ब्याटिङमा नेपालको सदाबहार समस्या

ब्याटिङमा नेपालको सदाबहार समस्या

काठमाडौं : एसियाली क्रिकेट काउन्सिल (एसीसी) एसिया कप छनोट प्रतियोगितामा उपाधिको दाबेदार मानिएको नेपाल फाइनल नपुग्दै प्रतियोगिताबाट बाहिरियो। राउन्ड रोबिन लिगको पाँचमध्ये सुरुआती दुई खेलमा ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) सँग पराजित भएको नेपाल अन्तिम खेलमा हङकङसँग पनि हारेपछि प्रतियोगिताको फाइनलमा पुग्ने सबै सम्भावना समाप्त भएको थियो।

नेपालले फाइनलमा पुग्दै एसिया कप छनोटको सम्भावना जीवित राख्न मंगलबार भएको आफ्नो अन्तिम खेलमा हङकङलाई भारी अन्तरले पराजित गर्नुपर्ने बाध्यता थियो। अनि सोही दिन भएको दोस्रो खेलमा ओमानले यूएईलाई पराजित गरेको नतिजा कुर्नुपर्ने थियो। तर, यो दुवै खेलको नतिजा नेपालले सोचेको जस्तो भएन। दोस्रो खेलमा ओमान यूएईसँग १३ रनले पराजित भयो। त्यसअघि नै हङकङसँग तीन विकेटले पराजित हुँदा नेपाल आफैंले फाइनल पुग्ने बाटो बन्द गरिसकेको थियो।

हालै एकदिवसीय टोलीको मान्यता प्राप्त गरेको नेपालले आफ्नो स्तरअनुसारको प्रदर्शन गर्न सकेन। नेपाली टोली एसिया कप छनोटमा असफल हुनु भनेको ठूलो अवसरबाट चुक्नु पनि हो। छनोट प्रतियोगिताको उपाधि जितेको टोली यही सेप्टेम्बर १५ देखि ३० तारिखसम्म यूएईमा हुने एसिया कपका लागि छनोट हुने प्रावधान थियो। सो टोलीले एसिया कपको समूहगत चरणमै भारत र पाकिस्तानको सिनियर राष्ट्रिय टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर पाउने थियो। अहिलेसम्म भारत र पाकिस्तानको सिनियर राष्ट्रिय टोलीसँग खेल्ने अवसर नपाएको नेपाल त्यो अवसर सदुपयोग गर्नबाट वञ्चित भयो।

त्यसको मुख्य कारण कमजोर ब्याटिङ प्रदर्शन नै रह्यो। एसिया कपको छनोटमा पनि परम्परागत रूपमा देखिँदै आएको ब्याटिङकै समस्या दोहोरिँदा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले भारत र पाकिस्तानको सिनियर टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर चुकायो। नेपाली राष्ट्रिय टोलीका पूर्वक्रिकेटर राजु बस्न्यात परम्परागत ब्याटिङ समस्यामा सुधार नहुनु एसिया कपमा नेपाली टोलीको असफलताको मुख्य कारण बनेको बताउँछन्।

‘यस पटक हामीले ठूलो अवसर गुमाएका छौं। एसिया कप हाम्रा लागि सायद विश्वकपपछिको अर्काे ठूलो प्रतियोगिता हो। यो प्रतियोगितामा विश्व च्याम्पियन टोलीहरूसँग प्रतिस्पर्धा गर्न पाउथ्यौं। प्रचारको दृष्टिकोणबाट पनि हाम्रा लागि यो महत्वपूर्ण प्रतियोगिता थियो’, नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षकसमेत रहेका बस्न्यात भन्छन्, ‘यद्यपि हामीले त्यो अवसर गुमाएका छौं। यसमा कमजोर ब्याटिङ प्रदर्शन नै मुख्य कारण रह्यो।’

नेपाली टोलीका लागि कमजोर ब्याटिङ प्रदर्शन पुरानो समस्या हो। त्यही कारण नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिताअघि परामर्शदाता ब्याटिङ प्रशिक्षक नियुक्त गर्दै आएको छ। एसिया कप छनोट प्रतियोगिताका लागि पनि नेपालले भारतका अपूर्व देशाईलाई ब्याटिङ परामर्शदाता प्रशिक्षक नियुक्त गरेको थियो। तैपनि नेपालको ब्याटिङ समस्यामा कुनै सुधार आउन सकेन।

