नेपाल आइडलमा आइटम आइटमका पात्र
इको नि लाग्यो, अकाउन्ट नि लाग्यो
कैलाली, अत्तरिया, वनखेतकी १७ वर्षीया करिश्मा विष्टले नेपाल आइडल-२ को अडिसनमा आफैँले बनाएको यो र्याप गीत सुनाइन्। उनले विदेशमा रहेका आफ्ना बाबालाई सम्झेर लेखेको कविता पनि सुनाइन् र निर्णायकहरूको मन जितिन्। उनी रातारात भाइरल भइन्। सामाजिक सञ्जालमा उनका ट्रोल बने, अनलाइनहरूले समाचार लेखे। गायनभन्दा बढी उनको र्याप र कविताको चर्चा भयो।
करिश्मालाई गायनमा रुचि छ। उनी कविता लेख्छिन्। भाषण गर्न मन पराउँछिन्। सातआठ कक्षामा पढ्दा स्कुलकी शिक्षिकाले उनलाई गीत गाउन लगाइन्। गीत गाइन्, सबैले मन पराए। त्यसपछि उनको रुचि संगीतमै बढ्यो। उनको समाजमा नाच्नु-गाउनुलाई राम्रो मानिँदैन। 'यो क्षेत्रमा लाग्न घरबाट सपोर्ट छैन,' उनले भनिन्, 'तर, आफ्नो रुचिका कारण गरिरहेकी छु।' उनले नेपाल आइडलको मञ्चमा आफ्नो प्रतिभा प्रस्तुत गरिन्।
अन्तर्राष्ट्रिय फ्रेन्चाइज सिंगिङ रियालिटी सो नेपाल आइडल खासमा गायन प्रतिभाको खोजी गर्ने प्लेटफर्म हो। तर, आइडलमा गायन मात्र होइन, फरक खालका प्रतिभा पनि आउने गरेका छन्। र, त्यही फरक कलाका कारण चर्चामा आउने गरेका छन्। यस पटकको आइडलका काउली बूढी अर्थात् सन्ध्या बुढा, नरेश पातली, जीवन सिटौला, अघिल्लो वर्षका झक्कड थापा, पवनकुमार मिश्र, धिरजकुमार रौनियारले गाएरभन्दा फरक प्रस्तुतिका कारण चर्चा पाए।
सुर्खेतकी सन्ध्या बुढा पहिलादेखि गीत गाउँथिन्। उनले युट्युबमा 'काउली बूढी सो' पनि चलाएकी थिइन् तर उनलाई धेरैले चिन्दैनथे। उनी नेपाल आइडलको अडिसनमा काउली बूढी बनेर देखापरिन्। गीत पनि त्यत्तिकै राम्रो गाइन्। त्यसपछि त उनले निर्णायकको मात्र होइन, सारा दर्शकको मन जितिन्। रातारात भाइरल बनिन्। उनको अन्तर्वार्ता लिनेहरूको भीड लाग्यो। उनको परिचय एकाएक देशभर फैलियो। 'मैले यति चर्चा पाउँछु भन्ने सोचेकै थिइनँ,' उनी भन्छिन्, 'म नर्मल ड्रेसमा गएको भए पनि राम्रै हुन्थ्यो होला तर फरक तरिकाले काउली बूढी बनेर आइडलमा जाँदा चाँडो नोटिस्ड भएँ। देशभर चिनिएँ। विदेशतिरबाट पनि बोलाइरहेका छन्।'
बर्दियाका जीवन सिटौला ठमेलमा बेकरी सञ्चालन गर्छन्। उनले पनि नेपाल आइडलमा फरक तरिकाले गाए। आफैँले कम्पोज गरेका गीत भन्दै कमेडी शैलीमा 'ला ला ला, ना ना ना' सुनाए।। अडिसनमै आउट भए पनि उनको खूब चर्चा भयो। उनको भिडियो पनि सामाजिक सञ्जालमा धेरै हेरियो, सेयर भयो।
बझाङका नरेश पातलीलाई नेपाल आइडल हेर्नेहरूले मात्र होइन, नहेर्नेहरूले पनि चिने। कमर्स पढ्दै गरेका उनले धनगढी अडिसनमा 'ऊ जितेर गई या हारेर गई' यस्तो स्वर र हाउभाउ साथ गाए कि निर्णायकहरू हेरेको हेर्यै भए। उनको गाउने रमाइलो शैलीले खूब चर्चा पायो। कतिले पातलीको क्यारिकेचर गरेर 'म्युजिकल ली' गरे। कतिले उनको जसरी नै गाएर फेसबुकमा भिडियो हाले।
