एसिया कपमा छानिन सकेन नेपाल, सन्दीप चम्किए, ब्याटिङले डुबायो
काठमाडौं : मलेसियामा जारी एसिया कप छनोट खेलमा नेपाल हङकङसँग ३ विकेटले पराजित भएको छ । पराजित भएसँगै नेपालको एसिया कपमा छनोट हुने सम्भावना सकिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७.५ ओभरमा सबै विकेट गुमाइ ९५ रन मात्रै बनाएको थियो । ९६ रनको लक्ष्य हङकङले ३२.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।
ब्याटिङमा निकै खराब प्रदर्शन गरेको नेपालले बलिङमा उत्कृष्ट प्रदर्शन गर्यो । नेपालका बलरले हङकङलाई लक्ष्य भेटाउन निकै चुनौती दिए। निकै झिनो लक्ष्य भएका कारण नेपाल जितबाट बञ्चित बन्यो । नेपाली बलरले सुरुमा ३ विकेट, पछिल्लो समय लगातार ४ विकेट लिएर केही आशा जगाएको भए पनि निकै झिनो लक्ष्य भएकाले त्यसले हङकङको जितका लागि कुनै असर गरेन । नेपालका लागि सन्दीप लामिछानेले मात्रै हङकङको ५ विकेट लिए । १० ओभरमा दुई मेडनसहति २७ दिएर मात्रै दिए। सागर पुनले १ र वसन्त रेग्मीले १ विकेट लिए ।
हङकङको जितका लागि अंशुमान राथले सर्वाधिक ५२ रन बनाए ।
यस पटक पनि नेपाली क्रिकेटको अघि बढ्ने यात्रामा ब्याटिङले धोका दिएको छ । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको नेपालको सुरुवात विर्सनलायक रह्यो । पहिलो ओभरको दोस्रो बलमा नै सुवास खकुरेलको रुपमा पहिलो विकेट गुमाउपछि धर्मराएको नेपालको ब्याटिङ लाइन चल्न सकेन ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक १८ रन जोडे । अनील कुमार शाहले १५, पारस खड्काले १४, ज्ञानेन्द्र मल्लले ११ र वसन्त रेग्मीले नटआउट १५ रन जोडे ।
अघिल्ला खेलमा राम्रो प्रदर्शन गरेका दीपेन्द्र एरी २ रनमै पेभिलियन फर्किए । आठौं विेकटका लागि आरिफ शेख र वसन्त रेग्मीले गरेको ३४ रनको साझेदारी नै सबैभन्दा ठूलो साझेदारी रह्यो । हङकङका लागि इसान खान एक्लैले नेपालको ४ विकेट लिए ।
पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ७८ रनले यूएईसँग पराजित भएको थियो । त्यपछिका दुई खेलमा मलेसियामाथि १९ रन र सिंगापुरमाथि ४ विकेटको जित निकाली नेपालले फाइनलमा स्थान बनाउँदै एसिया कपमा छनोट हुने सम्भावना कायम राखेको थियो । हङहङसँग पराजित भर्इ महत्वपूर्ण उपलब्धी हासिल गर्नबाट चुक्यो ।।
नोपलमाथि जित हात पारेको हङकङले फाइनलका लागि स्थान सुरक्षित गरेको छ । हङकङले एसिया कप छनोटका लागि ओमान र यूएईबीचको बिजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।