पूर्वक्रिकेटर बस्न्यात परामर्शदाता प्रशिक्षकले ब्याटिङ प्रदर्शन नसुध्रिने धारणा व्यक्त गर्छन्। ‘नेपालले पछिल्लो अन्तर्राष्ट्रिय प्रतियोगितामा नियमित जस्तै परामर्शदाता प्रशिक्षक नियुक्त गर्दै आएको छ’, बस्न्यात भन्छन्, ‘यद्यपि यसरी नेपाली टोलीको ब्याटिङ प्रदर्शनमा सुधार आउँदैन। एक साता वा १० दिनको लागि जोसुकै ब्याटिङ प्रशिक्षक ल्याए पनि धेरै सुधार गर्न सकिन्न। हामीले यो तथ्यमा ध्यान दिनु आवश्यक छ।’

अर्का पूर्वक्रिकेटर दीपेन्द्र चौधरी पनि बस्न्यातको तर्कमा सहमत देखिन्छन्। छोटो समयका लागि आउने परामर्शदाता प्रशिक्षक पनि परिवर्तन भइरहँदा त्यसले नकारात्मक असर पार्ने चौधरी बताउँछन्। ‘नेपालले पछिल्लो समय नियुक्त गरेका परामर्शदाता प्रशिक्षकलाई दोस्रो प्रतियोगितामा दोहो¥याएको छैन। प्रत्येक पटक नयाँ/नयाँ प्रशिक्षक नियुक्त गरेको छ’, नेपाली यू–१९ राष्ट्रिय टोलीको प्रशिक्षकको भूमिका सम्हालिरहेका चौधरी भन्छन्, ‘यसले खेलाडीहरूमा अलमलको वातावरण सिर्जना गरिदिन्छ। एउटा प्रशिक्षकले सिकाएको टेक्निकमा अभ्यस्त भइनसक्दै दोस्रो प्रशिक्षकले भनेको कुरा सिक्नुपर्ने हुन्छ। यस्तो अवस्थामा ब्याट्सम्यानहरूलाई परिपक्वता हासिल गर्न मुस्किल हुन्छ।’

नेपाली टोलीले प्रतियोगिताको बलिङतर्फ सशक्त प्रदर्शन गरे पनि ब्याटिङमा भने प्रायः सबै खेलमा खराब प्रदर्शन ग¥यो। नेपालले आफ्नो पहिलो खेलमा ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै दुई सय २४ रनको योगफल तय गर्न बाहेक अन्य सबै खेलमा कमजोर योगफलमै समेटिन पुगेको थियो। यूएईसँग दुई सय ५५ रनको लक्ष्य पछ्याएको नेपाल एक सय ७६ रनमै रोकिएको थियो।

मलेसियाविरुद्ध ३० ओभरको खेलमा एक सय ८८ रन जोड्न सात विकेट गुमाएको नेपालले सिंगापुरविरुद्ध एक सय ५२ रनको लक्ष्य पार गर्न २८.१ ओभरमा ६ विकेट गुमाएको थियो। हङकङविरुद्धको खेलमा त नेपाल ५५ रनको कम योगफलमै समेटिन पुग्यो। प्रतियोगितामा ६ वटै खेलमा मुख्य ब्याट्सम्यान पारस खड्का र ज्ञानेन्द्र मल्लले सोचेको जस्तो प्रदर्शन गर्न सकेनन्।

प्रतियोगिताको एक/एक खेलमा अर्धशतकीय पाली खेलेका सागर पुन र सुवास खकुरेलले पनि आफ्नो यो प्रदर्शनलाई दोस्रो खेलमा दोहोर्‍याउन सकेनन्। दीपेन्द्रसिंह ऐरीले प्रायः खेलमा एकनासको प्रदर्शन गर्दा क्षमतावान् ब्याट्सम्यान रोहितकुमार पौडेल रन जोड्न असफल भए। बस्न्यात नेपालले प्रतियोगितामा ब्याटिङ क्रममा परिवर्तन गरिरहेकाले पनि खेलाडीहरूले एकनासको प्रदर्शन दिन नसकेको बताए।

‘हामीले प्रतियोगितामा ब्याटिङ अर्डर धेरै नै परिवर्तन गरिरह्यौं। प्रारम्भिक जोडीदेखि मध्यक्रम र तल्लोक्रमको ब्याटिङमा परिवर्तन भइरहे’, बस्न्यात भन्छन्, ‘त्यसले पनि खेलाडीको प्रदर्शनमा असर गरेको हुन्छ।’ चौधरी नेपालले यो प्रतियोगिताबाट पाठ सिक्नुपर्ने सुझाव दिन्छन्। ‘हामीले आगामी प्रतियोगिताबाट पाठ सिकेर अघि बढ्नुपर्छ’, उनी भन्छन्, ‘हामीले प्रतियोगिताको तयारी कसरी ग¥यौं। हामीले कुन कुन पक्षमा गल्ती ग¥र्यौं भन्ने कुरा ख्याल गरेर आगामी प्रतियोगितामा दोहोरिन दिनु हुँदैन। त्यसो भएमात्र हामी आजको पराजयलाई भोलिको सफलताको आधारसँग जोड्न सक्छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.