म संगीत सिक्दै गरेको विद्यार्थी

म संगीत सिक्दै गरेको विद्यार्थी

चर्चित संगीतकार न्ह्यु वज्राचार्य नेपाल आइडलको निर्णायक मण्डलका एक सदस्य हुन्। ‘फूलको आँखामा,’ ‘लैजा चरी’, ‘सय थरी बाजा एउटै ताल’, ‘ओराली लागेको’जस्ता चर्चित गीतमा संगीत भरेका वज्राचार्यसँग अजवी पौड्यालले कुराकानी गरेकी छन् :

तपाईं आफूलाई कसरी चिनाउन रुचाउनु हुन्छ ?

पहिलो प्रश्न नै एकदम गाह्रो आयो। भन्ने म हो कि मेरो नाम मात्र हो म झुक्किरहन्छु। मान्छेलाई अरूले सजिलै चिन्न सक्छ तर आफैंले चिन्न गाह्रो हुँदो रैछ। मेरो नजरमा म खै, को हो को ? थाहा छेैन। संगीत गर्छु, त्यति मात्र भन्न आउँछ मलाई। अरू केही काम गर्न आउँदैन। त्यसैले पनि संगीत गर्न आएको होला। यसैमा इन्गेज्ड भएँ। संगीत सिक्दै गरेको विद्यार्थी हुँ। अरूहरूले संगीतकार भन्छन् क्यारे।

संगीत गर्न आएको हो कि तपाईंले जबर्जस्ती आउने बनाएको ?

आफैं आएको जस्तो लाग्छ मलाई। संगीत आएको बनाउन धेरै गाह्रो छ। संगीत बजाउन बरु सिक्न सकिन्छ। तर संगीत सिर्जना भन्ने कुरा आफैंमा भित्रैदेखि आउनुपर्छ भन्ने लाग्छ।

तपाईंको बाल्यकाल कस्तो थियो ?

काठमाडौं, न्युरोडको ओमबहालमा मेरो बाल्यकाल बित्यो। मेरो बुवा परमानन्द वज्राचार्य लेखक हुनुहुन्थ्यो। नेवार भाषाको साहित्यमा उहाँको नाम अग्रपंक्तिमा आउँछ। आमाले हार्मोनियम बजाउनुहुन्थ्यो। मेरो बाजेको पालादेखि नै मेरो घरमा हार्मोनियम थियो। घरमा सांगीतिक वातावरण थियो।

सुरुमा बालसेवा भन्ने स्कुलमा पढेँ। स्कुलबाट भागेर फिल्म हेर्न जानेमा पहिलो नम्बरमा पर्थें। स्कुलका सरहरूले पनि मलाई भाग्छ भनेर पछिसम्म पनि शंका गरेनन्। मैले धेरै पटक स्कुल चेन्ज गरे। साथीहरू धेरै थिए मेरा।

संगीत यात्रा कसरी सुरु भयो नि ?

म सात÷आठ वर्षको हुँदा आमाले मलाई माउथ हार्मोनियम किन्दिनु भएको थियो। मुखमा राखेर बजाइरहन्थें। त्यही माउथ हार्माेनियम खेल्दाखेल्दै मैले अनौठा अनौठा धुन निकाल्न सिके। मलाई अत्यन्त खुसी लाग्यो। गाउँ टोलमा पनि सांगीतिक कार्यक्रम भइरहन्थ्यो। त्यहाँ गएर बजाउने गर्थे। सबैले तारिफ गर्न थाले। यसरी सानैबाट संगीत यात्रा सुरु भयो।

सुरुमा त मेरो क्षमता देखेर परिवार पनि खुसी थिए। तर विस्तारै मेरो लगाव बढ्दै जान थालेपछि पढाइ बिगार्ला कि भनेर चिन्तित हुन थाले। संगीत पेसा नै बन्न सक्छ भन्ने माहोल आइसकेको थिएन।

घरमा बसेर म्युजिकमा लागेर बिग्रिने भो भनेर बुवाले मेरो स्कुल चेन्ज गरिदिनुभयो। फर्पिङको त्रिभुवन आदर्श भन्ने बोर्डिङ स्कुलमा राखिदिनुभयो। त्यही होस्टलमा बस्नुपर्ने भो। त्यस्तै २०३४ सालतिरको कुरा होला। त्यहाँको धुव्र भन्ने हेडसर थिए। उनी कडा स्वभावका तर संगीत मन पराउँथे। गितार सिकिरहेका अर्को एकजना सर पनि थिए। मलाई म्युजिक मनपर्छ भन्ने थाहा पाएर उनले मलाई गितार बजाउन सिकाए। त्यसपछि संगीतमा मैले अझ राम्रो गर्न थाले।

आफ्नो कामबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

धेरै गीतहरूमा संगीत गरे। केही गीतमा आवाज पनि दिएको छ। तर आफूलाई म्युजिक कम्पोजर भन्न मन पराउछु। मैले नयाँँ, पुराना सबै पुस्तासँग काम गर्ने अवसर पाए। प्रेमध्वज प्रधान, फत्तेमान, बच्चुकैलाश, योगेश वैद्य, अरुणा लामादेखि त्यसपछिको पुस्ता दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, रविन शर्माहरूसँग पनि काम गर्ने मौका पाए। त्यसपछि अहिलेका सबै नयाँँ कलाकारसँग पनि काम गरिरहेको छु। तीन पुस्ताका गीतहरूमा संगीत गर्न पाएकोमा आफैंलाई गर्व लाग्छ।

कुन पुस्तासँग काम गर्न सजिलो लाग्यो ?

