साफ सुजुकी कप : अन्तिम मिनेटमा नेपालको दुर्भाग्य
काठमाडौँः बंगलादेशमा मंगलबारदेखि सुरु भएको साफ सुजुकी कप फुटबल प्रतियोगिता अन्तर्गतको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २–१ ले पराजित भएको छ।
पहिलो हाफको ३६ औँ मिनेटमा पेनाल्टीबाट गोल खाएको नेपालले दोस्रो हाफको ८२ औँ मिनेटमा गोल गर्दै खेलमा फर्किएको थियो । तर खेलको अन्तिम मिनेटमा गोल गर्दै पाकिस्तानले नेपालबाट नतिजा खोस्न सफल भयो ।
पहिलो हाफमा गोल खाएपछि दबाबमा परेको नेपाललाई विमल घर्ती मगरलेर राहत दिएका थिए । बंगलादेशको ढाकामा सुरु भएको साफ सुजुकी कपको उद्घाटन खेलको ८२ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
पहिलो हाफमा नेपाल १–० ले पछि परेको थियो । पाकिस्तानविरुद्धको खेलमा बल पोजेसन राम्रो बनाए पनि आफ्नै गल्तीमा नेपालले गोल खाएको थियो ।
३६ औं मिनेटमा हसन नविद बसिरको पेनाल्टी गोलमा नेपाल पछि परेको थियो । विराज महर्जनले महम्मद रिजाजलाई पेनाल्टी बक्समा फाउल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको थियो । विराजले पहेँलो कार्ड पनि पाएका थिए ।
नेपालले पहिलो हाफमा केही अवसर पाएको थियो । १३ औं मिनेटमा विमल घर्तीमगरको क्रसमा नवयुग श्रेष्ठको हेड पोस्टको धेरै परबाट बाहिरियो । २५ औं मिनेटमा विराजको क्रस सोझै किपरको हातमा पुग्यो । त्यसैगरी ३० औं मिनेटमा नवयुगको फिलतो प्रहार क्रसबारको निक्कै माथिबाट बाहिरियो ।
फिफाको चार वर्ष लामो प्रतिबन्धपछि पाकिस्तानको सिनियर टोलीले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै जित निकालेको हो । नेपाल र पाकिस्तानबीच पाँच वर्षमा पहिलो पटक भेट हुँदा नेपाल निराश भयो ।
सन् २०१३ मा साफ च्याम्पियनसिपमा एकै समूहका दुई टोलीबीच समूह चरणको खेल १–१ को बराबरीमा सकिएको थियो । त्यस खेलमा विमल घर्ती मगरले बराबरी गोल गरेका थिए । राष्ट्रिय टोलीका लागि विमलको त्यो पहिलो गोल पनि थियो ।