आइडलको अडिसनमा बरु राम्रो गाउनेको कम चर्चा भयो तर फरक कला प्रस्तुत गर्नेहरू हिट भए। गाउनेभन्दा बढी हँसाउनेहरू भाइरल भए। अघिल्लो वर्षको अडिसनमा आएका झक्कड थापाले पनि निर्णायकलाई हँसाए। फरक शैलीमा गाएका उनी पनि युट्युबमा भाइरल बनेका थिए। उनै झक्कड यसपटक फेरि रमाइलो गर्न आउँदै छन्। गत वर्षको आइडलबाट चर्चित बनेका उनी यसपटक नेपाल आइडलमा आउँदै छन् भन्ने चर्चासँगै युट्युब च्यानलहरूले धमाधम अन्तर्वार्ता लिइरहेका छन्।
उनी गाउनेभन्दा रमाइलो गरेका कारण धेरैमाझ चिनिए। उनलाई आफ्नो चर्चा गायनभन्दा बोल्ने तरिका, भाषाका कारण भएको लाग्छ। उनले एउटा अन्तर्वार्तामा भनेको छन्, 'सबैले चिन्छन्। म त हिरो हुँ कि जस्तो लाग्छ। बाटोमा हिँड्दा पनि सबैले चिन्छन्।' आइडलको अडिसनदेखि नै गायनसँगै फरक प्रतिभा भएका धेरै जनाको चर्चा भयो। तर, आइडलको मञ्चमा देखिएका मात्र होइन, नदेखिएका फरक प्रतिभा पनि छन्।
सोमबार बिहानै नेपाल आइडल–२ का प्रतिस्पर्धीहरू बसेको होटल ल्यान्डमार्क पुग्दा उनीहरू खाजा खाँदै थिए। समूहको बीचबाट प्रधानमन्त्री केपी ओलीको जस्तै आवाज आयो, 'हामी घरघरमा ग्यासको पाइप पुर्याउँछौँ।' त्यो आवाज प्रतिस्पर्धी दीपराज खत्रीको थियो। एकैछिनमा सीताराम कट्टेल (धुर्मुस) को आवाज निकाले, अर्का प्रतिस्पर्धी मिलन परियारले। उनीहरूको क्यारिकेचरमा डिसिप्लिन इन्चार्ज सूर्य गुरुङ पनि रमाइरहेका थिए। उनले सुनाए, 'यिनीहरू खूब रमाइलो गर्छन्।'
नेपाल आइडलका निर्देशक सुरेश पौडेल आइडलको अन्तर्राष्ट्रिय प्रचलनमै गायनसँगै रमाइलो गर्ने पात्रहरू पनि छानिने गरिएको बताउँछन्। भन्छन्, 'सिंगिङको बेसमा अलिकति रमाइलो गर्न सक्ने मान्छेलाई पनि छनोट गर्ने परम्परा रहिआएको छ। हामीले पनि त्यसैलाई निरन्तरता दिएको हो।'
टेलिभिजनमा लगातार गीत मात्र आउँदा दर्शकलाई 'मोनोटोनस' नहोस् भनेर रमाइला पात्रहरूको प्रस्तुति पनि राख्ने गरिन्छ। एकछिनको त्यही रमाइलोकै भरमा कतिपय रातारात सेलिब्रिटी बनेका छन्। निर्देशक पौडेलका अनुसार अडिसनभन्दा अगाडि रिसर्चमा जाँदा नै सम्भावित रमाइला पात्रहरू खोजिएको थियो। 'कति यस्ता पात्र आफैँ आउँछन्, कतिलाई हामी आइदिनुस् भनेर बोलाउँछौँ,' निर्देशक पौडेल भन्छन्, 'अडिसन लिइसकेपछि पनि उहाँहरूसँग सल्लाह गरेरै प्रसारण गर्छौं। आपत्ति जनाउनेको प्रसारण गर्दैनौँ।'
अनुभवीदेखि सिकारुसम्म
यसपटक नेपाल आइडलमा सहभागी भएर विभिन्न चरणमा पुगेकामध्ये केही औपचारिक रूपमा संगीत सिकेर आएका छन् भने धेरै अनुभव र आफ्नै अभ्यासले आएका छन्। संगीतप्रति लगाव भएका र आफ्नै मेहनतले लागिपरेकाहरू सफल भएका छन्। रमिता शर्मा संगीत क्षेत्रमा लागेको डेढ वर्ष मात्र भयो तर उनले आफैँ कडा मेहनत गरिन्। भन्छिन्, 'मेहनतले नै म रक, मेटलदेखि भजनसम्म गाउँछु।'
