‘चाचा’को स्वाद
पाक्दै गरेको परिकार हेर्दै किचेनमै बसेर खानुस्। बस्ने राम्रै सुविधा छ। खानेकुरा राख्न सिमेन्टको पर्खाल छ, त्यसमाथि काठ बिछ्याइएको छ, बस्नलाई कुर्सीको व्यवस्था। किचेनमा ५÷६ जना युवक काम गरिरहेका हुन्छन्। काम गरेको हेरिरहँदा समय कटेको पत्तै हुँदैन। उनीहरू रमाइला छन्। एक्लै हुँदा उनीहरूसँग गफ गर्दै खाए पनि हुन्छ।
‘यो लाइभ किचेन हो। तपाईंकै अघिल्तिर हामी खानेकुरा पकाउँछौँ’, बुद्ध लामा भन्छन्, ‘किचेनमै बसेर खानुपर्छ भन्ने पनि छैन। ठाउँ अरू पनि छ। मन लागेको ठाउँमा बस्नुस्। कुनै ‘टेन्सन’ नलिई खानपिन गर्नुस्।’
ठमेलको ‘चाचा क्याफे’ हो यो, सन् २००६ मा खुलेको। बुद्ध लामा र उनका दुईजना जापानी साथी मिलेर सुरु गरेका थिए। पछि उनका जापानी साथीहरू आफ्नै देश फर्किए। बुद्ध एक्लैले क्याफे चलाइरहे। ‘एउटा साथी त क्याफे ‘ओपन’ गरेको केही समयमै फर्किए, अर्काे भने २००९ मा गए’, उनले भने, ‘एकजना साथी २०१४ मा यहाँ आए, क्याफे चलेको देखेर खुसी भएर गए।’
क्याफे खोल्ने दुई जापानी मासाया हायासी र कियोनोरी युकिता जापान फर्किए पनि यहाँ पाक्ने परिकार खान अन्य जापानीहरू आइरहे।
स्पागेटी चाचाको मुख्य आकर्षण हो। यहाँ तयार हुने स्पागेटीको स्वादले धेरैलाई लोभ्याएको छ। ‘गार्लिक्स चिकेन विथ राइस’ र ‘कार्बाेनारा नेपोलिटाना’ पनि उत्तिकै प्रख्यात छ।
यस्ता परिकारहरू जापानी, चिनियाँ र युरोपियनहरूलाई खुबै मन पर्छ। ‘हिजोआज त नेपालीहरू पनि यस्ता खाना खोज्छन्’, बुद्धले भने। यो क्याफे खोल्दा सुरुमा यहाँ आउने अधिकांश ग्राहक जापानी हुन्थे। ‘त्यति बेला यो क्याफे नै जापानीले धानेका थिए’, उनले भने। समय बित्दै गयो। युरोपियन ग्राहकको संख्या बढ्न थाल्यो। हिजोआज बढी चिनियाँ आउँछन्। उनीहरू एकैपटक दुईतीन परिकार मगाउँछन्। ‘खानमा कुनै कम्प्रोमाइज गर्दैनन्’, बुद्धले भने, ‘मीठो खानेकुरा हुनुपर्यो। खानकै लागि जति पनि खर्च गर्छन्।’ नेपाली पनि जापानी परिकार मन पराउन थालेका छन्। विशेषगरी स्पागेटी खान काठमाडौंका विभिन्न भागबाट मान्छेहरू चाचामा पुग्ने गरेका छन्।
क्याफे चल्ने पनि सिजन हुन्छ। पर्यटक आउने सिजनमा व्यापार अलि उक्सिन्छ। अरू बेला चल्दै नचल्नेचाहिँ हैन। यो ‘सिजन’मा खासै व्यापार नहुने बताउँछन्, बुद्ध। ‘अफ सिजन’ नै भए पनि चाचा क्याफे प्रायः खाली हुँदैन। ‘चिनजानकै मान्छे पनि आइरहेका हुन्छन्। दोहोर्याएर आउनेहरू धेरै हुन्छन् यहाँ’, उनले भने, ‘दिनमा २५÷३० प्लेट स्पागेटी जान्छ। अरू परिकार खाने, ड्रिङ्स गर्नेहरू पनि हुन्छन्।’
अहिले यो क्याफेमा आउने ग्राहकको संख्या उल्लेख्य छ। यहाँ पाक्ने खानेकुराले पनि धेरैलाई लोभ्याएको छ। चाचाका नियमित ग्राहकहरू भन्ने गर्छन्, ‘यहाँ हाइजेनिक खानेकुरा पाइन्छ।’ आफ्नो क्याफेमा पाक्ने खानेकुरामा शंका गर्नु नपर्ने बुद्ध बताउँछन्। बरु शुद्ध र ताजा खानेकुरा खुवाएकोमा प्रायः ग्राहकबाट प्रशंसा पाउँछन् उनी।
चाचामा पहिल्यै तयारी खानेकुरा हुँदैन। ग्राहक गएर अर्डर गर्नुपर्छ। र, खानेकुराका लागि केही समय कुर्नुपर्छ। अर्डर लिएर पकाउने हुनाले पनि यहाँको खानेकुरा ताजा हुने गरेको छ।
आफ्नै क्याफेमा पाक्ने कार्बाेनारा नेपोलिटाना बुद्धलाई पनि धेरै मन पर्छ। गार्लिक्स चिकेन विथ राइस पनि उनलाई मन पर्ने परिकार हो। बेकन, ह्वाइट वाइन, टमाटर, चिज सहितको क्रिमलाई स्पागेटीमा हालेपछि कार्बाेनारा तयार हुन्छ। अन्डाको पहेँलो भाग पनि प्रयोग गरिन्छ। अन्डाले कार्बाेनारामा झनै मिठास थप्ने काम गर्छ। ‘ग्रिन’ सलाद थपिएपछि त परिकार पनि सुन्दर देखिन्छ, खाँदा झनै मीठो।
क्याफेको नाम चाचाचाहिँ कसरी रह्यो ? म्युजिकमा आइरहने धुन ‘चाचाचा...’ बाट चाचा क्याफेको नाम राखियो। ‘इटालियन, फ्रेन्च, क्युबाका गीत खुबै सुन्थे जापानी साथीहरू। त्यता चाचाचा धुन प्रयोग हुँदो रहेछ। त्यही भएर क्याफेको नाम पनि चाचा राखियो’, बुद्धले भने।