हेन्द्री सरको गेरुवस्त्र

हेन्द्री सरको गेरुवस्त्र

२०७० वैशाख पहिलो साता। फुसफुस पानी परिरहेको थियो। हल्का भिज्दै म काठमाडौं शान्तिनगरको हिलाम्मे सडकमा हिँड्दै थिएँ। मेरो अघिअघि गेरु वस्त्रधारी, अग्ला कदका व्यक्ति लम्किइरहेका थिए। कमिज–धोती लगाएका। अग्लो ज्यानलाई थाम्ने लामा–लामा पाइतालामा १० नम्बरभन्दा माथिकै चप्पल प्याटप्याट पारिरहेका। त्यसको पछिल्लो भागले उछिट्ट्याएको हिलो उनको टाउकैसम्म पुगिरहेको थियो। पर्वाह नगरी अघि बढिरहेका थिए उनी। मैले ठानें– कुनै तपस्वी, साधु, स्वामी वा गुरु कोही हुनुपर्छ। चासो लागेर पाइला अलि लम्काएँ। जब आँखा जुध्यो, सजिलै चिनें।

‘तपाईं हेन्द्री सर होइन ?’, मैले संवादको ढोका खोलें।

‘हो’, उनले गढेर हेर्दै भने, ‘तपाईं नि ?’

‘तपाईंले छात्रवृत्ति दिएर पढाएको एउटा विद्यार्थी’, मैले चिन्न सजिलो हुने परिचय दिएँ।

उनको गोरो अनुहार झन् उज्यालो भयो। उनले नाम सोधे। मैले बताएँ। एकछिन घोरिएर चिने झैं मुन्टो हल्लाए।

०००

पूर्वको ‘कर्णाली’ नै थियो भोजपुर। मेरो घर भएको जरायोटार गाविसमा मावि थिएन। चार घन्टा हिँडेर जानुपर्ने याकुमा म कक्षा ८ पढ्न पुगें। आमा–बुवाका धेरै सन्तान। छाक टार्ने मेलो पानीको स्रोत केही नभएको पाखो बारी थियो। पानी परिगए खान पुग्थ्यो। धेरैजसो वर्ष खडेरीले हान्नु हान्थ्यो। कुनै वर्ष त ६ महिना अनिकाल लाग्थ्यो।

किनेका मकैका चामल बोकेर हामी हरेक आइतबार याकुको उकालो चढ्थ्यौं। डेरा गरेर बस्थ्यौं। शुक्रबार चामल लिन फेरि घर झर्थ्यौं। त्यति लामो दूरी त्यो वर्षभरि मैले खाली खुट्टा पार गरें। मतलब–जन्मेदेखि त्यतिञ्जेल मेरा गोडामा जुत्ता–चप्पल पसेका थिएनन्। आङ ढाक्ने कपडा थिए– सधैं उही सर्ट र सुरुवाल।

कक्षा ९ मा पढ्दा बल्ल चप्पल किनियो। सुरुवालका ठाउँमा पाइन्ट फेरियो। सर्ट पनि नयाँ किनियो। त्यो क्षमता दिलाएको थियो– हेन्द्री सरको छात्रवृत्तिले।

खास नाम हेनरी मिचेल। २०२२ सालमा याकुमा मावि तहको पढाइ सुरु भयो। त्यसबेलाका प्रधानाध्यापक ईश्वरप्रसाद भण्डारीको सम्झनामा शिक्षकले चार महिना तलब बुझ्थे। आठ महिनाको तलब स्कुललाई नै दान दिन्थे। त्यही मेसो अमेरिकाको पिसकोरले गाउँ–गाउँमा शिक्षक पठाउन थाल्यो। याकुले पनि आवेदन दियो। २०२३ सालमा तेइसबर्से हेनरी गणित र विज्ञान पढाउन पिसकोरका तर्फबाट आइपुगे।

