डान्स पार्टीमा मग्न धरान

डान्स पार्टीमा मग्न धरान

डान्स पार्टीमा अभिभावक

एक दशकअघिसम्म घरबाट लुकीलुकी डान्स पार्टी जाने धरानका युवा अहिले निर्धक्क सपरिवार मध्यरातसम्म पार्टीमा नाच्छन्। त्यसबेला टिनएजर्सको बाहुल्य हुने पार्टीमा अहिले व्यवसायी, बैंकर्स, डाक्टर, नर्स, शिक्षकको उपस्थिति पनि बाक्लिन थालेको छ। पहिले डान्स पार्टीलाई ‘विकृति’ का रूपमा हेर्नेहरू अहिले ‘रिफ्रेसमेन्ट’ मान्छन्। धरानका डीजे ललित भन्छन्, ‘अहिले अभिभावक पनि धेरै खुल्ला भएका छन्। छोराछोरीलाई पार्टीमा पुर्‍याउन र लिन आउने पनि छन्।’

धरानका अग्रज पुस्ता आफ्नो संस्कार-संस्कृतिको संरक्षणमा लागेका छन्, अर्काेतिर उनीहरूकै सन्तान ‘ग्लोबलाइजेसन’ भन्दै ज्याज, साल्सा नाचिरहेका छन्। पुस्तान्तरण हरेक समय भइरहेको हुन्छ। अहिलेको युवा पुस्ताको खुल्लापन पनि खास फरक होइन, पुरानो पुस्तालाई असहज र अनौठो लागेको मात्र हो। युवा पुस्तालाई नचाउन क्लब डोम सञ्चालन गरिरहेका डीजे बाबा भन्छन् ‘अहिलेको पुस्ताले संसार बुझेको छ त्यसैको फलो गर्छ। त्यसमा कसैले आपत्ति मान्नुपर्दैन। अरूलाई असर नगरी आफ्नो खुसीमा रमाउने अधिकार सबैलाई हुन्छ।’

धरानकी इक्सा मादेन त्यहाँ हुने विभिन्न पार्टी, कन्सर्टजस्ता कार्यक्रममा सहभागी हुन्छिन्। कतै साथीसँग नाच्छिन्, कतै कार्यक्रम सञ्चालन गर्छिन्। मिस पूर्वाञ्चल, मिस ग्रान्ड नेपाल इन्टरनेसनलमा फस्ट रनरअप बनेकी उनी फेसनेवल छिन्। उनि आधुनिक फेसन मन पराउँछिन्। ‘पढाइसँगै फुर्सदमा साथीसँग रमाउँछु, इन्ज्वाय गर्छु,’ उनी भन्छिन्, ‘जीवन हुन्जेल त हो रमाइलो गर्ने। त्यसैले बिन्दास भएर रमाउन मन लाग्छ।’

सरूपा थापामगर पनि धरानमा आयोजना हुने प्रायः पार्टी छुटाउँदिनन्। उनी विभिन्न फेसन सो, पार्टीदेखि ब्युटी प्याजेन्टमा साथीसँग पुग्छिन्, नाच्छिन्, रमाइलो गर्छिन्। थुप्रै कार्यक्रममा उनी आफैं पनि नाच्छिन्। कतै पार्टीको होस्ट गर्छिन्, कतै कन्सर्टको। विभिन्न ब्युटी प्याजेन्टमा भिडेकी उनी सुनाउँछिन् ‘आफ्नो संस्कृति पनि बिर्सिएकी छैन तर आधुनिक जीवनशैलीमा पनि खुलेर रमाउन चाहन्छु। अहिलेको ट्रेन्डलाई पछ्याउँछु।’

इक्सा र सरूपाजस्तै धरानका युवाहरू खुलेरै रमाइलो गर्छन्। लाउने, खाने, नाच्ने, गाउने, रमाइलो गर्नेमा धराने युवा पुस्ता निकै अगाडि छ। धरान आधुनिक फेसनेवल सहरका रूपमा परिचित छ। यहाँको युवा पुस्ता बिन्दास छ। पार्टीमा रमाउने युवा पुस्ता प्रशस्तै छन्। पहिले धरानमा हरेक साताजसो खुल्ला मैदानमा डान्स पार्टी हुन्थ्यो। डिजेको तालमा सयौं युवा एकसाथ खुल्ला मैदानमा नाच्थे, रमाउँथे। पछिल्लो समय धरानमा बग्रेल्ती खुलेका रेस्टुरेन्ट, क्लब, बारले ती युवालाई आकर्षित गरेका छन्। अचेल खुल्ला मैदानमा थोरै र बार क्लबमा धेरै डान्स पार्टी हुन्छन्।