मकवानपुरका दीपराज खत्रीले पनि आर्थिक अवस्थाका कारण औपचारिक रूपमा संगीत सिक्न पाएनन् तर उनले खेतीपाती गर्दै गीत सुने र गुनगुनाए। त्यसो गर्दागर्दै फुर्सद भयो कि अभ्यास गर्ने बानी लाग्यो। धादिङका कृषल कँडेलले पनि संगीत सिकेनन् तर आफैँ भने निकै अभ्यास गरे। त्यसो त आइडलको अडिसनमा 'गोल्डेन माइक' पाएका चितवनका मीनराज पौडेलले पनि संगीत सिकेका छैनन् तर उनले कहिले एक्लै त कहिले साथीहरूसँग धेरै अभ्यास गरे। भन्छन्, 'पहिला नसिकी गाइयो, अहिले आइडलमा संगीतको थेउरी सिकिरहेको छु।'
अघिल्लो वर्ष थिएटर राउन्डमा बाहिरिएकाहरू पनि यसपटक सहभागी छन्। पोखराकी नीलिमा थापा अघिल्लो वर्ष अडिसनबाटै फालिएकी थिइन् तर उनले यसपटक गोल्डेन माइक पाइन्। पहिला थिएटर राउन्डबाट आउट भएका सृजना कार्की, स्वस्तिका ढकाल, सम्राट न्यौपानेलगायत यसपटक राम्रो गरिरहेका छन्। मोरङ, गछियाका मिलन परियार धरान अडिसनबाट आउट भए पनि काठमाडौँ अडिसनमा सफल भए।
कतिपय सहभागी पहिला नै धेरै स्टेजमा गाइसकेकाहरू छन्। कतिपयका आफ्नै ब्यान्ड छन्। पोखराकी सुमन परियार 'स्पुन हाउस' ब्यान्डकी मेन भोकलिस्ट हुन्। रमिता शर्मा पनि 'इनभर्सन' ब्यान्डकी भोकलिस्ट हुन्। पोखराका विक्रम बराल 'अडियो फार्म' र 'साइनाइड' ब्यान्डमा आबद्ध छन्। मीनराज पौडेलको कुनै बेला 'अर्वाचीन' ब्यान्ड थियो। सुविन सिंहको 'अफरोड' छ। उनीहरू जस्तै धेरै अनुभवी र अभ्यास गरेर आएकाहरू यसपटकको आइडलमा प्रतिस्पर्धा गरिरहेका छन्। आइडलका निर्देशकमध्ये एक लोकेश वज्राचार्य भन्छन्, 'यसपटकका प्रतिस्पर्धीहरू मेहनती छन्।'
आफ्नै र परिवारका सपना
आइडलमा आउनेमध्ये कसैको आइडलमा जीत–हार जे भए पनि रकस्टार बन्ने सपना छ। कसैको चाहिँ आइडल जित्नु एक मात्र सपना छ। अनि, कसैका बुबा, आमा, दाजुका सपना पूरा गर्ने चाहना छ।
गोल्डेन माइक पाएका झापाका सुमित पाठकको आफ्नै सपना हो, आइडल जित्ने र सफल गायक बन्ने। झापाकै विश्वास उप्रेती र दोलखाका पवन गिरीकोे पनि उही छ सपना। बुटवलका अमित बरालको चाहिँ बितेका दाजुको सपना साकार पार्नु छ। भन्छन्, 'उहाँ राम्रो गाउनुहुन्थ्यो। गायक बन्ने सपना थियो तर पूरा गर्न पाउनुभएन। परिवारले पनि मलाई दाजुको सपना पूरा गर्न साथ दिएको छ।'
धनगढीका रवि ओड भने हजुरबुबाको सपना पूरा गर्न आइडलमा आएका हुन्। उनका हजुरबुबा गाउनमा गाउँभर नामी थिए। तर, त्यो समयमा यस्ता अवसर थिएनन्। 'मलाई सबैले हजुरबुबाकै रूप हो भन्छन्,' उनी सुनाउँछन्, 'मैले उहाँलाई देख्न नपाए पनि उहाँको सपना पूरा गर्नु छ।'
नेपाल आइडलका निर्देशक एलिन श्रेष्ठ सहभागीहरू आफ्ना सपना पूरा गर्न मेहनत गरेर प्रतिस्पर्धामा लागिपरेको बताउँछन्। भन्छन्, 'अहिले उनीहरू मेहनत गरेर रियाज गरिरहेका छन्। प्रतियोगिता हो, जीत–हार त भइहाल्छ। तर, आफ्नो सपना पूरा गर्छु भनेर सबै लागिपरेका छन्।'
'यो पालि प्रतिभाशाली धेरै छन्'
सुरेश पौडेल, निर्देशक, नेपाल आइडल
नेपाल आइडल-२ को प्रतिक्रिया कस्तो पाइरहनुभएको छ ?
