जिल्ला अस्पतालमै छैनन् चिकित्सक
धादिङ : विकट ग्रामीण क्षेत्रमा चिकित्सक नभएर सर्वसाधारणले सेवा नपाएको समस्या त जहाँतहीँ सुनिएकै हो तर राजधानी जोडिएको धादिङस्थित सदरमुकामकै जिल्ला अस्पतालमा चिकित्सक छैनन् भन्दा अचम्म लाग्नसक्छ। सुगम यो ठाउँमा समेत चिकित्सक नहँदा बिरामी तथा सेवाग्राही समस्यामा परेका हुन्।
दरबन्दीअनुसार चिकित्सक नहुँदा अस्पतालबाट दिने सेवा प्रभावित बनेका छन् भने सामान्य उपचारका लागि पनि बिरामी निजी क्लिनिक र काठमाडौंसम्म धाउन बाध्य छन्। गर्भवती महिलाले चार महिना, ६ महिना र आठ महिनामा गर्नुपर्ने भिडियो एक्स-रे सेवा जिल्ला अस्पतालबाट मात्रै दिइँदै आइएको थियो। गत शुक्रबार नीलकण्ठ नगरपालिका ३ कि ६ महिनाकी गर्भवती शान्ति श्रेष्ठ भिडियो एक्सरे सेवा लिन जिल्ला अस्पताल पुगिन् तर अस्पतालको ढोकैमा भिडियो एक्सरे सेवा बन्द भएको सूचना देखेपछि निराश बनिन्। शान्तिमात्रै होइन, पछिल्लो दुई महिनादेखि भिडियो एक्सरे सेवा नपाएर निराश हुँदै फर्किने सेवाग्राही धेरै छन्।
चिकित्सक नभएकै कारण सरकारबाट स्वीकृत भइ सञ्चालनमा रहेको अप्रेशन सहितको प्रसूति सेवा बन्द भएको पनि दुई महिना भइसकेको छ। अलिकति जटिल प्रकृतिको विषय आउनेबित्तिकै सिफारिस गरिहाल्नु पर्ने बाध्यता सदरमुकाममै भएपछि सेवाग्राही तथा स्थानीय चिन्तित बनेका छन्। अस्पताल विकास समितिको पदावधि सकिएर विदाइ हुँदा करार सेवामा राखिएका कर्मचारीको करार नवीकरण हुन सकेको छैन भने चारजना सरकारी दरबन्दी रहेकोमा एकजनामात्रै चिकित्सक छन्। उनै एक जनाले पनि निमित्त मेडिकल सुपरिटेण्डेन्टको जिम्मेवारी लिएर प्रशासनिक भूमिका जिम्मा लिनुपर्ने बाध्यता आइपरेपछि जिल्ला अस्पताल धादिङवेशीबाट प्रदान गरिने बहिरंग (ओपीडी) सेवा पनि प्रभावित भएको हो।
धादिङ जिल्लाका ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचार गराउन आउने बिरामीलाई चिकित्सक नभएकै कारण रिफर गर्नुपर्ने बाध्यता रहेको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी कृष्णलाल उप्रेतीले जानकारी दिए। उनले भने, ‘गएको असार मसान्तदेखि अप्रेसन सहितको प्रसूति सेवा बन्द छ, प्रसूतिका कुनै जटिल अवस्था आइपरेमा तत्काल रिफर गर्नुको विकल्प छैन।’ असार मसान्तसम्म कार्यरत रहेका डाक्टर अर्जुन श्रेष्ठको करार अवधि सकिएपछि भिडियो एक्स-रे सेवा र अपरेसन सहितको आकस्मिक प्रसूति सेवा सञ्चालनमा समस्या भएको उप्रेतीले जानकारी दिए।
जिल्ला अस्पतालबाट दिने सामान्य सेवासमेत चिकित्सककै कारण बन्द हुँदा बिरामी तथा सेवाग्राही निजी क्लिनिक धाउन बाध्य भएका हुन्। जिल्ला अस्पतालबाट मात्रै प्रदान हुने भिडियो एक्स-रे गर्नकै लागि गर्भवती महिला काठमाडौं धाउनुपर्ने बाध्यता आइपरेको हो। ‘ठुलो भनिएको सदरमुकामकै अस्पतालको यो बिजोग छ, अस्पताल आफैं बिरामी छ भने गाउँमा कस्तो होला ? ’, नीलकण्ठ ३ बीचबजारका अर्जुन श्रेष्ठले आक्रोश पोखे, ‘गाउँका स्वास्थ्यकर्मीले सिफारिस गरेर जिल्ला अस्पताल पठाएको बिरामीको उपचार हुन सक्दैन, सामान्य भिडियो एक्स-रे गर्न पनि काठमाडौं कुद्नुपर्छ भने किन राख्न प¥यो जिल्ला अस्पताल ? ’
जिल्ला अस्पतालको नेतृत्व गर्ने मेडिकल सुपरिटेण्डेन्ट रिक्त रहेकै दुई वर्ष बितेको छ। मन्त्रालय र विभागबाट चिकित्सकबाट पठाइएकाछैन। तत्कालीन मेसु डा. रसिला अमात्य सरुवा भएपछि एक वर्षसम्म निमित्त मेसु चलाएका गौरव महतोसमेत सरुवा भएका थिए। अस्पतालमा रहेकी एकमात्रै सरकारी दरबन्दीकी चिकित्सक दीपा बोहराले निमित्त मेसुको काम सम्हालिरहेकी छन् भने बहिरंग सेवा चार करार चिकित्सकको भरमा चलेको छ। १५ शैया क्षमताको अस्पताल भए पनि हाल ४३ शैयाबाट सेवा दिइरहेको अवस्थामा छ। ‘हामीले पटक-पटक मन्त्रालय र विभागमा चिकित्सक नभएकाले समस्या भएको भनेर पत्र पठाएका छौं तर पनि कुनै सुनुवाइ भएको छैन’, अस्पतालका सूचना अधिकारी उप्रेतीले भने, ‘दरबन्दीका चिकित्सक नहुँदा अस्पतालको दैनिक सेवा प्रवाहमा निकै नै समस्या भइरहेको छ।’