भारतीय नागरिकले भेटे आफन्त
स्याङ्जा : भारतीय नागरिक जीतेन्द्र भनिने विनय अग्रहरीलाई स्याङ्जाका अभियानपथबासीले उनका भाइलाई बुझाएका छन् । एक वर्षअघि मानसिक सन्तुलन गुमाउँदै भारतबाट स्याङ्जा आएका उनको स्वास्थ्यमा सुधार आएपछि उनका आफन्तको खोजी भएको थियो । कसैले फोन, कसैले फेसबुक त कसैले सञ्चार माध्यममार्फत उनका परिवारका खोजी गरेका थिए ।
आफुलाई जीतेन्द्र अग्रहरी बताउने विनय अग्रहरी (पंकज) लाई लिन उनका सहोदर भाइ विवेक अग्रहरी र काकाका छोरा रजत अग्रहरी स्याङ्जा आएका हुन् । भारतको मिर्जापुरवारबाट सोमबार साँझ पुतलीबजार नगरपालिका १ स्थित अभियानपथ आइपुगेका उनीहरुले आफ्ना दाजुलाई ३ वर्षपछि भेटेको बताए । विनयले पनि आफ्ना भाईलाई भेटेपछि परिचित मुहार देखेझंै खुसीले हाँस्दै आफ्ना घरपरिवारका अन्य सदस्यका बारेमा सोधखोज गरेका थिए ।
भाइले यति टाढा कसरी आइपुग्यो भन्दा बोर्डरबाट चिनेजानेका व्यक्तिले बस चढाएर नेपाल पठाइदिएको बताए । दुई दाजुभाइको पुनर्मिलन हेर्न अभियानपथस्थित निमार्णाधीन सभागृहमा स्थानीयको भीड लागेको थियो । बिगत ८/९ महिनादेखि स्याङ्जा सदरमुकाममा रहेका विनयले सदरमुकामस्थित सहिदचोकको प्रमुख बजार दिनभर फेरो मार्थे । कागजका डफ्टी, प्लाष्टिक ढुंगाा र नालामा बगेको फोहोर पानी पिउँथे । पुतलीबजार नगरपालिका १ अभियानस्थका स्थानीयबासीको नियमित हेरचाह र औषधोपचारले उनको जीवनमा परिवर्तन आएको हो । स्वास्थ्यमा सुधार आएपछि आफ्नो घर ठेगाना बताएकाले परिवारसँग पुनर्मिलन हुने मौका मिलेको हो ।
सदरमुकाममा बसेर होटल व्याबसाय संचालन गर्दै आएका हिमलाल ढकाल र राजकुमार आचार्यको नियमित हेरचाहले उनको जीवनमा चमत्कारिक परिवर्तन आएको हो । डा. लुम्बेश्वर आचार्यले ती पुरुषको स्वास्थ्य एवं मानसिक परीक्षणपछि दिएको औषधीले परिवर्तन ल्याएको हो ।