काठमाडौंसँग जोड्न दुई सुरुङमार्ग बन्दै

काठमाडौंसँग जोड्न दुई सुरुङमार्ग बन्दै

 हेटौंडा : प्रदेश ३ को राजधानी मकवानपुरलाई संघीय राजधानी काठमाडौंसँग जोड्न दुई सुरुङमार्ग निर्माण हुने भएको छ। संघीय सरकारले पर्यटकीय सहर थाहा नगरपालिकास्थित चित्लाङ-थानकोट सुरुङमार्ग र प्रदेश सरकारले भीमफेदी कुलेखानी सुरुङमार्ग निर्माणको प्रक्रिया अघि बढाएको हो।

नेपाल सरकारको आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममा समेटिएको चित्लाङ-थानकोट सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययनका लागि प्रक्रिया अघि बढेको राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले बताए। ‘हामीले अर्थमन्त्री डा. युवराज खतिवडालगायत सम्बन्धित निकायका अधिकारीहरूसँग छलफल गरिरहेका छौं, तत्कालै सम्भाव्यता अध्ययनको काम अघि बढाउन काम भइरहेको छ’, मकवानपुरका सांसद बिडारीले भने।

संघीय सरकारले चालु आर्थिक वर्षका लागि प्रस्ताव गरेको चित्लाङ-थानकोट सुरुङमार्ग निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउन स्थानीय जनप्रतिनिधिले पनि पहल गरिरहेका छन्। थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले सुरुङमार्ग निर्माणपछि थाहानगर काठमाडौंको विस्तारित सहर बन्ने बताए। ‘चित्लाङ-थानकोट सुरुङमार्गको सम्भाव्यता अध्ययन प्रक्रिया अघि बढ्नु उक्त आयोजना निर्माणको सुरुवात हो’, उनले भने, ‘आयोजना यथाशिघ्र निर्माण गर्न स्थानीय तहबाट हामीले गर्नुपर्ने समन्वय र सहयोग गरिरहेका छौं।’

हाल चित्लाङ-चन्द्रागिरी-थानकोट सडकमार्ग पनि निर्माण भइरहेको छ। सडक र सुरुङलाई सँगै विकास गर्न सके विकासका दुई एकैसाथ खुल्ने इन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष जीवन लामाले बताए। थाहा र इन्द्रसरोवरका लागि मुख्य विकासकै ढोकाको रूपमा रहेको चित्लाङ-थानकोट सुरुङमार्ग निर्माण हुने भएपछि स्थानीय बासिन्दा पनि उत्साहित भएका छन्। काठमाडौं नजिक रहेको प्रमुख पर्यटकीय क्षेत्रमध्ये पर्ने थाहानगरलाई अघिल्लो आर्थिक वर्ष नै पर्यटकीय पहिचान सहितको सहरको रूपमा घोषणा गरेको थियो। तीन नम्बर प्रदेश सरकारले चालु आर्थिक वर्षमा ‘घुम्न जाउँ दामन’ वर्ष घोषणा गरेको छ। चित्लाङबाट थानकोटसम्म सुरुङमार्ग एक हजार ६ सय मिटर (१.६ किमि) मात्र हुने अनुमान छ।

दामन, पालुङ, कुलेखानी, चित्लाङ र बज्रबाराही यस क्षेत्रका प्रमुख पर्यटकीय स्थल हुन्। सुरुङ मार्ग खुले आन्तरिकभन्दा पनि बाह्य पर्यटकको उपस्थिति बढ्ने दामनका होटल व्यवसायी सुरेन्द्र प्रधानले बताए। भीमफेदी कुलेखानी सुरुङमार्ग आगामी वर्षदेखि निर्माण सुरु हुने ३ नम्बर प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो कार्यकालभित्र भीमफेदी कुलेखानी सुरुङमार्गबाट मोटर गुडाएर छाडिने बताए। यसै वर्ष सम्भाव्यता अध्यनन सक्ने बताउँदै उनले अन्नपूर्णसँग भने, ‘प्रदेश गौरवको आयोजना भएकाले अर्को वर्षबाट निर्माणको काम सुरु हुन्छ।’ त्यसका लागि संघीय सरकारले निजी कम्पनीलाई दिएको अनुमति र सम्झौता खारेज गर्न सिफारिस गरेको मुख्यमन्त्री पौडेलले बताए।

पाँच वर्षअघि निर्माण अनुमति लिएको नेपाल पूर्वाधार विकास कम्पनी (एनपीवीसीएल) ले जनतासँग शेयर रकम उठाए पनि पर्याप्त लगानी जुटाउन नसक्दा सम्भाव्यता अध्ययनमै सीमित भएको थियो। चालु आर्थिक वर्षमा प्रदेश सरकारले सुरुङमार्ग सम्भाव्यता अध्ययनका लागि पाँच करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। भीमफेदी कुलेखानी सुरुङमार्ग निर्माणपछि हाल चार घण्टाको बाटो एक घण्टामा झर्ने गरी एनपीवीसीएलले डिपिआर तयार पारेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.