मनाङमा एसियाकै अग्लो झोलुंगे पुल
बेसीसहर : हिमाली जिल्ला मनाङको दुई गाउँ जोड्न एसियाकै अग्लो झोलुंगे पुल बनेको छ । तल्लो नासों गाउँपालिका–२, नाचै र वडा नं. ५ थोंचे ताम्राङ जोड्न बनाइएको झोलुंगे पुल एसियाकै अग्लो हो । डोना खोलामाथि निर्माण गरिएको झोलुंगे पुल पानीको सतहबाट ४ सय १२ मिटर उचाइमा छ । निर्माण भएको ३ वर्षपछि यसको नाप लिइएको हो ।
नासों गाउँपालिकाका इन्जिनियर सुभाष पाण्डेयको टोलीले पुलको नाप लिएको हो । पाण्डेयका अनुसार पुलको लम्बाई १ सय ३५ मिटर छ । ‘अग्लो ठाउँमा पुल बनाइएपनि अहिलेसम्म नाप लिइएको रहेनछ’, इन्जिनियर पाण्डेयले भने, ‘उचाइ नाप्न गाउँपालिकामा निवेदन आएपछि जनप्रतिनिधिको रोहवरमा प्राविधिक टोलीले नाप लिएका हौँ ।’
पुलबाट पानीको सतहसम्म धागो लगाएर पुलको नाप लिइएको उनले बताए । ‘पुल बनेपछि आउजाउ सुरुभयो । यसको नाप लिनेबारे कसैको ध्यान गएको थिएन’, नासों गाउँपालिका २ का वडाअध्यक्ष भीमबहादुर गुरुङले भने, ‘अहिले नाप्दा पुल एसियाकै अग्लो देखियो ।’ पुल तत्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागले २०७२ मा बनाएको हो ।
विकिपीडियामा उल्लेखित ‘लिस्ट अफ हाइगेस्ट ब्रिजेज’ शीर्षकको तथ्यांक अनुसार विश्वका सबैभन्दा अग्लो ५ वटा झोलुंगे पुल चीनमा पर्छ । विकिपीडियाको तथ्यांकमा नरहे पनि मनाङको डोनाखोलाको झोलुंगे पुलले विश्वको पाँचौ अग्लो पुलको पहिचान बटुलेको छ । यसले दक्षिण एसियामा सबैभन्दा अग्लो पुल मनाङको नासों गाउँपालिकामा रहेको पुष्टि गर्छ ।
उक्त पुललाई सूचीमा राख्ने हो भने हाल चीनको छिङ्सुई खोला पुल (४ सय ६ मिटर उचाई) छैटौं नम्बरमा पर्छ । विश्वमा सबैभन्दा अग्लो पुल चीनकै तुक पुल ५ सय ६५ मिटर अग्लो छ । यस्तै दोस्रो अग्लो पुल चीनकै स्रतु खोला पुल ४ सय ९६ मिटर उचाइको छ । तेस्रो अग्लो पुल फुली पुल ४ सय ८५ मिटर अग्लो छ । चौंथो चीनकै याठ्र खोला पुल ४ सय ३४ मिटर उचाइको छ ।
नेपालमा हालसम्म सबैभन्दा अग्लो भनिएको पर्वतको कुस्मास्थित झुलुङ्गे पुलको उचाई नदीको सतहबाट १ सय ५६ मिटरमा छ । ‘सबैले अग्लो भनेकाले पुलको उचाई नाप लियौं । उचाई ठिक ४ सय १२ मिटर रहेछ’, गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले, ‘गाउँका मान्छे वारपार गर्न बनाइएको झोलुंगे पुल विश्वकै अग्लो सूचीमा पर्ने देखिएपछि यसले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने सम्भावना छ ।
अध्यक्ष घलेका अनुसार अन्य कला संस्कृति र सम्पदा पनि सो क्षेत्रमा प्रसस्त छन् । विश्वको सबैभन्दा अग्लो ठाउँमा तिलिचो (४,९१९ मि.) हिमताल, विश्वको सबैभन्दा अग्लो हिमाली पदमार्ग भञ्ज्याङ थोराङला (५,४१६ मि.) पनि मनाङमै पर्छ । मनाङले एसियाको सबैभन्दा अग्लो पुलको रेकर्डसमेत थप्ने भए पछि स्थानीय पनि उत्साहित छन् ।