अफ्रिकालाई चीनको ६० अर्ब डलर सहयोग
बेइजिङ : अफ्रिकामा अत्यासलाग्दो ऋणबारे विभिन्न क्षेत्रबाट चासो व्यक्त भइरहेका समय चीनका राष्ट्रपति सी चिनफिङले यसबाट अफ्रिकालाई उद्धार गर्ने प्याकेजका रूपमा ६० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोग दिने घोषणा गरेका छन् ।
राष्ट्रपति सीले उक्त आर्थिक प्याकेजको घोषणा चीन–अफ्रिका सहकार्य (एफओसीएसी) शिखर सम्मेलनको मञ्चबाट घोषणा गरेका हुन् । सम्मेलनमा विभिन्न ५३ अफ्रिकी राष्ट्रहरूको सहभागिता रहेको छ । यसलाई चीनले आफ्नो प्रभाव अफ्रिकी मुलुकहरूमा विस्तार गर्ने प्रयासका रूपमा हेरिएको छ । राष्ट्रपति सीले अफ्रिकामा उक्त प्याकेज बाहेक पनि अन्य क्षेत्रमा पनि सहयोग गर्ने घोषणा गरेको पनि अमेरिकी टेलिभिजन न्युज च्यानल सिएनएनले जनाएको छ ।
राष्ट्रपति सीले उक्त प्याकेज बाहेक चीन–अफ्रिका व्यापार प्रदर्शनी स्थापना गर्ने र खाद्यान्न सहयोगका लागि १ अर्ब ४६ करोड अमेरिकी डलर सहयोग गर्ने आश्वासन दिएका छन् । अफ्रिकी सामानलाई विशेष प्राथमिकता दिएर चीनमा आयात गर्ने र अफ्रिकामा हरित विकास कार्यक्रमका लागि सहयोग गर्ने राष्ट्रपति सीले जानकारी दिएका छन् । राष्ट्रपतिले चीनले अघि सारेको ‘बेल्ट एन्ट रोड इनिसियटिभ’ (बीआरआई)का लागि पनि अफ्रिकी राष्ट्रहरूलाई आह्वान गरेका छन् ।
उनले अफ्रिकी व्यापारीहरूलाई दशौँ खर्ब अमेरिकी डलर भौतिक निर्माणका लागि लगानी गरिने बीआरआईमा लगानी गर्नसमेत आग्रह गरेका छन् । सीले अफ्रिकामा गरिने लगानीमा कुनै राजनीतिक स्वार्थ नरहेको दाबी गर्दै आएका छन् । कतिपय विश्लेषकले भने चिनियाँ लगानी भएका मुलुक ऋणमा डुब्द्र गएको र यसबाट चीन हावी हुने आशंका व्यक्त गर्दै आएका छन् ।
चीनले एशिया र अफ्रिकाका देशहरूमा सडक, रेलमार्ग, बन्दरगाह र अन्य महत्वपूर्ण पूर्वाधार परियोजनामा अर्बौं डलर लगानी गरिसकेको छ । आलोचकहरूले चीनको यस परियोजनामा सहमति जनाउने मुलुकहरू ऋणको ठूलो भागले थिचिएको बताएका छन् । चीनले एशिया र अफ्रिकाका देशहरूमा सडक, रेलमार्ग, बन्दरगाह र अन्य महत्वपूर्ण पूर्वाधार परियोजनामा अर्बौं डलर लगानी गरिसकेको छ । आलोचकहरूले चीनको यस परियोजनामा सहमति जनाउने मुलुकहरू ऋणको ठूलो भागले थिचिएको बताएका छन् ।
सन् २०१५ मै जोहानेसबर्गमा भएको बैठकमा सीले अफ्रिकाका लागि सहयोग र ऋण गरी ६० अर्ब डलर उपलब्ध गराउने घोषणा गरेका थिए । अफ्रिकी मुलुकहरूले चिनियाँ सहयोग र ऋणले आफ्नो मुलुकको पूर्वाधार विकास र औद्योगिकीकरणमा योगदान पुग्नेमा विश्वास गर्दैआएका छन् ।
सन् २००० पछि अफ्रिकी मुलुकहरूले चीनबाट १ खर्ब ३० अर्ब अमेरिकी डलर ऋण तथा अन्य सहयोग लिएका छन् । उनीहरूले उक्त रकम भौतिक निर्माणसम्बन्धी आयोजनामा लगाएका छन् । अन्तर्राष्ट्रिय मुद्राकोषले केही समय पहिले अफ्रिकाले कर्जा संकटको सामना गरिरहेको भनी चेतावनी दिएको थियो । अहिले चीन अफ्रिकासँगको सबैभन्दा ठूलो व्यापारिक साझेदार राष्ट्र हो । अफ्रिकामा चीनपछि क्रमशः फ्रान्स, भारत र अमेरिकाले ठूलो लगानी गरेका छन् । चिनियाँ राष्ट्रपति सीले सेनेगल, मौरिसस, रवान्डा र दक्षिण अफ्रिकाको भ्रमण गरी उक्त क्षेत्रमा बेइजिङको सहयोगको महत्वपूर्ण उपस्थितिको औचित्य प्रष्ट पार्ने प्रयास गरेका छन् । एएनआई