आकाशको उडान
आकाश श्रेष्ठ (२७) नेपाली फिल्म उद्योगका नयाँ अनुहार हुन्। पाल्पा तानसेनमा जन्मिएका आकाशले ‘म त तिम्रै हुँ’ फिल्मबाट डेब्यु गरेका हुन्। फिल्ममा आकाशलाई नायिका जोशना योगीले साथ दिएकी थिइन्। यो फिल्मको निर्माता सुस्मिता बोमजन (अनमोल केसीकी आमा) थिइन्। सन् २०१४ मा रिलिज भएको यो फिल्मले दर्शकलाई त्यति लोभ्याउन सकेन। तर फिल्ममा कलेज ब्वाईको भूमिकामा देखिएका आकाशको ह्यान्डसम लुक धेरैले रुचाए। नायक आर्यन सिग्देलपछि लभर ब्वाईको भूमिकामा फिल्म निर्माताहरू आकाशलाई रुचाउन थालेका छन्।
पाँच फिट एघार इन्च अग्लो कद र गुड लुकिङ चेहराका कारण आकाशलाई धेरैले सजिलै नोटिस गर्छन्। फिल्ममा इनोसेन्ट लभरब्वाईको रूपमा देखा पर्ने आकाशको लेडिज फ्यानहरू पनि उत्तिकै छन्। फिल्ममा निर्दोष लभरब्वाईकै भूमिकाको लागि बढी अफर आएको आकाश बताउँछन्। तर आकाशको इच्छा भने अर्कै छ। ‘म अहिलेसम्म डिसेन्ट लभरब्वाईको भूमिकामा देखिएको छु। तर मलाई चुलबुले टाइपको भूमिकामा देखिने मन छ,’ उनी भन्छन्, ‘पछिल्लो समय एक्सन फिल्म गर्न सुझाव पनि आइरहेको छ।’
सन् २०१८ मा आकाशको दुई ओटा फिल्म रिलिज भयो, ‘तिमीसँग’ र ‘ब्ल्याक।’ ‘तिमीसँग’मा आकाश नायिका साम्राज्ञी राज्यलक्ष्मीसँग देखिए भने ‘ब्ल्याक’मा आँचल शर्मासँग। फिल्म ‘तिमीसँग’ खासै चल्न सकेन। फिल्म ‘ब्ल्याक’मा भने आकाशको अभिनय तारिफयोग्य रह्यो। फिल्ममा आकाश ड्रग एडिकको भूमिकामा छन्। भन्छन्, ‘अरू फिल्मभन्दा ब्ल्याकमा मेरो अभिनय भिन्न थियो।’ यो फिल्मको लागि समय बढी दिएको र मेहनत पनि उत्तिकै गरेको उनी बताउँछन्।
यी दुई फिल्मबाहेक सुदर्शन थापाद्वारा निर्देशित फिल्म ‘रामकहानी’मा पनि आकाश लिड रोलमा देखिँदैछन्। २२ भदौमा रिलिज डेट तोकिएको छ, यस फिल्मको। यसमा सुरुदेखि अन्त्यसम्मै प्रेमको लागि संघर्ष गरेको पात्रको रूपमा रहेको आकाश बताउँछन्। ‘रामकहानी’ पछि उनको अर्को फिल्म ‘ड्रिमगर्ल’ पनि प्रदर्शनीको तयारीमा छ। लगातार फिल्म आउँदा रिलिज डेट जुधेको भन्दै अबदेखि वर्षको एउटा फिल्ममात्र खेल्ने आकाशको तयारी छ।
हरेक फिल्ममा आकाशले नयाँ नायिकाहरूसँग काम गर्दै आएका छन्। आकाशका फ्यानहरूले उनको नाम ती नायिकाहरूसँग जोड्ने पनि गरेका छन्। अविवाहित रहेका उनको पछिल्लो समय नायिका पूजा शर्मासँग सम्बन्ध रहेको चर्चामा आयो। उनले भने, ‘फ्यानहरूले पूजा र मेरो जोडीलाई मन पराइदिनु भएको छ तर वास्तवमा हामी राम्रो साथीमात्र हौं।’
फिल्ममा लिने पारि श्रमिकको सबालमा भने उनी त्यति खुल्न चाहेनन्। नेपाली फिल्म उद्योगमा दिलीप रायमाझीको कलाकारिता रुचाउने आकाशलाई नेपाली फिल्महरू राम्रो बन्न थालेको बताउँछन्। मोडलिङबाट एकैचोटी फिल्म उद्योगमा जम्प गरेका आकाश सुरुमा त म्युजिक भिडियो, फेसन सो र टीभी कमर्सियलहरूमा व्यस्त थिए। युगेश लिम्बूको ‘अंगाल’ र ‘सहारा’ जस्ता म्युजिक भिडियोमा काम गरेको थोरै अनुभव थियो। ब्याचलर पढ्दै गर्दा उनलाई एक्कासि फिल्मको अफर आयो। त्यसपछि मोडलिङबाट फिल्ममा बिना अनुभव एकै चोटी जम्प गरे।
फिल्म लाइनमा आए पनि उनको सपना पाइलट बन्नु थियो। अभिनयको खासै ज्ञान नभएका कारण क्यामेरा फेसिङदेखि थुप्रै कुरामा गाह्रो भएको उनी बताउँछन्। ‘सुरुमा फिल्म खेल्नु मेरा लागि निकै चुनौतीपूर्ण रह्यो’, भन्छन्, ‘मेरो पहिलो फिल्म वर्कसपकै रूपमा रह्यो।’ पहिलो फिल्मबाट व्यावहारिक ज्ञान हासिल गरेका आकाशले त्यसपछि आफ्नो अभिनयलाई निखार्दै गए।
एसएलसीपछि प्लस टु पढ्न काठमाडौं आएका आकाश होस्टेलमा बस्थे। हाल स्नातक सकाइसकेका उनी हजुरआमा र हजुरबुवाको साथमा काठमाडौंमा छन्। आमाको प्यारो छोरा उनी व्यस्तताका कारण परिवारलाई समय दिन सकेको छैनन्। बच्चामा हरेक कुरादेखि डराउने उनी अहिले भने निकै कन्फिडेन्टका साथ अगाडि बढेको बताउँछन्। नेपाली फिल्म उद्योग सोचेजस्तो सजिलो क्षेत्र नभएको बताउँदै भन्छन्, ‘काम गर्न सजिलो भए पनि मान्छेहरूसँग डिल गर्न गाह्रो हुँदो रहेछ।’ आकाशका अनुसार फिल्म उद्योगमा बनाउने मान्छे पनि हुन्छन् र बिगार्ने पनि। ‘आफूलाई बनाउने मान्छे चिन्न गाह्रो छ’ उनी भन्छन्।
नेपाली फिल्म उद्योगमा आकाश सोझो नायकका रूपमा चिनिन्छन्। सबैले उनलाई सोझो मान्छे भने पनि आकाश आफूलाई सोझो ठान्दैनन्। ‘म सोझोभन्दा पनि ज्ञानी छु।’ उनी आफ्नो कलेजका दिनहरू सम्झँदै भन्छन्, मलाई कलेजमा सबैले सोझो भन्थे तर म आफूलाई कलेजको हिरो सम्झन्थेँ।’ कलेज लाइफमा धेरै दौंतरीले उनलाई हिरो बन्न सल्लाह दिन्थे। नभन्दै उनी नेपाली फिल्म उद्योगको हिरो बन्न पुगे। अहिले लाखौं दर्शकको माया पनि पाइरहेका छन्।