपीएफ) र ऋतु दुधानी (न्यु डायमन्ड) मात्र उपस्थित थिए। लभिना टन्डन (पुलिस) र प्राची तेहलन (पोखरा) हाल फिल्म छायांकनका लागि भारत बाहिर रहेको आयोजकले जनाएको छ।
लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएका छ। सहभागी टोलीले तीनतीन जना विदेशी खेलाडी समावेश गर्न पाउनेछन्। नेपाली खेलाडीलाई सिक्ने अवसर प्रदान गर्न र लिगको आकर्षण बढाउन विदेशी खेलाडी राख्न लागिएको हो। राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने पाँचदिने प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।