तीज : हिजो र आज

तीज : हिजो र आज

आफ्नै आमा सम्झेर मैले माया गरेको

मैले बुझिनँ सासूको घुसघुसे ताल।

मानिसले आफ्नो मौलिक स्वभाव बिर्सेर आयातीत अनुकरणमा सुख खोज्नु सामान्य हुन थालेको छ। समय, ऋतु र मौसमको परिवर्तनसँगै आउने पर्वहरूमा आफ्नै मौलिकता र संस्कृति छिपेको हुन्थ्यो। तिनै पर्वमध्येको तीज पारिवारिक मौलिकता बोकेको, मस्तीले भरिएको, संगीतले गुन्जिएको र उत्सवले झाँगिएको हुन्थ्यो। आमा–हजुरआमा भन्नुहुन्छ– हाम्रो पालामा त यस्तो हुन्थ्यो बाबै, अहिले त तीज फेरिएछ। उहाँहरुको त्यो जमाना धेरै वर्ष पुरानो होइन, २०–३० वर्षअघिको न हो।

हजुरआमाले जमाना फेरिएछ भन्नुको तात्पर्य हाम्रा चाडपर्व मनाउने प्रचलनमा गुणात्मकता हराउँदै गएको भन्ने भाव सहजै अनुभव गर्न सकिन्छ। पर्व र संस्कृतिको जुन मान्यता र मिठास थियो, त्यसको गुणात्मकता कसरी नाप्ने ? जनैपूर्णिमा सुरु नहुँदै तीजका कार्यक्रम र तीन दिन मनाइने तीज आजभोलि महिनौं लगाएर मनाइनुले खै के खै के झैं लाग्छ। तीजेभाका र शब्दको मौलिकता हराएको छ। तीजे गीत आफ्ना स्वतस्फूर्त रचना जसमा आफ्ना जीवनका भोगाइ, समाजका कुरीति र अन्याय, देवीदेवताका प्रार्थना, बाआमा र छोराछोरीबीचको विवाह, प्रेम भएर नयाँ घर गएकी छोरीले तीजमा माइत आउँदा पोख्ने भावना समेटिएका हुन्थे। दिदीबहिनी भेला भएर मौखिक रचना गरिएका हुन्थे। आज आवाज उठ्ने महिला सशक्तीकरण र स्वतन्त्रता अनि महिलाले लिनुपर्ने घरका जिम्मेवारी र त्यसमा पनि बुहारीले सहनुपर्ने व्यावहारिक कठिनाइलाई तीज पर्वले खुलस्त भएर उजागर गर्ने अवसर दिएको हुन्थ्यो। महिलाको प्रतिभा र आत्मविश्वास गीतकै माध्यमबाट छताछुल्ल भएर पोखिँदा एक किसिमको सुन्दरता थपिएको हुन्थ्यो।

आज महिला अधिकारका कुरा गर्न तीज कुर्नुपर्दैन। कुनै गीत गाएर आफ्ना पिरमर्का र प्रेमलाई पोख्नु पर्दैन। सबै छोरीलाई घरमा दुःख नहोला। मन लागेको बेलामा बुहारीलाई माइत जान रोक छैन। तर जुन संस्कार हो, त्यसमा मौलिकता पनि छैन।

अस्तव्यस्त जीवन र भड्किलो संस्कार अनि बिग्रँदो स्वास्थ्य र तनावग्रस्त जीवनलाई आनन्दित बनाउन ध्यान र मौनको जरुरत छ।

पर्वको विशेषता झल्किने संस्कार, व्यवहार, फेसन र खानपान नहुँदा धेरै परिवर्तन महसुस हुनु स्वाभाविक हो। तीजे भाका र यसको मर्म फेरिएर तीजे गीतको नाममा रत्यौली, दोहोरी र छाडापनले भरिएको महसुस हुनु स्वाभाविकै हो। पुराना तीजका गीत चेतनामूलक, सन्देशमूलक र घटनाप्रधान हुने गर्दथे। तर आजभोलि तीज भड्किलो हुँदै गएको, परम्परा र संस्कार धान्ने नाममा विकृति र विसंगति भित्रिँदै गरेको महसुस हुन्छ आमाहरूको पुस्तालाई।

बिल्कुल पारिवारिक र महिलाको पर्व मानिने तीजमा पुरुषहरूले तीजे गीत गाउने र नाच्ने गर्दा पारिवारिक शिष्टता र सभ्यताको मूल्य नरहेको अनुभूति हुन्छ। तीजको मौलिकता भनेकै माइती र चेलीको भावनात्मक सम्बन्ध, परिवार भेट भएर मनाउने तीज भएकाले परिवारसँग बसेर गाउन र नाच्न सुहाउने खालका गीतले मात्र तीजको वास्तविक अस्तित्व कायम राख्छ। आजका तीजे गीतले सरासर मौलिकतालाई नै चुनौती दिएका छन्। त्यसैले यसको भविष्य के हुने हो ?

मौसमअनुसारको फलफूल, तरकारी र खाद्यान्न प्रयोग गरिनु तीजको दर खाने अर्को विशेषता थियो। वर्षायामको पर्व, खेतीपातीको काम सकेर छोरीचेली माइतमा गई फुर्सदले मनाउने यो पर्वको वैज्ञानिक महत्व पनि छिपेको छैन। हरिया सागपातको प्रयोग, दर खाएपछि व्रत–उपवास बस्ने प्रचलन धार्मिकभन्दा पनि स्वास्थ्य दृष्टिले आवश्यक र महत्वपूर्ण छ। धेरै चिल्लो, पिरो, गुलियो र गरिष्ठ भोजन ग्रहण गरेपछि एक दिन मात्र भए पनि उपवास बस्नु, पानी प्रशस्त पिउनु र पेट सफा हुन दिनु आफैंमा वैज्ञानिक छ। धर्म त्यो हो, जसले शरीर स्वस्थ राख्छ, मन सफा राख्छ र विवेकले चेतनाको उच्चस्तरबाट काम गर्दछ। शरीरलाई स्वस्थ राख्नु शरीरको धर्म हो भने मन, वचन र कर्मलाई सकारात्मक र सत्यको मार्गमा प्रयोग गर्नु वास्तविक धर्म हो। देवी पार्वतीले व्रत बसेर शिवजी प्राप्त गरेको कथालाई सच्याएर भगवान् शिवले देवीपार्वतीलाई सिकाउनुभएको ध्यानको कला अनुशरण गर्नु आजका चेलीहरूलाई अति जरुरी भइसकेको छ।

अस्तव्यस्त जीवन र भड्किलो संस्कार अनि बिग्रँदो स्वास्थ्य र तनावग्रस्त जीवनलाई आनन्दित बनाउन ध्यान र मौनको जरुरत छ। तीजको पहिचान कसरी कायम राख्ने चिन्ताभन्दा पनि आफ्नो पहिचान के हो चिन्न सके वास्तविक धर्म त्यही हुनेछ। आज पर्व, संस्कृति, पहिरन, खानपान र शिष्टता असहज लाग्नुको मुख्य कारण पनि आफ्नो स्वभाव बिर्सेर देखासिकी र प्रतिस्पर्धालाई अनुकरण गर्नु हो। बहिर्मुखी जीवनशैलीले आन्तरिक स्वभावलाई दमित गराउँदै लगेको छ। आफ्नो स्वभावको, जीवन जिउनुको, जीवनमा खुसी र आनन्दको अनुभूति गर्ने कला पहिचान गर्न सकेको क्षण नै वास्तविक संस्कार, सभ्यता र शिष्टताको पहिचान हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.