चीनबाट करोडौँको सुन तस्करीमा भारतीय व्यापारी
हेटौंडा : चीनबाट भइरहेको सुन तस्करीमा भारतीय नागरिकहरु संलग्न रहेको खुल्न थालेको छ । चीनबाट तस्करी गरेर ल्याएको सुन नेपालमै भारतीय व्यापारीले नेपालमै पसल खोलेर बेच्न गरेको पनि सार्वजनिक भएको छ ।
हेटौँडास्थित तीन नम्बर प्रदेश प्रहरी कार्यालयको प्रहरी टोलीले चितवनमा छापा मारेर एक भारतीय नागरिकको पसलबाट ठुलो परिमाणमा सुन चाँदी बरामद गरेको हो ।
प्रहरी निरीक्षक रोशन थापाको नेतृत्वमा मंगलबार खटिएको टोलीले भरतपुर महानगरपालिका-१, पुतलीबजारस्थित न्यू गणेश सुनचाँदी पसलबाट भारतीय नागरिक २७ वर्षीय राजेन्द्र शिवाजी पाटिललाई तस्करीको सुन चाँदीसहित पक्राउ गरेको हो ।
भारतीय नागरिक पाटिलले चलाउँदै आएको पसलबाट अवैध सुनचाँदी किनबेच भइरहेको सूचनाका आधारमा प्रहरीले कारबाही प्रक्रिया थालेर छापा मारेको थियो ।
शिवाजीको पसलबाट प्रहरीले चीनबाट तस्करी गरेर भित्र्याइएको २ किलो ७६ ग्राम सुन, ४ किलो ६१७ ग्राम ६३० मिलिग्राम चाँदी बरामद गरेको छ । प्रहरीले सुनचाँदीसहित १२ लाख रुपैयाँ नगदसमेत बरामद गरेको छ ।
प्रहरीले बरामद गरेको सुनचाँदी एक करोड मूल्य बराबरको भएको उल्लेख गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सुन, चाँदी चीनको केरुङ हुँदै रसुवागढीबाट नाका अवैधरूपमा भित्र्याइएको पत्ता लागेको प्रनि थापाले बताए ।
शिवाजीले १० वर्षदेखि नारायणगढ बजारमा सुनचाँदी बिक्री र रिफाइनिङ गर्दै आएका थिए । बरामद सुन, चाँदी र नगदसहित भारतीय नागरिक पाटिललाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग, ललितपुरमा पठाइने ३ नम्बर प्रहरी कार्यालयले जनाएको छ ।