महिनावारीको समयमा विद्यालयबाट वञ्चित

महिनावारीको समयमा विद्यालयबाट वञ्चित

(फूलकाहा) महोत्तरी : महोत्तरीको गौशाला नगरपालिका–६ फूलकाहास्थित श्री माध्यमिक विद्यालय भेडियाहीमा अध्ययनरत छात्राहरू महिनावारीको समयमा विद्यालय जानबाट वञ्चित हुने गरेका छन् । विद्यालयमा शौचालयको व्यवस्था हुन नसक्दा छात्राहरू महिनावारीको समयभर विद्यालय जाँदैनन् ।

उक्त विद्यालयमा सात सय ३३ जना विद्यार्थी अध्ययरत छन् । जसमध्ये तीन सय २२ जना छात्रा छन् । त्यसमा पनि कक्षा ६ देखि १० सम्म एक सय ९० जना छात्राहरू रहेका प्रधानाध्यापक रामएकवाल यादवले जानकारी दिए । विद्यालयमा सेनेटरी प्याड र शौचालयको अभावमा छात्राहरू महिनावारीको समयमा घरमै बस्न बाध्य छन् । ‘महिनावारी हुँदा हामी विद्यालय आउन सक्दैनौं’, कक्षा १० की छात्रा रुवीकुमारी चौरसियाले भनिन्, ‘विद्यालयमा चर्पी र प्याड चेन्ज गर्ने ठाउँ छैन । त्यसैले घरमा बस्नुपर्ने बाध्यता हुन्छ ।’ महिनावारीको समयमा विद्यालय आउन नपाउँदा पढाइ प्रभावित हुने गरेको कक्षा १० की अर्की छात्रा रंगीलाकुमारी यादवले बताइन् । ‘स्कुलमा खानेपानी र शौचालय छैन । दिसा पिसाब गर्न विद्यालय पछाडिको बाँस भएको झाडीमा जानुपर्छ ।’ बस्ती नजिकै विद्यालय हुँदा बाँसको झाडीमा शौच गर्न पनि छात्राहरूलाई समस्या हुने गरेको छ ।

कक्षा ९ की छात्रा राधाकुमारीले भनिन्, ‘४५ मिनेन्टको घण्टी हुन्छ । बाहिर शौच गर्न जानुपर्दा पढाइ छुट्छ ।’ विद्यालयका शिक्षक, झाडीमा शौच गर्नुपर्दा निकै समस्या हुने उनले बताइन् । ‘शौंचाल अभावमा पढाइ प्रभावित भएकाले छात्रभन्दा छात्राहरू पढाइमा कमजोर भइरहेका छन्’, विद्यालयका शिक्षक दिलीप यादवले भने, ‘अधिकांश छात्रा परीक्षामा फेल हुन्छन् ।’ विद्यालयमा रहेको दुई वटा शौचालय जीर्ण भइसकेकोले विद्यालयको शैक्षिक क्रियाकलपामा असर पर्ने गरेको उनले जनाए ।

‘विद्यालयमा हामी ६ घण्टा बस्छौं । तर चाहेर पनि हामी एक गिलास पानी खान पाउँदैंनौं’, शिक्षिका कान्तिदेवी यादवले भनिन्, ‘पानी खाए शौच गर्न कहाँ जाने भन्ने चुनौतीले प्यास लागे पनि पानी खान सक्दैंनौं ।’ विद्यायलमा छात्राहरूका लागि सेनेटरी प्याड र वास सेन्टरको व्यवस्था विद्यालयले गर्नुपर्ने जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका शत्रुधन यादवले बताए ।

विद्यालयमा एउटा हातेकल छ । पानीमा बालुवा आउने भएकाले पानी पिउन योग्य छैन । विद्यालयमा मावि तहमा एक जना शिक्षक पनि छैनन् । अधारभूत तहका शिक्षकबाट जेनतेन पढाइ हुँदै आएको छ । शिक्षक अभावका कारण अभिभावकले सन्तानलाई बजारमा सञ्चालित कोचिङ सेन्टरमा पढाउने र परीक्षामा मात्रै सहभागी गराउने गरेका छन् । शैक्षिक सत्र सुरु भएको पाँच महिना बित्न लाग्दासमेत शिक्षक अभावमा कक्षा ९ मा ऐच्छिक गणित र जनसंख्या तथा वातावरण विषयको एउटा पनि पाठ पढाइ नभएको विद्यार्थी इसाकुमारी यादवले बताइन् । ‘स्कुलमा चार घण्टीबाहेक पढाइ नै हुँदैन’, उनले भनिन् ।

कक्षा ९ मा अध्ययनरत राधा यादवका अनुसार गत वर्ष कक्षा ८ मा कम्प्युटर, स्वास्थ्य र पेसा विषय एक दिन पनि पढाइ भएन । पढाइ नभएपछि विद्यार्थीहरूले परीक्षा दिएनन् । शिशु कक्षाको अवस्था झनै नाजुक छ । वर्षाका बेला कक्षाकोठामा भल पस्ने गरेको छ । त्यस्तै डेस्कबेन्च अभावमा विद्यार्थीहरू भुइँमा बसेर पढ्न बाध्य छन् । कक्षाकोठा र शिक्षक अभावमा कक्षा ४ र ५ को पढाइ एउटै कक्षामा हुने गरेको छ । ‘शिक्षा विकास तथा समन्वय इकाइ महोत्तरीमा बजेट छैन । विद्यालय विकासको सबै जिम्मेवारी स्थानीय सरकारमा गएको छ’, महोत्तरी इकाइ प्रमुख यादवले भने, ‘विद्यालय सुधार्न समुदाय र स्थानीय सरकारले ध्यान दिनुपर्छ ।’

गौशाला नगरपालिका–६ का वडाध्यक्ष नथुनी राउतले विद्यालय सुरधारका लागि आठ लाख रुपैयाँ बजेट छुट्याइएको जानकारी दिए । ४० हजार लागतमा हातेकल गाडिएको उनले दाबी गरे । विद्यालयमा दुईकोठे शौचालय बनाउन सुरु गरिएको वडाध्यक्ष राउतले जनाए । ‘एक महिनामा शौचालय निर्माण सम्पन्न हुन्छ । खानेपानीको समस्या छैन’, उनले भने, ‘पानी पिउनयोग्य छैन भने त्यो समस्या समाधान गर्छौं ।’ शिक्षक अभावमा पढाइ प्रभावित हुने गरेको कुरा उनले स्वीकार गरे । दुई वर्षअघि तत्कालीन जिल्ला शिक्षा कार्यालय महोत्तरीले माध्यमिक तहमा तीन शिक्षक पठाएका थिए । पछि एक एक गरी काज सरुवा गरेपछि विद्यालयमा मावि तहमा पढाउने शिक्षकको कमी भएको उनले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.