ललितपुरमा बाबुले गरे १० वर्षीया छोरीको बलात्कार
ललितपुर : गोदावरी नगरपालिकाको बाडेगाउँमा एक १० वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छन्। सोमबार (भाद्र १८ गते) राति आठ ३० बजे घटना भएपनि मंगलबार साँझमात्र प्रहरीमा उजुरी परेको बाडेगाउँ प्रहरी प्रभागका इन्स्पेक्टर संजीव खड्काले जानकारी दिए।
खड्काका अनुसार हजुरआमा र बालिका प्रहरीमा उजुरी गर्न पुगेका थिए। ‘थप अनुसन्धानका लागि मंगलबार नै सातदोबाटो प्रहरी वृत्तमा पठाएका छौं’, खड्काले भने।
सातदोबाटो प्रहरी वृत्तका डीएसपी विनोद सिलवालले पक्राउ परेका २९ वर्षीय दोषीमाथि थप अनुसन्धान भइरहेको बताए। सातवर्ष पहिला आमाले अर्कैसँग विवाह गरेपछि हजुरआमाले पीडित बालिकाको रेखदेख गर्दै आएकी थिइन्।
कान्छी श्रीमती माइत गएपछि बाबुले आफैसँग सुताउन लगेर छोरीको बलात्कार गरेको उजुरीमा उल्लेख गरिएको छ। ‘मेडिकल रिपोर्ट आइसकेको छैन’, डीएसपी सिलवालले भने, ‘दोषीलाई पाँच दिन म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ।’