'मैले विहे गर्ने रुचि लागेर गीत गाएको होइन्'
राष्ट्रियसभाको सदस्य भए पनि कोमल ओलीको गायिका क्रेज घटेको छैन। गत बुधबार क्यानडा उडेकी ओलीले त्यहाँको एडमन्टन, क्यालगरी र भ्यानकोभरमा तीज कार्यक्रममा प्रस्तुति दिनेछिन्। यसै वर्ष उनले तीजको मात्र आठवटा गीत निकालिसकेकी छन्। ६ वटाको भिडियोमा आफैंले अभिनय गरेकी छन्। आफ्नै लगानीमा दुई वटा गीत ल्याएकी छिन्। हास्य कलाकार कमल गाउँलेसँग तीज प्यारोडी पनि गाएकी छन्। कोमल ओलीसँग रामकला खड्काको १० प्रश्न :
तीजको रौनक कत्तिको लागेको छ ?
बेस्सरी लागेको छ। हालै अस्ट्रेलियामा एक महिना बसेर तीज कार्यक्रम सकाएर आएँ। नेपालमा आएपछि पनि १५ भन्दा बढी भ्याइसकेँ। शनिबारको दिन त भ्याइनभ्याइ नै पर्छ। दिनमा तीन÷चार वटासमेत भ्याउनुपर्ने हुन्छ।
गत वर्षसम्म तपाईंका गीत व्यक्ति केन्द्रित हुन्थे। तर अहिले व्यवस्था केन्द्रित गीत आए। यसरी ट्र्याक परिवर्तन गर्नुको कारण ?
अहिले मेरो पनि ट्र्याक परिवर्तन भएको छ नि। पहिले म विशुद्ध गायिका मात्रै थिएँ। तर, अहिले मेरो काँधमा थप जिम्मेवारी आएको छ। पहिले पनि मेरा मौलिक र सन्देशमूलक गीत आएका थिए। तर त्यसमा श्रोताले रुचि नराखेर त्यति पत्तो नपाएका हुन्। अहिले मेरो पदकै कारण पनि सन्देशमूलक गीत गाउनुपर्ने भयो।
अन्य कस्ता गीतहरू दर्शकमाझ ल्याउनुभयो ?
सहकारीमा संलग्न महिलाले कसरी ऋण निकाल्ने भन्ने गीत पनि छ। परदेशमा बसेकी छोरीले पोखेको पीडाको गीत पनि छ।
प्रायः शिवजीसँग पति माग्ने गीतमा दर्शकलाई नचाउनुहुन्थ्यो। यसपालि पनि यही स्वादका गीत पर्खेर बसेकालाई के भन्न चाहनुहुन्छ ?
हरेक युवतीको चाहना भनेको राम्रो, पढेलेखेको, सक्षम र नारीलाई सम्मान गर्ने युवा आफ्नो पतिको रूपमा पाऊँ भन्ने हुन्छ। म अविवाहित भएकाले मात्रै कोमल ओलीले खोजेजस्तो बुझिन्छ। तर मैले विवाह गर्न रुचि लागेर गीत गाएको भने होइन। यो एक प्रतीकात्मक मात्रै हो। संस्कृतिको संरक्षण गर्न, मनोरञ्जन गर्न र सन्देश दिन मात्रै मैले यस्ता गीत गाएकी हुँ।
सांसद भइसकेपछिका जिम्मेवारी ठूलो हुन्छ। गायनका लागि समय कसरी व्यवस्थापन गर्नुहुन्छ ?
समय व्यवस्थापनको समस्या त धेरै पर्यो नि। संसद्मा नीति तथा कार्यक्रम, बजेटलगायतका कार्यक्रम एकपछि अर्को आइरहे। त्यसबारे बोल्न पढ्नु पर्यो। रातो किताब सबै पढेँ। जिल्लाजिल्लामा बजेट कति पुगेको छ भन्ने पनि पढेँ। तर यसैबीच पशुपति शर्माले यस्तो राम्रो गीत तयार गरे कि मलाई स्टुडियोमा नपुगी धरै भएन। मलाई यसपालि यति धेरै गीतको अफर आएको थियो, तर गाउन भ्याइनँ। आफ्नो गीत पनि रातको ८ बजे पछाडि मात्रै रेकर्ड गराएको हुँ या शनिबार र संसद् नचलेको दिनमा मात्रै समय मिलाएँ। यसपालि गीत निकाल्दिन भन्दा पनि धेरै श्रोता एवं दर्शकले इमेल, फेसबुक, म्यासेज आदिमा तपाईंको गीत कहिले सुन्ने भनेर लेखेपछि मलाई गीत निकाल्न दबाब पर्यो।
तीज आउनु धेरै समय अगाडिदेखि दर खाने कार्यक्रम राख्ने शैलीलाई तपाईं कसरी लिनुहुन्छ ?