धेरै धरानेका आफन्त बेलायत, हङकङ र सिंगापुरमा छन्। त्यहाँको फेसन सीधै धरान भित्रिन्छ। धरानको त्यो जमात फेसनेवल बन्न, पार्टी र कन्सर्टमा रमाउन चाहन्छ। उनीहरू आधुनिक जीवनशैली सबैले पछ्याउनुपर्ने बताउँछन्। इक्साको तर्क छ ‘अहिलेको संसार साँघुरो छ, एकैछिनमा संसार बुझ्न सकिन्छ। हामी संसारका अरूले जस्तै जीवनशैली अपनाउन किन नसक्ने? ’

म्युजिकल कन्सर्ट

वर्तमान पुस्ता आफ्नै संसारमा रमाउने किसिमको छ। आफ्नै मनमौजी खानपिन, आफ्नै शैलीको लवाइ, आफैंले बनाएका नयाँ नयाँ शब्दाबली मिसाएको बोली। नयाँपुस्ता इन्टरनेट, टेलिभिजनका कारण छिनमै संसारको ट्रेन्ड बुझ्न सक्छ। संसारमा भएका अभ्यास गर्न चाहन्छ। युवा पुस्ताका यस्ता हर्कत मन नपराउने अभिभावक पनि प्रशस्तै छन्। युवा र पौढ पुस्ताबीच सधैं जेनेरेसन ग्याप हुन्छ। विचार मिल्दैन, खानपान मिल्दैन, लगाउने लुगा मिल्दैन, सुन्ने संगीत मिल्दैन।

धराने युवा पुस्ताको रमाइलो गर्ने अनेक बहाना छन्। भ्यालेन्टाइन-डे सकिन नपाउँदै शिवरात्रि कहिले आउला भन्ने हतार हुन्छ। नयाँ वर्ष सकिन नपाउँदै अर्को रमाइलो गर्ने अवसरको पर्खाइमा हुन्छन्। ‘आज पार्टी छ है’ साथीहरूले यति भनेपछि कुरा बुझिहाल्छन् उनीहरू। त्यसपछि योजना बन्छ, कसरी जाने, को को जाने। साथीहरूस“ग जम्मा भयो, बाइक स्टार्ट गर्‍यो अनि हुइँकियो पार्टीतिर।

विशेषगरी भ्यालेटाइन डे, नेपाली नया“ वर्ष, अंग्रेजी नया“ वर्ष, शिवरात्रि, फ्रेन्डसिप डे, क्रिसमस, दीपावली र दसैं युवाको डान्स पार्टी गर्ने विशेष अवसर हुन्। पछिल्लो समय खुलेका क्लब, बारले हरेक शुक्रबार र यस्तै अवसरमा युवाहरूलाई नचाउने गरेको छ। कसैलाई त कुनै अवसरै चाहिँदैन, सधैं अवसर। अहिले अन्य सांगीतिक कार्यक्रममा पनि डान्स पार्टी खोज्न थालेका छन् युवा पुस्ता।

धराने पार्टीप्रेमीलाई नचाउने डीजेहरू ललित, बाबा, सुभो, याख्खा, रास्पा, टेक्नो, लाक्पा, द पेस, आवाजलगायतले हाइभोल्टेज म्युजिक बजाउँछन्। त्यसबाहेक विभिन्न अवसरमा काठमाडौंका डीजे राजु, विम्यान, रूपेश, तेञ्जिङ, पायल, ललिता पनि धरान आइपुग्छन्।

धराने युवा पुस्ताको रमाउने बहाना डान्स पार्टी मात्र होइन। उनीहरू म्युजिकल कन्सर्टमा पनि उत्तिकै झुम्मिन्छन्। धरानमा ठूल्ठूला कन्सर्ट आयोजना हुन्छन्। तिनमा नाच्न पुगिहाल्छन्। कुनै बेला धरानमा धेरै कन्सर्ट हुन्थे। अहिले कन्सर्टका संख्या घटे पनि युवाहरूको म्युजिक-क्रेज घटेको छैन। कन्सर्टमा गएर नाच्ने मात्र होइन, आफैं गाउने युवाको संख्या पनि निक्कै छ। धेरैले रक, मेटल ब्यान्ड खोलेका छन्। कतिले आधुनिक गाएका छन्।

