पत्रकार पक्राउ परेकोप्रति महासंघको आपत्ति : पत्रकार कुँवर र आचार्य रिहा
काठमाडौं : समाचार लेखेकै आधारमा पत्रकार पक्राउ परेकोप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।
न्यूज कारोबार डटकमका समाचार सम्पादक नवराज कुँवर र पत्रकार रोयल आचार्यलाई समाचार लेखेको विषयमा प्रहरीले पक्राउ गरेको घटनाप्रति महासंघले आपत्ति जनाएको हो।
‘उदयपुरका पत्रकार कुँवरले पछिल्लो समय उदयपुरको बेलका नगरपालिकामा भएको अनियमितता र केही गलत कार्यलाई अनलाइन र सामाजिक सञ्जालमार्फत् उठाउँदै आएका थिए। सोही विषयलाई लिएर पत्रकार कुँवरलाई आज प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेको हो’, मंगलबार महासंघका महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘समाचार लेखेको वा सामाजिक सञ्जालमा उठान गरेका विषयप्रति आपत्ति रहे त्यसको कानुनी उपचारका अन्य मार्ग हुँदाहुँदै प्रहरीले कार्यकक्षबाटै पत्रकारलाई पक्राउ गरेको यो घटना संविधानविपरीत हुनुका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो।
विज्ञप्तिमा महासंघले प्रहरीको ज्यादतीविरुद्ध कडा शब्दमा भत्र्सना गरेको छ। सँगै महासंघले यो विषयमा सरकारको ध्यानाकर्षण गराएको छ।
‘महासंघ प्रहरीद्वारा प्रेसमाथि गरिएको यो ज्यादतीको कडा भत्र्सना गर्दछ र प्रेसलाई निर्वाधरूपमा प्रेस स्वतन्त्रताको वातावरण बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ’, विज्ञप्तिमा भनिएको छ।
पत्रकार महासंघ र प्रेस काउन्सिलको पहलमा दिउँसो पक्राउ परेका पत्रकार कुँवर र आचार्य साँझ रिहा भएका छन्।