भाडाको घरमा गाउँपालिका
रोल्पा : रोल्पाको सात गाउँपालिका जनप्रतिनिधि आएको एक वर्ष हुँदा समेत भाडाको घरमा छन् । दश वटा स्थानीय तहमध्ये सातवटा गाउँपालिकाका कार्यालय भाडाका साँघुरा कोठाबाट सेवा दिन वाध्य छन् । भाडाको घरमा कार्यालय व्यवस्थापन गर्न जनप्रतिनिधि र कर्मचारीलाई सास्ती मात्र भएको छैन्, सेवा दिन समेत गाह्रो भइरहेको छ ।
गाउँपालिकाले कार्यालय सञ्चालन गर्न भाडाको घरका लागि मासिक लाखौं रकम खर्च भइरहेको छ । गाउँपालिका रहेका स्थान आसपासमा भाडामा लिन सकिने उपयुक्त भवन र घर नहुँदा जनप्रतिनिधि र कर्मचारी वस्ने कोठा र आवास व्यवस्थापनमा समेत असजिलो भएको छ ।
माडी गाउँपालिकाले घर्तीगाउँका सन्तबीर घर्तीको दुईतले पक्की भवन भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेको छ । भाडा वापत मासिक २० हजार वुझाउने सम्झौता गाउँपालिकाले गरेको छ । गाउँपालिकाको सभा हल, अध्यक्ष र उपाध्यक्षको कोठा र कर्मचारीको कोठा व्यवस्थापन गर्न घरको कोठा अपुग छन् ।
भाडामा लिएको भवनको आसपासमा अरु घर नभएकाले कोचाकोचमै कार्यालय सञ्चालन गर्नु परेको गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनमगर वताउँछन् । ‘कोठाको अभाव भएपछि भवनको छत पार्टेशन गरिएको छ । भवनको छेउमा टिनले बारेर हल वनाई काम चलाएका छौं’, अध्यक्ष पुनमगर भन्छन् । हल र छत पार्टेशन गरेपछि मासिक करिव ३० हजार भाडा थपिएको छ । पालिका नजिक अन्य भवन नभएपछि अध्यक्ष वजारमा भाडाको आवासमा वस्छन् । कर्मचारीलाई समेत कोठा पाउन गाह्रो हुने गरेको छ ।
परिवर्तन गाउँपालिकाले पनि पुत्लाचौरमा स्थानीय तीनजनाको घर भाडामा लिएर गाउँपालिका चलाएको छ । अध्यक्ष निमकान्त डाँगीका अनुसार विरेन्द्र घर्ती, वेदप्रसाद घर्ती र झक्कुप्रसाद घर्तीको घर भाडामा लिएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा एक वर्षको भाडा वापत ३ लाख ५० हजार खर्च भयो । चालु आर्थिक वर्षमा घरधनीले मासिक ९० हजारको हाराहारीमा भाडा माग गरेका छन् ।
थबाङ गाउँपालिका राजमण दमाईको घर भाडामा लिएर चलेको छ । पालिकाका कर्मचारी अधिकार वुढामगरका अनुसार भवन साँघुरो छ । अध्यक्षलगायत जनप्रतिनिधि र कर्मचारीको कोठा अपुग छन् । विषयगत शाखा र स्टोरका लागि अन्यत्र कोठा भाडामा लिइएको छ । गाउँपालिकाले मासिक २० हजार भाडा तिर्दै आएको छ । सुनछहरी गाउँपालिका पनि पोबाङमा भाडाकै घरमा रहेको अध्यक्ष आशबहादुर पुनले बताए । ‘गाउँपालिकाको केन्द्र तोकिएको ठाउँमा भवन भाडामा पाउन कठिन छ’, अध्यक्ष पुन भन्छन्, ‘भाडाको भवन पनि अपुग छ । वरीपरी भाडामा ल्याउने जस्तो घर नभएर त्यसैबाट काम चलाईरहेका छौं ।’ गाउँपालिकाले भाडामा मासिक ४० हजार तिर्दै आएको छ ।
रोल्पाकै लुंग्री, सुनिल स्मृति र गंगादेव गाउँपालिका पनि भाडाकै घरमा छन् । लुंग्री गाउँपालिका संचालन गर्न चारजनाको घर भाडामा लिएको अध्यक्ष दुर्गाबहादुर खड्काले वताए । त्यहाँपनि मासिक ३० हजारजति भाडा तिर्नुपर्छ । सुनिल स्मृति गाउँपालिकाले मासिक ५० हजार भाडा तिर्दै आएको छ ।
रोल्पाको माडी गाउँपालिकाको भाडाको घरमा राखिएको कार्यालय ।
सदरमुकाम लिबाङ आसपासलाई समेटिएर वनेको रोल्पा नगरपालिकालाई भने भाडाको समस्या छैन् । सदरमुकामका सरकारी भवन खाली हुँदै गएपछि कुन कार्यालयमा सर्ने हो, रोज्नुपर्ने अवस्था छ । पुरानो भवन वस्दै आएकोे नगरपालिका पशुसेवा कार्यालयको खाली भएको चिटिक्कको भवनमा सर्दैछ ।
रुन्टीगढी गाउँपालिका पनि होलेरीस्थित सेवा केन्द्रको भवनमा छ । युद्धताका ध्वस्त पारिदा बचेका सेवा केन्द्रको भवनमा कार्यालय संचालन भइरहेका छन् । यद्यपी, ति भवन जनप्रतिनिधि र कर्मचारीलाई पर्याप्त नभएको प्रमुख प्रशासकीय अधिकृत शर्मिला न्यौपाने वताइन् ।
त्रिवेणी गाउँपालिकाको मुकाम जुँगार नेर्पामा गाउँपालिकाले १० कोठे भवन वनाएर कार्यालय संचालन गरिरहेको अध्यक्ष शान्तकुमार वलीले वताए । जिल्लाका सात गाउँपालिका मात्र होईन ७२ वटा वडामध्ये करिव दुई दर्जनभन्दा बढी वडा भाडाका घरमा छन् । साविक गाविस वडा विभाजनमा परेर वनेका नयाँ वडा कार्यालय सबैजसो भाडामा छन् । साविकका ५१ गाविस सबैमा कार्यालय थिएनन् ।
गाउँपालिकाले आफ्नै भवन वनाउन मिल्ने प्रावधान नभएकाले जनप्रतिनिधि अन्यौलमा छन् । पालिकामा आउने वजेट खर्चिएर भवन वनाउन नमिल्ने भएकाले भाडाको घरमा वस्नु परेको अध्यक्षहरु वताउँछन् । भवन वनाउन प्रायः गाउँपालिकाले निःशूल्क जग्गाको प्रबन्ध मिलाउदे प्रयासमा छन् ।
रोल्पाको सुनछहरी गाउँपालिकाको पोबाङ स्थित भाडाको घरमा सञ्चालित कार्यालय ।