साफ च्याम्पियनसिप: नेपाल र भुटानको रोचक प्रतिस्पर्धा, नेपाल ३, भुटान शून्य
काठमाडौं : साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल र भुटानबीचको खेल रोचक बनेको छ । पहिलो हाफमा १ गोलको अग्रता लिएको नेपालले दोस्रो हाफमा दुई गोल गरेको हो ।
पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भएको नेपालले भुटानविरुद्ध आकर्षक खेल प्रदर्शन गरेको हो ।
नेपालका लागि पहिलो गोल अनन्त तामाङले गरे । दोस्रो हाफमा नेपालले पेनाल्टीको अवसर पाएको हो । भुटानका १५ नम्बरका खेलाडी निमा वाङ्दीले रेड कार्ड पाए ।
नेपाली खेलाडीलाई लडाएपछि नेपालले पेनाल्टीको अवसर पायो । नेपालको पेनाल्टी बिमल घर्तीमगरले हानेको पेनाल्टी भुटानका किपरले सहजै रोके । तर, उनले फालेको बललाई नेपालका ९ नम्बर जर्सी सुनिल बलले गोलमा परिणत गरेका हुन् ।
७८ मिनेटमा भरत खवासले नेपालका लागि तेस्रो गोल गरेका हुन्।
तुलनात्मक रूपमा भुटान नेपालका लागि कमजोर प्रतिद्वन्द्वी मानिन्छ। यद्यपी भुटानले पछिल्लो समय फुटबलका राम्रो गरिरहेको थियो ।
रुस विश्वकपको प्रारम्भिक छनोट खेलमै भुटान नेपालभन्दा निकै अब्बल ठहरिएको थियो। यद्यपि नेपाल र भुटानबीचको अघिल्ला भिडन्तमा नेपालले सफलता हात पार्दै आएको छ।
सन् १९८४ मा भएको सार्कस्तरीय फुटबल प्रतियोगितादेखि भुटानसँग अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको नेपालले अहिलेसम्म भुटानलाई हराइरहेको छ। नेपाल र भुटानबीच हालसम्म भएका १२ वटा भिडन्तमा नेपालले सबैमा सफलता हात पारेको छ।
नेपालले पछिल्लो पटक सन् २०११ मा भुटानसँग दुईवटा मैत्रीपूर्ण फुटबल खेलेको थियो। जसमा नेपालले पहिलो खेल १–० र दोस्रो खेल २–१ ले जितेको थियो। तर यसबीचमा भुटानको फुटबल स्तर धेरै माथि गएको छ।