उनलाई दुई वर्षका लागि पठाइएको थियो। उनी याकुको समाजमा यति घुलमिल भए, म्याद सकिएपछि अझै बस्न चाहे। स्कुलले त्यसका लागि पिसकोर अफिसमा निवेदन दियो। एक वर्ष म्याद थपियो। बसेको तीन वर्षमा उनी हेनरीबाट सबैका प्यारा ‘हेन्द्री सर’ भइसकेका थिए। आफ्नो यहुदी आवरण फालेर हिन्दु धर्मको गेरुवस्त्र पहिरिइसकेका थिए।

‘सर किन ?’ पाँच वर्षअघि भेट हुँदा मैले धर्म परिवर्तनबारे सोधें।

‘मुख्य कारण त मन परेरै हो’, मुस्कुराउँदै उनले मीठो नेपालीमा भने, ‘खासमा सनातन धर्मको दर्शन गहन छ। यसमा भेदभाव छैन। हिन्दु धर्मका कुनै पनि ग्रन्थले न जातीय भेदभावको कुरा गरेको छ, न लिंगकै। तर नेपालमा छुवाछूत प्रथा अझै व्याप्त छ। यसलाई हिन्दु धर्मसँग जोडेर खोटका रूपमा देखाइन्छ। त्यो गलत हो।’

उनले फगत गेरुवस्त्र धारण गरेका होइनन्, हिन्दु धर्ममा दीक्षित भइसकेका छन्। स्वामी उपाधि आर्जन गरिसकेका उनको नाम बदलिएर परमानन्द सरस्वती भएको छ। उदाहरण दिँदै उनले भने, ‘हामी देवी–देवता भन्छौं। देवता–देवी भन्दैनौं। जति भगवान्का मन्दिर छन्, त्यही हाराहारी भगवतीका पनि छन्। चाडपर्व बराबरीजस्तै छन्। भेदभाव त मान्छेले गरे, भगवान्ले होइन।’

त्यस दिन उनी शान्तिनगरमा हर्कमान रसाइलीको घर जाँदै थिए। केही दिनदेखि त्यहीं बस्दै रहेछन्। कतिपय ‘स्वामीजी’ दलितका घरमा बस्न–खान रुचाउँदैनन्। हेन्द्री सरको महानता नै त्यही जो, जसलाई जात–धर्मबारे राम्रो ज्ञान छ, तर भेदभाव छैन।

‘मेरो घर जाउँ सर !’ मैले प्रस्ताव राखें। उनले हार्दिकतापूर्वक स्विकारे।

ढोका खोलिदिने हो भने जोनजस्ता धेरै व्यक्ति सनातन धर्ममा लोभिन सक्छन्। उदाहरण हेन्द्री सर नै हुन्।

०००

२०२६ सालमा याकुको विश्वप्रेमी माविले उनको भव्य बिदाइ गरे पनि उनको मन बिदा भएन। केही वर्षपछि फर्किएर आए, कोसेलीसहित। त्यो कोसेली थियो– उही छात्रवृत्ति। गरिब तथा जेहनदार २० जनाले पाउँथे मासिक रकम। मैले ९ र १० कक्षामा दुई वर्ष त्यो पाएँ। छात्रवृत्तिका लागि उनले बैंकमा अक्षय कोष राखिदिएका थिए। त्यसैबाट हामीलाई स्कुलले दिन्थ्यो। त्यो यति आकर्षक थियो, जुन रकमले वर्षैभरि पढ्न, लुगा लगाउन र घर खर्च धान्न मज्जाले पुग्थ्यो।

युद्धकालमा छात्रवृत्ति कोषको खाता भएको बैंक माओवादीले लुट्यो। छात्रवृत्ति बाँडेर ‘विद्यार्थी नबिगार्न’ धम्की दियो। बाध्य भएर त्यसबाट हात झिकेछन् हेन्द्री सरले।

गत असार दोस्रो साता उनी फेरि काठमाडौं आए। डेढ महिना याकु बसेर फर्किएका रहेछन्। छात्रवृत्ति रोकिएपछि खाता बन्द गरेको पैसाले त्यही स्कुलमा कम्प्युटर ल्याब बनाइदिएका रहेछन्।