युट्युबमा हाम्रो सस्क्राइब र हेर्नेहरूको संख्या बढिरहेको छ। सबैले राम्रो छ भनेर प्रतिक्रिया दिएका छन्। हामीले कन्टेन्टमा बल गरिरहेका छौँ। पात्रहरू पनि त्यस्तै छनोट गरेका छौँ। आउँदो एपिसोडमा हामीले झक्कड थापालाई पनि लिएर आएका छौँ भने त्यसपछि गत वर्षका विजेता बुद्ध लामाको नयाँ भिडियो पनि सार्वजनिक गर्दै छौँ।
पहिलेभन्दा के फरक छ यसपटक ?
दर्शकले दिएका प्रतिक्रियाका आधारमा केही परिष्कृत भएको छ। प्रोडक्सन अझै राम्रो भएको छ। केही कन्टेन्ट थपिएका छन्। जस्तो, भैरहवामा जजहरूको टेन्सन देखायौँ भने पोखरामा एक जना सिंगरलाई च्यालेन्ज देखायौँ। केही न केही फरक गरिरहेका छौँ।
अडिसनका क्रममा विभिन्न ठाउँ पुग्दाको अनुभव कस्तो रह्यो ?
यत्रो बन्द, हडताल भइरहने बेला हामीले दुवै पल्टका अडिसनमा ४०/४५ दिनसम्म बाहिर हिँड्दा कतै केही समस्या भएन। हामी लक्की छौँ। अघिल्लो वर्ष विराटनगरमा एक जना भेटिएका थिए। उनले 'तपाईंहरू नै हो आइडल गर्ने ?' भनेर सोधे। हामीले 'हो' भन्यौँ। उनले 'गर्दा त राम्रो हो तर म्युजिक पनि नेपाल आइडलको चोर्ने, लोगो पनि चोर्ने ? चोर्न त चोर्नु यति हदसम्म नचोरेको भए हुन्थ्यो' भने। हामीले फ्रेन्चाइज भनेर बुझाउनै सकेनौँ। अहिले त धेरै नेपाली दशर्कले बुझिसकेका छन्।
यसपालिका सहभागी कस्ता छन् ?
निर्णायकहरूको कुरालाई आधार मान्दा यसपालि पहिलाभन्दा धेरै प्रतिभाशाली प्रतिस्पर्धी आएका छन्।
प्रतियोगिता गायनको तर चर्चा अन्य प्रतिभा भएका सहभागीको भइरहेको छ नि ?
आइडल आधारभूत रूपमा गायन प्रतियोगिता हो तर आइडलको विश्वव्यापी ट्रेन्ड हेर्ने हो भने यसमा सिंगरहरू मात्र आउँदैनन्। सिंगिङको बेसमा अलिकति रमाइलो गर्न सक्ने मान्छेलाई पनि छनोट गर्ने परम्परा रहिआएको छ। हामीले पनि त्यसैलाई निरन्तरता दिएका हौँ।
गायनमा यस्तो आवश्यक छ र ?
