२१ वर्षदेखि साङ्लोमा बेरिएको जीवन
चुँजा(प्यूठान) : मल्लरानी गाउँपालिका-१ चुँजा अल्कामाझ प्यूठानका मेघबहादुर केसी कक्षा आठसम्म पढ्दा ठिकै थिए। जिल्ला स्तरीय परीक्षामा राम्रै अंक ल्याएर पास भए। अर्घाखाँचीको मालारानी गाउँपालिकास्थित सूर्य मावी गोखुंगामा पढ्दै थिए। २०५१ सालमा विद्यालयबाट घर आइसकेपछि उनलाई एक्कासी बान्ता भयो। मदिरा सेवन गर्दैनथे उनी। तर, बुवा आमाले 'रक्सी खाएर आइस ?' भनेर हप्काए। केसीले आफ्नो वान्ता आफै सफा गरे।
१८ वर्षको तन्नेरी उमेर। आठ कक्षा पास गरेर भर्खर नौ कक्षामा भर्ना भएका केसी विस्तार बिरामी हुँदै गए।त्यसपछि उनी विद्यालय जानै पाएनन्। त्यहीबाटै सकियो उनको स्कुले जीवन। घरमा होहल्ला गर्ने, बुवा आमालाई गाली गलोज गर्ने, पिट्ने र घरबाट निस्केपछि हप्तौसम्म हराउन थाले उनी। बुवा आमालाई दिनहुँ चिन्ता बढ्दै गयो।
दिनप्रतिदिन यस्तै क्रियाकलाप दोहोर्याउन थालेपछि परिवारले उपचारको बाटो खोजे। भारतको पञ्जाव र गोरखपुरमा लगियो। डाक्टरले औषधि खाएर निको हुने सल्लाह दिए। २०५१ देखि ०५४ सालसम्म निरन्तर औषधि सेवन गरे। तर, केसीलाई निको भएन्।
परिवारले सम्हाल्नै नसकेपछि उनको दुवै हातखुट्टा साङ्लोले बाँधेर छुट्टै कोठामा राखिन थाल्यो।२१ वर्षदेखि उनको जीवन निरन्तर साङ्लोमै गुज्रिरहेको छ। दाह्री बढेर बाक्लै भइसके। दिसापिसाब ओछ्यानमै गर्छन्। दैनिक सरसफाई गर्ने कुरा धेरै टाढाको जस्तो भइसक्यो।
फाटेका ओड्ने, ओछ्याउने कपडा। बृद्ध बुवा-आमाले उनको दैनिक स्यहार गरिरहेका छन्। 'लाउलाउ र खाँउखाँउको उमेर थियो', ६८ वर्षीय बुवा डोरबहादुर केसीले भने, 'पढ्ने बेला बिरामी भएको छोरालाई अहिल्यसम्म निको भएन।' ६ भाइमध्ये उनी माइलो छोरा हुन्। अरु छोरा ठिक छन्। 'सबै छोराको घरजम भइसक्यो',केसीले विलौना गर्दै भने, 'हामी बुढाबुढीलाई मर्नेबेला उल्टै यसको स्यहार गर्नुपर्यो।'
तीनवर्ष औषधि खुवाएपनि निको हुन नसकेको उनले सुनाए। मेघ बहादुर ४० वर्षका भए। उनलाई अन्य कुनै रोग छैन्। मानसिक असन्तुलन भएका केसीको घरपरिवार वर्षौदेखि पीडामा छटपटिरहेको छ।
'यस्ता बिरामी सन्चो भएको खबर सुनेका थियौँ',आमा टिका केसीले भनिन्, 'हाम्रो छोराको उपचार गर्ने कोही भेटिदिए हुन्थ्यो।' छोरालाई सन्चो हुनेभए अस्पतालमा लगेर उपचार गराउने मन बुवा आमाको छ। तर, आफूसँग पैंसा नहुँदा छोरालाई वर्षौदेखि साङ्लोमै बाँधेर राख्नुपरेको उनीहरु दुःखेसो गरे।
सुरुमा छोराकै उपचार गर्न ऋण खोजेको पैंसा भारतमा नोकरी गरेर जसोतसो तिरेको डोर बहादुरले बताए। 'मेलापात गर्न जाँदा पनि भागेर जान्छ की भन्ने छटपटी हुन्छ' ,उनी भन्छन्,'यसैको चिन्ता गर्दागर्दै मरिन्छ की जस्तो लाग्छ।' पाँचभाई छोरा आ-आफ्नो बन्दोबस्त गरेर बसेका छन्। तीन बहिनी सबैको बिहे भइसक्यो।
घरमा बुढाबुढी मात्र बसेको उनले जानकारी गराए। मेघबहादुरलाई नेपाल सरकारले निलो अपांग परिचयपत्र प्रदान गरेको छ। मासिक छ सय रुपैयाँ भत्ता बुझ्ने गरेको डोरबहादुरले बताए। मिठो मसिनो खान मनलागे उनीहरुले यही पैंसाबाट जोहो गर्छन्। अवस्था हेर्दा 'क' वर्गको अपांग परिचयपत्र दिनुपर्ने भएता पनि केसीले २०७४ साल पुसमा 'ख' वर्गको निलो परिचयपत्र पाएका हुन्। 'क' वर्गको परिचयपत्र प्राप्त गर्नेले मासिक एक हजार रुपैयाँ भत्ता बुझ्दै आएका छन्।
गाउँमै पुगेको घुम्ती शिविरबाट उनलाई महिला तथा बालबालिका कार्यालयले परिचयपत्र दिएको थियो।गाउँका अन्य व्यक्ति भेट्न जाँदा उनले केही गर्दैनन्। तर, बुवा आमा नजिक पर्दा गालीगलौज गर्न थाल्छन्।
खरले छाएको घरसँगै छुट्टै कोठा बनाएर उनलाई राखिएको छ। घरको आर्थिक अवस्था कमजोर छ। पीडामा बाँचेका वृद्ध बुवा÷आमालाई 'मर्नेबेला' छोराको उपचार गरेर निको भएको हेर्ने ठूलो धोको छ।