लेवनान शान्तिका लागि ज्यान गुमाएका सेनाका परिवारलाई नागरिक सरह सुविधा
काठमाडौं : लेवनान सरकारले त्यहाँको शान्तिका लागि लड्दा वीरगति प्राप्त गरेका नेपाली सेनाका जवान तथा अधिकृतका परिवारलाई लेवनान नागरिक सरहको सुविधा उपलब्ध गराउने निर्णय गरेको छ।
चाहेमा लेवनान नागरिकता नै दिने निर्णय त्यहाँको सरकारले गरेको छ। लेवनानको औपचारिक भ्रमणमा रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आफ्ना लेवनानी समकक्षी याकुव रियाद सर्राफसँग गरेको दुईपक्षीय भेटवार्तामा लेवनान रक्षामन्त्रीले त्यस्तो बताएका हुन्।
लेवनान शान्तिको ६० वर्षको अन्तरालमा २९ नेपाली शान्ति सेनाले ज्यान गुमाएका छन्। लेवनानका रक्षामन्त्री सर्राफले सन् १९५८ देखि यहाँको शान्ति सुरक्षामा राष्ट्रसंघ मातहतमा रहेर योगदान गरेका नेपाली सेनाको प्रशंसा गरेका छन्।
शान्ति बहालीका क्रममा वीरगति प्राप्त जवान तथा अधिकृतका परिवारलाई लेवनानी नागरिक सरह सम्मान दिने बताएको पोखरेलको सचिवालयले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ।
नागरिक सरहको सेवा सुविधासहितको सम्मानका लागि लेवनानी सरकारले प्रक्रिया अगाडि बढाइसकेको जानकारी मन्त्री सर्राफले उपप्रधानमन्त्री पोखरेललाई दिएका छन्।
भेटवार्तामा नेपाल र लेवनानबीच रहँदै आएको पुरानो सम्बन्ध र लेवनानको शान्ति प्रक्रियामामा नेपाली सेनाले पुर्याएको योगदानलगायत आपसी हितका विषयमा छलफल भएको थियो।
लेवनान शान्तिका लागि हालसम्म पाँच हजार बढी नेपाली सेनाले विभिन्न स्थानमा पुगेर जनतासँग भिज्दै गरेको काम कुनै असली राजदूतको भन्दा कम नभएको मन्त्री सर्राफको भनाइ छ।
‘लेवनानमा शान्ति बहालीका लागि अन्य मुलुकका सेनाले काम गरेपनि नेपाली सेनाप्रति लेवनानीको छुट्टै सम्मान रहेको महसुस हामीले गरेका छौं’, मन्त्री सर्राफले भने, ‘यसबाट दुई पक्षीय जनस्तरको सम्बन्ध विस्तारमा ठूलो भूमिका निर्वाह भएको छ।’
भेटका क्रममा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले लेवनानको शान्तिका लागि नेपाल सद्धैव तत्पर रहेको बताएका छन्। शान्त र स्थिर लेवनानको पक्षमा लामो समयदेखि नेपालले आफ्नो धारणा राख्दै आएको र त्यसमै अडिग रहेको पोखेलको भनाइ छ। निर्वाचनबाट नै शान्ति र राजनीतिक स्थायित्व रहने बताउँदै भने, ‘यो नेपालको अनुभव हो, नेपाल पनि १२ वर्षसम्म द्वन्द्वको अवस्थामा थियो, अहिले शान्तिको दिशामा छ।’
लेवनानका रक्षामन्त्री सर्राफलाई नेपाल भ्रमणका निम्तो दिँदै उपप्रधानमन्त्री पोखरेलले लेवनानी आर्म फोर्सका अधिकारीलाई नेपालमा कमाण्ड तालिम, प्यारा वेसिक तालिमलगायतका नेपाली सेनाले उपलब्ध गराउने विशिष्ट सैनिक तालिममा सरिक गराउन प्रस्ताव गरेका छन्।
लेवनानमा दुई पक्षीय कूटनीतिक सम्बन्ध स्थापना हुनुअघिदेखि नै सेनाका टोली शान्ति स्थापनाका लागि खटेका थिए। नेपाल र लेवनानबीच सन् १९६३ मा कूटनीतिक सम्बन्ध विस्तार भएको थियो।