‘विद्यार्थीले कम्प्युटर चलाउँदाचलाउँदै बत्ती झ्याप्प जाँदो रहेछ। त्यही भएर यसपालि ठूलो क्षमताको ब्याकअप व्यवस्था गरेर आएँ’, उनले सुनाए, ‘अब ढुक्क भयो।’

०००

तत्कालीन प्रधानाध्यापक ईश्वर भण्डारी अवकाशपछि केही वर्ष अमेरिका बसे। कोलोराडोका हेन्द्री सर उनलाई भेट्न क्यालिफोर्निया पुगेछन्।

‘मैले दूध खाऊँ भनेर सोधें’, उनी सम्झिन्छन्, ‘उहाँले खान मान्नुभएन। भेगन (जनावरका उत्पादन नखाने) हो भनेर फेरि सोधें। शाकाहारी हो, भेगनचाहिँ होइन भन्नुभयो।’

‘अनि दूध किन नखाने त ? मन पर्दैन ?’, उनले जिज्ञासा राखेछन्।

‘नेपाल र भारतमा खान्छु, अन्यत्र खान्न’, उनले भनेछन्। त्यसको कारण बताएछन्, ‘जहाँ गाईको मासु खान्छन्, त्यहाँ गाईलाई माया गर्दैनन्। मेसिनले हिंसात्मक ढंगले दुहुन्छन्। त्यही भएर खान मन लाग्दैन।’

हेन्द्री सरसँग अमेरिकामा अब केही छैन। भएको ल्याएर नेपाल र भारतमा बाँडिसकेका छन्। एक महिनाअघि भारत गएका छन्।

‘कहिले आउनुहुन्छ सर ?’ जानुअघि हामीले सोध्यौं।

‘आगुम (अर्को वर्ष) आउँछु’, उनले भने, ‘अब त बूढो भएँ। त्यसपछि कतै जान्न होला। नेपालमै देहत्याग गर्न मन छ।’

०००

हेन्द्री सरले शिक्षामा योगदान पुर्‍याए। बेलायती नागरिक जोन अर्का यस्ता पात्र रहेछन्, जसले नेपालीलाई स्वास्थ्यमा धेरै गुन लगाए। बिहेको निम्तो मान्न गुह्येश्वरी मन्दिर जाँदा पस्न पाएनन्।

मन्दिरको ढोका ‘हिन्दुका लागि मात्र’ खुला थियो। दुलाहा–दुलहीलाई शुभकामना दिन उनी तीन घन्टा बाहिरै कुरे।

ढोका खोलिदिने हो भने जोनजस्ता धेरै व्यक्ति सनातन धर्ममा लोभिन सक्छन्। उदाहरण हेन्द्री सर नै हुन्। नेपालमा दबाब र प्रभावमा धर्म परिवर्तन गराउने क्रम बढेको छ। कानुनले यसलाई बन्देज लगाएको छ। हामी भने स्वेच्छाले मन्दिर छिर्नेलाई ताल्चा लगाइदिन्छौं। धर्ममा यस्ता संकीर्णता र भेदभाव हुनु हुँदैन। सम्भवतः हिन्दु धर्मको कुनै ग्रन्थमा यस्तो लेखिएको छैन। हिन्दु धर्मको मर्म पनि त्यो होइन। यसले त समानताको वकालत गर्छ, तर व्यवहारमा हामी छुच्चो भइरहेका छौं।

विदेशीका कुरा छोडौं। उदाहरणका लागि किराँत धर्म मान्ने कुनै नेपालीले पशुपतिनाथमा अरू पुग्ने ठाउँसम्म जान चाहे किन नपाउने ? ऊबाट इतिहास र पुरातत्वमा कस्तो असुरक्षा हुन्छ ? के कारणले मन्दिर बिटुलिन्छ ? यस्ता संकीर्णता छोडौं। ‘हिन्दुका लागि मात्र’ भन्ने सूचना फालौं। समान व्यवहार गरौं। अन्य धर्मावलम्बीलाई झन् हार्दिकतापूर्वक स्वागत गरौं।

अनि पो धर्म हुन्छ।

[email protected]


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.