बिवोइङ र हिपहप

धराने युवा पुस्ता हिपहप कल्चरमा पनि रमाउँछ। बिवोइङ, बिगर्लहरू हिपहप प्रतियोगिता गर्छन्। कहिले सडकमै हिपहप नाच्छन्। उनीहरू देशविदेशसम्म हिपहप लिएर पुग्ने गरेका छन्। धरानमा बिवोइङको प्रवद्र्धन गर्ने युवा सौरभ श्रेष्ठ भन्छन् ‘यहाँ धेरैै युवा हिपहप मन पराउँछन्। उनीहरूले अवसर पाए धेरै राम्रो गर्न सक्छन्।’

साँझतिर धरानको बगरकोटमा सडकमै बुङबुङ चुरोट उडाउँदै गरेका टिनएजर्स, रेस्टुरेन्टमा मदिराको तालमा नाचिरहेका युवती, क्लब र डान्स पार्टीमा जोडी बाँधिएर नाच्ने युवायुवती देख्दा उनीहरूलाई कसैको वास्ता छैन जस्तो लाग्छ। रेस्टुरेन्ट पुगेर चुरोट, वाइन, बियर पिउनु, नाच्नु धराने युवाको जीवनशैली हो। धरानका बूढासुब्बा मन्दिरतिर साँझपख गए यस्तै युवायुवती भेटिन्छन्। बिहान कलेज पहिरनमै सिंहदेवी मन्दिरबाट दन्तकाली मन्दिरतर्फ जाने उकालो बाटोमा सिँढीभरि खुल्लमखुल्ला माया साट्ने देखिन्छन्। बाटो हिँड्दाहिँड्दै एकअर्कालाई चुम्बन गर्नु धरानको लागि सहज क्रियाकलाप हो।

बढी खुल्ला समाज भएकै कारण कतिपय धराने युवाहरू लागुऔषधको नशामा फसेका छन्। कतिपय युवा बिन्दास बन्ने धुनमा यस्तो नशामा फसेका छन्। धरानका युवाबारे बुझेका अध्यापक मोहन श्रेष्ठ अभिभावकले गाइड गर्न नसक्दा कतिपय युवा कुलतमा फस्ने गरेको बताउँछन्। भन्छन् ‘छोराछोरीलाई स्वतन्त्रता दिनु ठीक हो तर बेलाबेला गाइड पनि गर्नुपर्छ।’

भर्चअल रोमान्स

कलेज पढ्ने टिनएजर विद्यार्थीका लागि भर्चुअल रोमान्स पनि लागुऔषधजस्तै कुलतका रूपमा विकास भइरहेको छ। फेसबुकजस्ता सामाजिक सञ्जालमार्फत यौन-गफ र अश्लील तस्बिर साटासाट भइरहेकै हुन्छ। कक्षामै विद्यार्थीहरू सांकेतिक रूपमा यौन गफ गर्छन्। कलेजका कक्षा यौन गफ गर्ने स्थल बनेपछि धेरै कलेजले कक्षामा मोबाइल प्रतिबन्ध लगाएका छन्। क्लास बंक गरेर डेटिङ जानेको संख्या पनि उस्तै छ। विज्ञहरूका अनुसार, भर्चुअल सेक्स अप्राकृतिक यौनको एउटा रूप हो। भर्चुअल संसारका क्रियाकलापले मान्छेलाई असामाजिक बनाउँछ। मानिसलाई भावनात्मक रूपमा पनि कमजोर बनाउँछ भने उसमा मानवीयता पनि हराउँदै जान्छ। त्यसले मान्छेलाई आपराधिक बाटोमा डोर्‍याउने खतरा हुन्छ। मनोविज्ञ डा.धनरत्न शाक्य अप्राकृतिक क्रियाकलापमा रमाउनेमा मानसिक समस्यासमेत निम्तिन सक्ने खतरा भएको बताउँछन्। उनका अनुसार, मान्छे असामाजिक बन्दै गएपछि उसमा भावना हराउँदै जाने र आफ्नै जीवनको समेत माया लाग्न छाड्ने र त्यस्ताले आवेगमा अरूको ज्यान लिन सक्ने वा आफैं आत्महत्या गर्न सक्ने सम्भावना पनि हुन्छ। उनी भन्छन् ‘प्रकृतिलाई चुनौती दिनु ठीक होइन, प्रकृतिविरुद्ध नगएकै वेश हुन्छ। युवा पुस्ता पनि बिन्दास बन्ने नाममा अप्राकृतिक बन्नु गलत हुन्छ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.