दिदीबहिनीले तीजको कार्यक्रम गरेर यस्तो दुर्घटना भयो भनेर कहिले पनि सुनेको छैन। सबैजना एकआपसमा सद्भाव आदानप्रदान गर्नमै व्यस्त देखिन्छन्। सहकारी, लायन्स, संघसंस्थामा लागेका महिलालाई भेला पार्न शनिवबर मात्रै सम्भव हुने भएकाले साताको एक दिन कार्यक्रम राख्छन्। घर, परिवारभित्रको पनि सीमित समय निकालेर बाहिर जानुपर्छ। पुरुष हरेक दिन रेस्टुराँ गएर साथीभाइ जम्मा भएर खान्छन्। महिलाले पनि अरू पोसाक लगाएर खाए, त्यो गेट टुगेदर हुने। रातो पहिरनमा सजिए तीजको दर खान गए भनेर सबैको आँखामा पर्ने। आजभोलि त यस्ता कार्यक्रममा धेरै सुन लगाएको पनि म देख्दिनँ। दर कार्यक्रममा उनीहरूले आफ्नो सीप, कला, योग्यता, क्षमता देखाउँछन्। त्यसैले सानो भेटघाटले ठूलो खुसी मिल्छ भने किन नगर्ने यस्ता कार्यक्रम ?
बजारमा आएका तीज गीतहरू तपाईंलाई कस्तो लाग्छ ?
विभिन्न खाले गीत बजारमा आएका छन्। कुनै मौलिक खालका छन्। तर यस्ता गीत संख्यामा निकै कम छन्। केही पुरानो गीतलाई तीजका शब्द राखेर त्यसमा व्यावसायिक सौन्दर्य भरेका गीतहरू पनि बजारमा आएका छन्। केही गीतहरू तीजसँग सम्बन्धित नै नभएका पनि छन्। गाईजात्राको केही समयपछि आउने चाड भएकाले केही प्यारोडी गीत पनि बजारमा आएका छन्। कतिले भने निरन्तरता दिनकै लागि मात्रै पनि गीत निकालिरहेका छन्।
फिल्ममा राखिने गीतले लोकदोहोरी गीतको बजारलाई कत्तिको प्रभावित पारेझैं लाग्छ ?
फिल्ममा आएका गीतहरू लोक आधुनिक गीत हुन्। पुराना गीतलाई नयाँ कलर दिएर त्यसमा सौन्दर्य रस भर्दै नयाँ गीत निर्माण गरिएको छ। त्यसले राम्रो बजार पाएको छ। सजिला शब्दहरू र नाच्ने गीत हुनासाथ श्र्रोताको मन छोइहाल्छ।
सांसद भएर गायन क्षेत्रबाट पलायन हुने हुन् कि भनेर शुभेच्छुकहरूको चिन्ता कत्तिको रह्यो ?
मैले कार्यक्रम गरेका ठाउँमा धेरै दिदीबहिनीहरू मसँग फोटो खिच्न लालायित हुन्छन्। हालै अस्ट्रेलियाको मेलबर्नमा भएको एक कार्यक्रममा दिदीबहिनीहरूको बाक्लो जमघट थियो। एक शुभेच्छुकले मलाई ब्याक स्टेजमा बोलाएर भनिन्,‘तपाईंले गीत निकाल्नु हुन्न कि भनेर मलाई अति चिन्ता लागेको थियो।’ उनले मलाई अँगालो मार्दै भनिन्, ‘माननीय भए पनि गीत गाउन नछाड्नु होला।’
तपाईंको गीतबारे सहकर्मी माननीयज्यूहरूको प्रतिक्रिया कस्तो छ ?
मेरा गीत अति राम्रो र उत्कृष्ट भन्दै उहाँहरूले प्रशंसा गर्नुहुन्छ। राष्ट्रियसभामा जम्मा २२ जना महिला माननीय हुनुहुन्छ। मेरो माननीयज्यू गीतमा पनि राष्ट्रियसभाका माननीयज्यूहरूलाई पनि भिडियोमा राखेको छु।
नीति निर्माण बनाउने र कलाकारिता क्षेत्र दुवैलाई कसरी सन्तुलनमा लानुहुन्छ ?
अहिले कलाकारलाई हेर्ने दृष्टिकोण राम्रो छ। कलाकारलाई अझै कसरी सम्मानित महसुस गराउने भनेर म बेलाबेलामा संस्कृतिमन्त्रीसँग पनि छलफल गर्ने गरेकी छु। फुर्सद मिलाएर कलाकारहरूसँग बसेर छलफल गर्ने गरेकी छु। म आफूले पनि सकेसम्म समय व्यवस्थापन गरेर आफ्नो प्रतिभालाई निरन्तरता दिने कोसिस गर्नेछु।