छिमेकमा गौरा पर्वको रौनक, निर्मलाको घरमा सन्नाटा
महेन्द्रनगर : प्रदेश ७ मा गौरा पर्वको रौनक छ । मानिस नयाँ कपडामा सजिएका छन् । गौरा पर्वको माहोलले महेन्द्रनगर बजार उल्लासमय बनेको छ भने ठाउँ–ठाउँमा देउडा खेल भइरहेका छन् । मानिस पूजाआजामा व्यस्त छन् । आमाहरू गौरा हेर्न बालबालिकाको हात समातेर त्यही सडक हुँदै ओहोरदोहोर गरिरहेका छन् । टोलाएर बरान्डामा बसेकी निर्मलाकी आमा त्यो दृश्य हेरिरहेकी छन् ।
सुदूरपश्चिमभरि उल्लास भयो तर कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामस्थित निर्मलाको घर भने सुनसान छ । उनको घरवरिपरि छिमेकी गौरा पर्वको रमाइलोमा व्यस्त छन् । यी दृश्यले निर्मलाको घरलाई कुनै असर गरेको छैन । उनका आमाबुवा र बहिनीहरूलाई गौरा पर्व आएको छ भन्ने त थाहा छ तर निर्मलाको शोकले उनीहरू अहिले पनि दुखित छन् ।
बलात्कारपछि हत्या गरिएकी छोरी निर्मलाको यादमा उनका दिन बितिरहेका छन् । सोमबार दिउँसो समेत घरमा पुग्दा उनी टोलाएर सडकतिर हेरिरहेकी थिइन् । उनीसँग बोल्ने कुनै शब्द छैन । घटना भएको ४० दिन बितिसक्दासमेत छोरीका हत्यारा पत्ता लाग्न सकेका छैनन् । त्यसले उनलाई झन् पीडा दिएको छ ।
चाडपर्वमा अरूका छोरीचेली सडक छेउमै रहेको उनको घर अगाडिबाट गौरा हेर्न गइरहेका छन् । ‘त्यतिबेला मेरो मन थाम्न सकिरहेको छैन’, बरान्डामा बसेर सडक चियाइरहेकी दुर्गादेवीले भनिन् ।
गौरामा हरेक परिवारका सदस्यका लागि नयाँ लुगा किन्ने गरिन्छ । गत वर्ष निर्मलाका लागि पनि आमाले नै नयाँ लुगा किनिदिएकी थिइन् । सबैतिर नयाँ–नयाँ कपडा लगाएर मानिस हिँडडुल गरिरहेको देख्दा उनको मुटु भक्कानिएर आउँछ । ‘छोरीको घटनाले मलाई निकै पीडा दिएको छ, म आफूलाई सम्हाल्नसमेत सकिरहेकी छैन’, भावविह्वल हुँदै उनले भनिन्, ‘चाडपर्वले झन् पीडा थपिन्छ, जतिबेला पनि उसकै याद आउँछ ।’ अपराधी पत्ता नलाग्दा छोरीले न्याय नै पाउँदिन कि भन्ने डर लागेको उनले बताइन् ।