११ जीबी ब्यान्डविथका लागि मासिक ५ करोड तिर्दै टेलिकम
काठमाडौं : नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले ११ जीबी ब्यान्डविथ खरिदका लागि मासिक पाँच करोडभन्दा बढी खर्च गरिरेहको पाइएको छ। नेपाल टेलिकमले हाल एनसेलभन्दा ११.७५ जीबी बढी इन्टरनेट ब्याडविथ विदेशबाट खरिद गरिरहेको छ। एनसेलभन्दा ११.७५ जीबी बढी ब्याडविथ खरिद गर्दा नेपाल टेलिकमले एनसेलभन्दा मासिक पाँच करोडभन्दा बढी रुपैयाँ तिर्देै आएको छ।
तथ्यांकअनुसार हाल टेलिकमले भारत, सिंगापुर र चीनको एक कम्पनीसँग इन्टरनेट ब्याडविथ खरिद गर्छ। कम्पनीले भारतको भारती एयरटेल लिमिटेड, सिंगापुरको टाटा कम्युनिकेसन इन्टरनेसनल, र चीनको चाइना टेलिकमसँग ब्यान्डविथ खरिद गरेको छ। तीन फरक कम्पनीसँग फरकफरक मूल्यमा इन्टरेनट ब्यान्डविथ खरिद गरेको टेलिकमले मासिक ३५.५ जीबी इन्टरनेट भित्र्याएको छ। त्यसका लागि उसले मासिक आठ करोड ६६ लाख ५६ हजार रुपैयाँ (एक डलरको मूल्य एक सय आठ रुपैयाँ हुँदा) तिर्दै आएको छ। अर्कोतर्फ एनसेलले भारतका दुई कम्पनी भारती एयरटेल र टाटा कम्युनिकेसन लिमिटेडसँग मासिक २३.७५ जीबी इन्टरनेट ब्यान्डविथ खरिद गरिरहेको छ। दुई कम्पनीसँग तीन फरकफरक मूल्यमा इन्टरनेट ब्यान्डविथ खरिद गरेको एनसेलले मासिक तीन करोड ८४ लाख रुपैयाँ तिर्दै आएको छ।
टेलिकमले भारती एयरटेलसँग प्रमिएम र नन्प्रिमियम गरी दुई फरक ब्यान्डिथ खरिद गरेको छ। त्यसका लागि कम्पनीले एउटालाई मासिक २४ डलर प्रतिएमबीपीएस र अर्कोलाई मासिक १७.९५ डलर प्रतिएमबीपीएस मूल्य तिर्दै आएको छ। यस्तै सिंगापुरको टाटा कम्युनिकेसन इन्टरनेसनलसँग कम्पनीले मासिक २४ डलर प्रतिएमबीपीएसमा र चीनको चाइना टेलिकमसँग २५.२० प्रतिएमबीपीएसका दरले ब्यान्डविथ खरिद गरेको देखिन्छ। एनसेलले पनि भारतको भारती लिमिटेडसँग दुई फरक मूल्यमा दुई ब्यान्डविथ किन्छ। उसले मासिक ९.९० र १९.५० डलर प्रतिएमबीपीएसमा इन्टरनेट ब्याडविथ किनिरहेको छ। यसैगरी भारतकै अर्को कम्पनी टाटा कम्युनिकेसन लिमिटेडबाट मासिक १९ डलर प्रतिएमबीपीएसका दरले ब्याडविथ खरिद गरिरहेको छ। मूल्यमा आएको यो फरकमा प्रिमिएम र नन्प्रिमियम ब्यान्डविथले पनि केही असर गरेको छ।
तर, एनसेलले २३ जीबी ब्यान्डविथलाई तिर्ने पैसाभन्दा पनि एनसेलभन्दा ११ जीबी बढी किनेको टेलिकमको उक्त ११ जीबीलाई पर्ने मूल्य झन्डै दुई गुणा बढी छ। एनसेलले २३.७५ जीबी इन्टरनेट ब्यान्डविथको मासिक तीन करोड ८४ लाख रुपैयाँ खरिदगर्दा टेलिकमले एनसेलभन्दा पाँच करोड १८ लाख बढी तिर्छ। यसले के दर्शाउँछ भने, टेलिकमले एनसेलभन्दा बढी ल्याएको ११ जीबीका लागि मासिक पाँच करोड १८ लाख तिर्दै आएको छ। अर्कोतर्फ दुई कम्पनीले एउटै भारतीय कम्पनीसँग ब्यान्डविथ खरिद गर्दाको मूल्यमा पनि आकाश जमिनको फरक छ।
टेलिमकले भारतको भारती एयरटेल लिमिटेड, सिंगापुरको टाटा कम्युनिकेसन इन्टरनेसनल, र चीनको चाइना टेलिकमसँग ब्यान्डविथ खरिद गरेको छ।
एनसेलले ९.९० डलर प्रतिएमबीपीएस तिर्दा टेलिकमले त्यसैलाई २४ डलर तिरिरहेको छ। यसरी मूल्यमा आएको अन्तरको कारण कसले कति व्याण्डविथ खरिद गरेको भन्ने कुराले पनि निर्धाराण गर्ने बताउँछन् नेपाल टेलिकमका सह–प्रवक्ता सोभन अधिकारी। अधिकारीका अनुसार मूल्य निर्धारण बजार मागले पनि निर्धारण गर्छ। ‘जतिबढी ब्यान्डविथ खरिद गरिन्छ त्यतिनै मूल्य घट्दै जान्छ’, उनले भने, ‘प्रिमियम र नन्प्रिमियम इन्टरनेट ब्यान्डविथले पनि मूल्य निर्धारण गर्छ।’ टेलिकमको हकमा भने सार्वजनिक खरिद ऐनले पनि असर गरिरहेको यस अघिनै टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले उल्लेख गरेकी थिइन्। उनले सार्वजनिक खरिद ऐनअन्तर्गत रहेर ग्लोबल टेन्डरमार्फत ब्यान्डविथ खरिद गर्दा नै टेलिकम महँगोमा पर्न गएको बताएकी छन्।
हुन पनि हो, सरकारी कम्पनी भएकाले सार्वजनिक खरिद ऐनभन्दा बाहिर गएर टेलिकमले कुनै पनि वस्तु र सेवा खरिद गर्न पाउँदैन। तर, निजी कम्पनीले एनसेलले बिना टेन्डर नै सम्झौताका भरमा मूल्य निर्धारण गर्न सक्छ। ‘निजी कम्पनीले आफ्नो आवश्यकताअनुसार समय समयमा मूल्य समायोजना गर्दै जाने भएकाले पनि उसको प्रत्यक महिना मूल्य घट्दै जान्छ’, सहप्रवक्ता अधिकारी भन्छन, ‘तर टेन्डरमार्फत जाँदा तोकिएको समय अघि मूल्य परिवर्तन हुँदैन। टेन्डरमा हुने समय थोरैमा ६ महिना हो। ६ महिनासम्म ६ महिनाअघि भएको सम्झौताअनुसारकै पैसा तिर्नुपर्ने हुन्छ।’