स्वदेशमै रोजगारी घोषणामा सीमित
धनगढी : रोजगारीका लागि विदेश जाने क्रम बन्द गर्ने मुख्यमन्त्रीको दाबी घोषणामा सीमित भएको छ । मुख्यमन्त्रीले शपथ लिएको ६ महिना पुगिसक्दासमेत कामका लागि भारत जानेको लगत संकलन सुरु भएको छैन ।
तथ्यांक कार्यालय कञ्चनपुरका अनुसार साविकको सुदूरपश्चिमका ९ जिल्लाबाट एक लाख ८६ हजार नेपाली रोजगारीका लागि भारत जान्छन् । यो ०६८ सालको जनगणनाको तथ्यांक हो । माइग्रेसनको क्षेत्रमा कार्यरत गैरसरकारी संस्था केयर नेपालको तथ्यांकअनुसार सुदूरपश्चिमबाट करिब ९ लाख नेपाली कामको खोजीमा भारतमा छन् ।
०६८ सालको जनगणनामा करिब २५ लाख जनसंख्या रहेको सुदूरपश्चिममा त्यो संख्या २९ लाख हाराहारी पुगेको छ । ‘सुदूरपश्चिमका ९ वटै जिल्लाबाट झन्डै ३० प्रतिशत मानिस कामका लागि भारत जाने तथ्यांक छ’, केयर नेपालका पूर्व क्षेत्रीय संयोजक प्रकाश पाण्डेले भने ।
प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट पनि करिब दुई दशक भारतमा बसेका हुन् । उनको राजनीति प्रवासबाटै सुरु भएको हो । ‘भारतमा बसेर नेपालीको दुःख देखेका कारण पनि उनले त्यो कुरा भावनामा आएर पटक–पटक बोले तर बोली अनुसार काम भएन’, प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल कांग्रेस नेता डाक्टर रणबहादुर रावलले भने ।
उनले मुख्यमन्त्रीको बोली र व्यवहार फरक भएको बताए । ‘प्रदेश सरकारले भारत जानेहरूलाई रोक्ने कुनै ठोस योजना ल्याउन सकेको छैन, मुख्यमन्त्री बिनायोजना बोल्ने गरेका छन्,’ रावलले भने ।
तथ्यांक कार्यालय कञ्चनपुरका प्रमुख यदुनाथ आचार्यले ०६८ सालको जनगणनाअनुसार प्रदेश ७ को कैलालीबाट ५६ हजार, कञ्चनपुरबाट ३१ हजार, बझाङबाट २१ हजार, डोटीबाट २२ हजार र अछामबाट २० हजार मानिस रोजगारका लागि भारत जाने गरेका छन् । यस्तै, दार्चुलाबाट पाँच हजार, डडेलधुराबाट १० हजार, बैतडीबाट १९ हजार र बाजुराबाट ७ हजार महिला तथा पुरुष रोजगारी गर्न भारत जाने गरेको तथ्यांक छ ।
‘यो ८ वर्षअघिको तथ्यांक हो, अहिले देशमा रोजगारी छैन, अधिकांशको रोजगारीको गन्तव्य भारत बनेको छ’, तथ्यांक प्रमुख यादवले भने, ‘पछिल्ला ८ वर्षमा यो संख्या धेरै बढेको छ ।’
तथ्यांक कार्यालयको आँकडाअनुसार भारत जाने एक लाख ८६ हजारमध्ये एक लाख चार हजार जना प्राथमिक तहसम्मको मात्रै अध्ययन गरेका छन् भने ३९ हजार निरक्षर र ३५ हजार जनाले अनौपचारिक शिक्षा लिएका छन् । कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा, बैतडीको झुलाघाट, दार्चुलाको जौलजिवी, दत्तु र खलंगालगायत नाकाबाट बढी संख्यामा यहाँका बासिन्दा रोजगारीका लागि भारत जाने गर्छन् ।
खेतीपाती सकेपछि दैनिक एक हजार ५ सयदेखि दुई हजार नागरिक गड्डाचौकी नाका भएर भारत जाने गरेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । खेतीपाती सक्नेबित्तिकै सुदूरपश्चिमबाट भारत जानेको ताँती सीमा क्षेत्रमा देख्न सकिन्छ ।
प्रदेश सरकारले आर्थिक वर्ष ०७४/७५ को अल्पकालीन र ०७५/७६ को पूर्ण बजेट गरी दुई वटा बजेट ल्याएको छ । तर, त्यो बजेटमा कामका लागि भारत गएका प्राथमिक शिक्षा हासिल गरेका र निरक्षरका लागि कुनै योजना छैन । अहिले भारतमा कामका लागि जानेमध्ये १० प्रतिशतबाहेक सबै जना प्राथमिक शिक्षा र निरक्षर छन् ।
आव ०७५/७६ को पूर्ण बजेटमा रोजगारी सिर्जनाका लागि ९ जिल्ला तालिम गोष्ठीबाहेक कार्यक्रम समावेश गरिएका छैनन् । मुख्यमन्त्रीका स्वकीय सचिव शिव ओली पनि सरकारले देखिने गरी पछिल्ला ६ महिनामा केही पनि गर्न नसकेको स्विकार्छन् ।
‘देखिने गरी कुनै काम भएको छैन, मुख्यमन्त्रीले पाँच वर्षमा गर्छु भनेको हुनुपर्छ’, स्वकीय सचिव ओलीले भने । उनले स्वदेशमै रोजगारी सिर्जना गर्न व्यवसायी र लगानीकर्तासँग छलफल भइरहेको बताए ।
००००
क्याप्सन ः कञ्चनपुरको गड्डाचौकी नाका भएर कामका लागि टाँगा चढेर भारत जाँदै नेपाली । –विष्णुप्रसाद देवकोटा ।