स्मार्ट भिलेज बन्दै घलेगाउँ

स्मार्ट भिलेज बन्दै घलेगाउँ

बेसीसहर : सार्क राष्ट्रमा नमुना गाउँको रुपमा चिनिएको घलेगाउँलाई स्मार्ट भिलेज बनाइने भएको छ। पर्यटकीय गन्तव्यको रुपमा चिनिएको घलेगाउँलाई नमुना बनाउन स्मार्ट भिलेजको अवधारणा अघि सारिएको हो। घलेगाउँ हाल क्व्होलासोंथर गाउँपालिका–३ मा पर्छ। नगरपालिकामा स्मार्ट सिटीको अवधारणा भित्रिएको बेला घलेगाउँबासीले आफ्नो गाउँलाई स्मार्ट भिलेज बनाउने योजना बनाएका हुन्। योजनाअनुसार अभियानको थालनी भइसकेको ग्रामीण पर्यटन व्यवस्थापन समिति घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले जानकारी दिए।

क्व्होलासोंथर गाउँपालिकाका अध्यक्ष समेत रहेका घलेले अभियानलाई आगामी तमु ल्होसारको दिन (पुस १५ गते) औपचारिक सुरुवातको घोषणा गरिने बताए। गाउँमा आइतबारदेखि अभियानको सुरुवात गरिएको छ। अभियान अन्तर्गत ६ वटा टोल सुधार समिति गठन गरिएको छ। हरेक घरले दैनिक घरआँगन र टोलको सफा गर्ने निर्णय गरिएको छ।

होमस्टेलाई व्यवस्थित बनाउन पूर्णबहादुर गुरुङको संयोजकत्वमा अनुगमन समिति बनाइएको छ। गाउँमा रहेका गुरुङ संस्कृतिलाई व्यवस्थित र उजागर गर्न नवराज घलेको संयोजकत्वमा सांस्कृतिक उपसमिति गठन गरिएको छ। विभिन्न उपसमितिका संयोजक, टोल सुधार समितिका संयोजक, आमा समूह, युवा समूहका अध्यक्ष पदेन सदस्य रहने गरी २१ सदस्य पर्यटन समिति गठन गरी स्मार्ट भिलेजको अभियानलाई नेतृत्व प्रदान गरिने अध्यक्ष घलेले बताए।

घलेका अनुसार स्मार्ट भिलेज बनाउने कार्यक्रम अन्तर्गत सबै घरका छानामा एउटै गाढा रातो रङ लगाइने भएको छ। बाटो वरपर फूल रोपिनेछ। सिँढी निर्माण तथा मर्मत गरिनेछ। घर पालुवा जनावरलाई व्यवस्थापन गरिनेछ। गाउँका गुरुङ संग्रहालय, चियाबारी, भेडीगोठलाई थप व्यवस्थित गरिनेछ। यी सबै काम पूरा हुन १ करोड रुपैयाँ लाग्ने घलेले बताए। यसका लागि संघीय सरकारको पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार, तारा गाउँ विकास समिति, स्थानीय तहसँग बजेट माग गरिएको उनले बताए।

समुद्र सतहदेखि २ हजार १ सय मिटर उचाइमा रहेको घलेगाउँमा २०५७ सालबाट पर्यटन प्रवद्र्धनका कार्यक्रमसहित होमस्टे सञ्चालनमा ल्याइएको हो। त्यसपछि स्थानीयले हरेक वर्ष महोत्सवको आयोजना गर्दै आएको छ। करिब १ सय २० घर रहेको गाउँमा अहिले ३२ घरमा होमस्टे सञ्चालनमा छ। घलेगाउँलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत तारा गाउँ विकास समितिले २०७४ सालको उत्कृष्ट सामुदायिक होमस्टे घोषणा गरी १ लाख १ हजार रुपैयाँ पुरस्कार प्रदान गरेको थियो।

हिमालै हिमालको काखमा रहेको ६ सय वर्ष पुरानो घलेगाउँमा हिमाली दृष्यावलोकन, सुधारिएको होमस्टेसँगै परम्परागत गुरुङ संस्कृति झल्कने घाँटु, सोरठी, सेर्गा, कृष्णचरित्रलगायतका नृत्य, नमुना चिया बगानको अवलोकन, गुरुङ खाना, सूर्योदय र सूर्यास्तको दृष्यावलोकन गर्न सकिन्छ। यस्तै सामूहिक भेडापालनको अवलोकन, बोटानिकल गार्डेन र भ्यु टावर घलेगाउँका आकर्षण हुन्।

घलेगाउँबाट लमजुङ हिमाल, मनासुलु, माछापुच्छ«े, अन्नपूर्ण, हिमालचुलीलगायत हिमाल नजिकबाट नियाल्न सकिन्छ भने मस्र्याङदी, खुदी, मादीलगायत नदीको मनोरम दृष्य देख्न सकिन्छ। पाहुनाको न्यानो सत्कार गरिने घलेगाउँ पुग्ने पर्यटकलाई दही चामलको अक्षता र फूलमालाले स्वागत गर्ने चलन छ। दक्षिण एसियाकै नमुना गाउँका रूपमा विकास भएको घलेगाउँमा पर्यटक आगमनसँगै स्थानीय बासिन्दाको आर्थिकस्तर पनि उकासिँदै गएको छ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.