पुराना कलाकारहरूको टोन आफूले बनाएको मिल्थ्यो। तर अहिलेका नयाँँ कलाकारहरूसँग काम गर्न गाह्रो छ। म्युजिक हरेक दिन परिवर्तन भइरहन्छ। नयाँ कलाकार पढेर, सिकेर नयाँ नयाँ प्रयोग गर्न चाहन्छन्। उनीहरूसँग भिज्न अत्यन्त गाह्रो छ। हामीले पुरानो चस्मा लाएर हेर्नै मिल्दैन। मैले टिनएजहरूसँग पनि काम पनि गरे। उनीहरूले कस्तो मन पराउँछन् भन्ने सोच्नै सकिन्न। एकदम भेराइटी पाइन्छ।

संगीतलाई कसरी बुझ्नुहुन्छ ?

संगीतमा सास फेरिरहेको छु जस्तो लाग्छ। मैले संगीतलाई आफूभित्र अप डाउन गरिरहेको छु भन्ने लाग्छ। खासमा संगीत स्वतन्त्र हुनुपर्छ। अनि मात्र यसलाई न्याय गर्न सकिन्छ। पेसा बनाउँदा कहिलेकाहीँ संगीतलाई काम गरेको जस्तो बाध्यताले पनि गर्नुपर्ने रहेछ। यसले मलाई खुसी दिँदैन। अहिलेसम्म काम गरेको भनेर होस् या रुचिले गरेको होस्, आएका सबै जिम्मेवारी पूरा गरे। अब आफूलाई मन पर्ने गीतमा मात्र संगीत गर्ने सोच बनाएको छु।

संगीतले न्ह्यु वज्राचार्य दियो कि न्ह्यु वज्राचार्यले संगीत ?

सुरुमा त मैले संगीत बनाएँ। त्यसपछि संगीतले मेरो रूप बनाइदियो। ‘सय थरी बाजा एउटै ताल’ गीतमा संगीत भर्न मलाई अत्यन्त गाह्रो भएको थियो। एकपटक बनाएर मह जोडीलाई सुनाएँ, उहाँहरूले यो त हाम्रो फिल्मलाई सुहाएन, अर्को ट्युन बनाऊ भन्नुभो। त्यसबेला मलाई अत्यन्त दुःख लाग्यो, हामीले बनाएको धुन नमिल्ने पनि रैछ भन्ने भयो। निकै दिन यसै रहिरह्यो। कसरी धुन बुन्ने भन्ने केही सोच नै आएन। धेरै मेहनत पछि पूरा गरे त्यसलाई। त्यही गीतले मलाई न्ह्यु वज्राचार्य भनेर चिनायो। ‘फूलको आँखामा फूलै संसार’ पनि मैले राम्रो संगीत गरेको गीत हो। यसले पनि मलाई राम्रो चिनारी दियो।

भने पछि संगीत भर्ने अत्यन्त गाह्रो काम हो ?

अत्यन्त गाह्रो छ। गीतको सास नै संगीत भएकाले निकै मेहनत गर्नुपर्छ। रातभर बसेर पनि संगीत गरेको छु मैले। कहिलेकाहीँ स्टुडियोबाट घर आउँदा बिहान भइसकेको हुन्थ्यो।

अहिलेका गीत सिर्जनात्मक छैनन्, बजारमुखी भए भनिन्छ नि ?

समय हरेक पल परिवर्तनशील छ। पुरानो टाइपको गीत गाएर अहिलेका नयाँ पुस्ताले कहाँ सुन्छ र ? अहिलेको युवालाई समेटिने खालको गीत, संगीत त बनाउनै पर्‍यो। संगीत गरेर अहिलेका जेनरेसनले सुनेनन् भने कसलाई सुनाउने ?

अहिले संगीतमा करियर कस्तो छ ?

मेहनत गरेर टिक्छु भन्नेहरूका लागि यो क्षेत्र अत्यन्तै राम्रो छ। यसका लागि निरन्तर लगाव, अपडेट र साधना चाहिन्छ। राम्रो राम्रो गर्न सक्ने र क्षमता भएकालाई अवसरै अवसर छ। कलाकारमा हरेक समयसँग आउने व्यक्तिहरूलाई छुन सक्ने कला हुनुपर्छ, उसलाई कसैले रोक्न सक्तैन।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.