मनाङमा एसियाकै अग्लो झोलुङ्गे पुल

मनाङमा एसियाकै अग्लो झोलुङ्गे पुल

बेसीशहर : हिमाली जिल्ला मनाङको दुई गाउँ जोड्न बनाइएको झोलुङ्गे पुल एसियाकै अग्लो भएको पाइएको छ। तल्लो मनाङको नासो गाउँपालिका-२, नाचै र वडा नम्बर ५ थोंचे ताम्राङ जोड्न बनाइएको झोलुंगे पुल एसियाकै अग्लो भएको हो।

डोना खोलामाथि निर्माण गरिएको उक्त झोलुङ्गे पुल पानीको सतहबाट ४ सय १२ मिटर उचाइमा छ। निर्माण भएको तीन बर्षपछि यसको नाप लिइएको हो।नासो गाउँपालिकाका इन्जिनियर सुभाष पाण्डेयको टोलीले पुलको नाप लिएको हो। 

पाण्डेयका अनुसार पुलको लम्बाई १ सय ३५ मिटर छ। ‘अग्लो ठाउँमा पुल बनाइए पनि अहिलेसम्म नाप लिइएको रहेनछ’, इन्जिनियर पाण्डेयले भने, ‘उचाई नाप्न गाउँपालिकामा निवेदन आएपछि जनप्रतिनिधिको रोहबरमा प्राविधिक टोलीले नाप लिएका हौँ।’ पुलबाट पानीको सतहसम्म धागो लगाएर पुलको नाप लिइएको उनले बताए।

‘पुल बनेपछि आउजाउ मात्रै भयो। यसको नाप लिनतिर ध्यानै गएको थिएन’, नासो गाउँपालिका-२ का वडाअध्यक्ष भीमबहादुर गुरुङले भने, ‘अहिले नाप्दा पुल संसारकै अग्लोमा पर्ने थाहा भयो।’ उक्त पुल तत्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको सस्पेन्सन ब्रिज डिभिजनले २०७२ मा बनाएको हो। 

विश्वका सबैभन्दा अग्ला पाँच झोलुङ्गे पुल सबै चीनमा छन्। यसरी हेर्दा मनाङको डोनाखोलाको झोलुङ्गे पुलले विश्वको पाँचौ अग्लो पुलको पहिचान बटुलेको छ। यसले दक्षिण एसियामै सबैभन्दा अग्लो पुल मनाङको नासों गाउँपालिकामा रहेको पुष्टि गर्छ। 

उक्त पुललाई सूचीमा राख्ने हो भने हाल चीनको छिङ्सुई खोला पुल (४ सय ६ मिटर उचाई) छैटौं नम्बरमा पर्छ। विश्वमै सबैभन्दा अग्लो पुल चीनकै तुक पुल ५ सय ६५ मिटर उचाइको छ। यस्तै दोस्रो अग्लो पुल चीनकै स्रतु खोला पुल ४ सय ९६ मिटर उचाइको छ। तेस्रो अग्लो पुल फुली पुल ४ सय ८५ मिटर अग्लो छ। चौंथो चीनकै याठ्र खोला पुल ४ सय ३४ मिटर उचाइको छ।  

नेपालमा हालसम्म सबैभन्दा अग्लो भनिएको पर्वतको कुस्मास्थित झुलुङ्गे पुलको उचाई नदीको सतहबाट १ सय ५६ मिटर रहेको छ। ‘सबैले अग्लो भनेका कारण हामीले पुलको उचाई नाप लियौं। उचाई ठिक ४ सय १२ मिटर छ’, गाउँका मान्छे वारपार गर्न बनाइएको झोलुंगे पुल विश्वकै अग्लो सूचीमा पर्ने देखिएपछि यसले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए।

‘अब विश्वकै अग्लो पुलको प्रचारप्रसार हुनेगरी पर्यटन प्रवद्र्धनका कार्यक्रम बनाउँछौ’, गाउँपालिका अध्यक्ष घलेले भने, ‘हामीसँग अरु धेरै कला संस्कृति र सम्पदा छन। विश्वकै सबैभन्दा अग्लो ठाउँमा तिलिचो (४,९१९ मिटर) हिमताल, विश्वकै सबैभन्दा अग्लो हिमाली पदमार्ग भञ्ज्याङ थोराङला (५,४१६ मिटर) पनि मनाङमै पर्छ। मनाङले अब एसियाकै सबैभन्दा अग्लो पुलको रेकर्डसमेत थप्ने भएको छ ।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.