कैलालीको लम्कीबाट ब्राउन सुगरसहित वृद्धा पक्राउ
टीकापुर : कैलालीको लम्की चुहा नगरपालिका-१ बाट १९ पोका ब्राउन सुगरसहित एक वृद्धा पक्राउ परेकी छिन्। ईलाका प्रहरी कार्यालय लम्कीले ६८ वर्षीया जनादेवी शाहीलाई १९ पोका ब्राउन सुगर र ३ सय ग्राम चरेससहित पक्राउ गरेको हो।
ठेलामा फलफूलको व्यापार गर्दै आएकी उनलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय लम्किका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले बताए। शाहीले ठेलाबाटै ब्राउन सुगरको कारोबार गर्दै आएको प्रहरीले जनाएको छ।
शाहीलाई लागुपदार्थ ऐनअन्तगर्त मुद्दा चलाउने तयारी भइरहेको छ। पछिल्लो पटक कैलालीमा लागू पदार्थको कारोबारमा वृद्धि भएको छ।लम्की क्षेत्रमा अन्य व्यक्ति समेत कारोबारमा संग्लन भएको हुनसक्ने भन्दै प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ।