राष्ट्रिय मानवअधिकार आयोगको राष्ट्रव्यापी अभियान कञ्चनपुरबाट सुरु
महेन्द्रनगर : महिला हिंसा न्यूनीकरण, मानवअधिकारको संरक्षण एवं सुरक्षा र नेपाल प्रहरीको जवाफदेहिता विषयक राष्ट्रिय अभियान महेन्द्रनगरबाट सुरु भएको छ । नेपाल प्रहरीसँगको सहकार्यमा राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रव्यापी अभियान सुरु गरेको हो । आयोगले ७ वटै प्रदेश र काठमाडौंमा अभियान अन्र्तगत कार्यक्रम गर्दैछ ।
महिला हिंसाको अवस्था, न्यूनीकरण, मानवअधिकारको संरक्षण र सुरक्षाको अवस्था र नेपाल प्रहरीको जवाफदेहिताका विषयमा देशैभर कार्यक्रम हुन लागेको आयोगका सदस्य एवं प्रवक्ता मोहना अन्सारीले बताइन् । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मी सहितका सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा राष्ट्रव्यापी अभियान सुरु भएको हो ।
७ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहको प्रमुख आतिथ्यमा कार्यक्रम सुरु भएको हो । कार्यक्रममा ७ नम्बर प्रदेशका ९ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, मानवअधिकारका क्षेत्रमा कार्यरत संघसंस्था, नागरिक समाज लगायत महिला हिंसाका क्षेत्रमा कार्यरत संघसंस्थाहरुको सहभागिता रहेको छ ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग र प्रहरी प्रधान कार्यालयले अहिलेसम्मको महिला हिंसाको अवस्था, घटना र मानवअधिकारको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । आयोगले ७ नम्बर प्रदेश पछि अन्य प्रदेश र काठमाडौंमा कार्यक्रमको आयोजना गर्ने जनाएको छ।