निरन्तर गीत राख्दा दर्शकलाई पनि मोनोटोनस नहोस् भनेर हाँसोको कुरा र गायनलाई नै बेस बनाएर रमाइला कुराहरू आऊन् भन्ने उद्देश्य हो। त्यसरी आउँदा पनि यो ब्रान्ड र नामका कारण उनीहरू चर्चाको शिखरमा पुगेका छन्।
पहिलो चरणको अडिसनका क्रममा म्युजिक टिचरहरूलाई हामीले एउटा क्यारेक्टर पनि हेर्नू, अर्को रियल सिंगर पनि हेर्नू भनेका हुन्छौँ। रमाइलो पनि गायनलाई नै बेस मानेर गरिएको होस्। जस्तो, पहिला झक्कडले गाए, यसपालि नरेश पातलीले गाए।
यसरी हाँसोको पात्र बनाउनु उचित हो त ?
कसैले आपत्ति जनाउँछन् भने हामी त्यसलाई देखाउँदैनौँ पनि। यसपालि पोखरामा त्यस्तै भएको थियो। एक जना प्रहरीको श्रीमती हुनुहुँदो रहेछ। उहाँले हाँसउठ्दो पारामा गाउनुभयो। उहाँको क्लिप राख्ने भनिएको थियो। पछि उहाँको श्रीमान् आएर 'यसलाई नराखिदिनुहोला, मैले बुझेँ, तपार्इंहरूले क्यारेक्टरका रूपमा राख्नुभएको रहेछ' भनेपछि हटाइदियौँ। तर, हँसाउनका लागि आउनेहरू पनि धेरै हुँदा रहेछन्। राम्रो गाउनेहरूको पनि एक्स्ट्रा ट्यालेन्ट छ।
'राम्रो गाउने आउट हुँदा नरमाइलो लाग्छ'
एलिन श्रेष्ठ, निर्देशक, नेपाल आइडल
आइडलका प्रतियोगीमा गायनसँगै विभिन्न प्रकारका प्रतिभा छन्। उनीहरू बाहिर घुमाउन लैजाँदा क्यारिकेचर गरेर सारै रमाइलो गर्छन्।कति जना काठमाडौँ पहिलो पटक आएका छन्। उनीहरूलाई भक्तपुर, स्वयम्भू, रमाइलो मेला घुमायौँ। पिज्जा नचाखेकालाई चखायौँ। अब तीजको दर खुवाउँदै छौँ। उनीहरू घरदेखि टाढा भए पनि अभिभावकजस्तो भएर उनीहरूका दुःखसुख सुन्ने गरेका छौँ।
सुरुमा आउँदा उनीहरू अलि अप्ठ्यारो मान्ने गर्थे। अहिले सहज मान्छन्। रियाजमा पनि बढी समय दिन थालेका छन्। राम्रो गाउनेहरू आउट हुँदा नरमाइलो लाग्छ। तर, प्रतियोगिता हो, सबैलाई राख्न पनि सकिँदैन। आइडलबाट आउट भए पनि उनीहरूले बाहिर गएर राम्रो गर्न सक्छन्, कतिले गरिरहेका छन्। नेपाल आइडलले प्रतिभालाई राम्रो प्लेटफर्म दिएको छ। यहाँ जित्ने मात्र होइन, नजिते पनि राम्रो प्रतिभा देखाउनेले चर्चा पाएका छन्, सेलिब्रिटी बनेका छन्।
'एडिट गर्दा आँशु आयो'
लोकेश वज्राचार्य,निर्देशक, नेपाल आइडल
मैले आइडलको पोस्ट प्रोडक्सन, साउन्ड लगायतको पाटो हेरिरहेको छु। हामीले पहिलाभन्दा प्राविधिक रूपमा धेरै सुधार गरेका छौँ। अझै सुधार्न सकिने ठाउँ धेरै छन्। यसपटक सहभागीहरू धेरै सिकेर आएका, राम्रो गाउने छन्। टप २० मा पुग्नेहरूको गाना सुन्दा टप १० हो कि जस्तो लाग्छ। गायनसँगै अरू प्रतिभा पनि छ उनीहरूसँग। जस्तो, करिश्माको गायन सेकेन्डरी हो। उनको लेखन राम्रो छ।
मैले भिडियो एडिट गर्दा कसैको पारिवारिक, आर्थिक अवस्था र दुःख देख्दा आँशु आउँछ। भावनामा बगेर यसले राम्रो गर्न सकोस् जस्तो लाग्छ। तर, जसले राम्रो गाउँछ, उही माथि पुगोस् भन्ने सोच्छु।