बाँधका कारण खेत डुबानमा
मलंगवा : लखनदेही नदी नियन्त्रण गर्न मलंगवा–७ भाडसरमा बाँध निर्माण हुँदा मलंगवा–६ खुटौनाका खेतीयोग्य जमिन डुबानमा परेको छ । पानीले खेत डुबेपछि रोपाइँसमेत प्रभावित भएको छ ।
नदी किनारमा निर्माण गरिएको बाँधले खुटौना भएर बग्ने पानीलाई रोकेपछि खेतहरू डुबानमा परेका हुन् । बाढीका कारण खेत जलमग्न हुँदा किसानहरू मर्कामा परेका छन् । बाढी नआए पनि सयौं बिघा जमिन पानीले भरिएको छ । खेतमा करिब २.५ फिटसम्म पानी जमेको छ ।
‘नदीको किनार भएर बाँध निर्माण गरेको भए त्यति समस्या हुँदैन्थ्यो । तर खेतको दक्षिणमा रहेको भाडसर गाउँको उत्तरपट्टि पनि बाँध निर्माण गर्दा आफूहरूको खेत डुबानमा परेको छ ।’ खुटौनाका अलिहसन मिकरानीले बताए । नदीको पानी खेतमा जम्दा किसानहरूले पाँच वर्षदेखि खेती गर्न नपाएको मिकारानीले गुनासो गरे । ‘नदी नियन्त्रणका नाममा गाउँ नियन्त्रण गरिएको छ’, मिकरानीले भने, ‘गाउँ बचाउन नदी नियन्त्रण गर्दा आफूहरूको खेत डुबानमा परेको हो ।’ पानी जमेका कारण असारमा रोपिसक्नुपर्ने खेत अझै बाँझै छ ।
‘नदीमा जति पानी आए पनि उच्च भागमा रहेका खेतमा भदौ असोजसम्म रोपाइँ चल्थ्यो’, भाडसरका अनबर मिकारनीले भने, ‘तर जेठमा बाँध निर्माण भएपछि यस वर्षदेखि कुनै खेतमा रोपाइँ हुन सकेको छैन ।’ विगतका वर्षमा गहिरा भेगमा रहेका खेतमा धान नभए पनि दलहन बाली हुन्थ्यो । तर यस वर्ष त्यो पनि भएन । खेतमा पानी सुक्न कम्तीमा ३÷४ महिना लाग्छ । तर दलहन बाली कात्तिकको अन्तिमतिर छरिन्छ ।