गाउँपालिका प्रमुखले करोडौं भ्रष्टाचार गरेको उपप्रमुखको आरोप

गाउँपालिका प्रमुखले करोडौं भ्रष्टाचार गरेको उपप्रमुखको आरोप

वीरगन्ज : पर्साको पकाहामैनपुर गाउँपालिकाका प्रमुखले करोडौं भ्रष्टाचार गरेको भन्दै उपप्रमुख र वडाध्यक्षले आन्दोलनको चेतावनी दिएका छन्। गाउँपालिका प्रमुख विजय चौरसीयाले आर्थिक वर्ष २०७४/०७५ को बजेट हिनामिना र भ्रष्टाचार गरेको उनीहरुको आरोप छ। 

वीरगन्जमा शुक्रबार पत्रकार सम्मेलन गरेर उपप्रमुख कुश्मी देवी, वडा नम्बर ४ का वडा अध्यक्ष डेढी यादव, कार्यपालिका सदस्य जाल महम्मद मियालगायतका जनप्रतिनिधिले प्रमुख चौरसीया र प्रमुख प्रशाकीय अधिकृत हिरालाल भुषालले आर्थिक वर्षको २३ करोड ९५ लाख रुपैयाँ हिनामिना गरेको आरोप लगाएका हुन्।

गाउँपालिकाका प्रमुख र उपप्रमुख दुवै संघीय समाजवादी फोरमका नेता हुन्। उपप्रमुख कुश्मीले गाउँपालिकाका सबै निर्णय अध्यक्षले आफूखुशी गर्दै आएको आरोप लगाइन्। 

‘म उपप्रमुख हुँ, मेरा पनि प्रमुखको बराबरको अधिकार छ’, पत्रकार सम्मेलनमा उपप्रमुख कुश्मीले भनिन्, ‘कुनै पनि गलत कुराको विरोध गर्दा विजयजीले मेरो कुरा सुन्नु हुन्न, हरेक निर्णयमा सिधै माइन्युट ल्याएर सहि गर्ने भए गर नत्र बहुमतको आधारमा पास हुन्छ भन्दै धम्क्याउनु हुन्छ।’ 

चालु आर्थिक वर्ष २०७५/०७६ का लागि गत बुधबार भएको गाउँपरिषद्मा आफू सहभागी भएपनि परिषद्को निर्णय पुस्तिकामा हस्ताक्षर नगरेको उपप्रमुख कुश्मीको भनाइ छ। गाउँपालिका उपप्रमुखसहितका जनप्रतिनिधिले आगामी दिनमा पनि प्रमुखले आफ्ना कुरा नसुने सडक आन्दोलन गर्ने चेतावनी दिएका छन्। 

आर्थिक वर्षमा गोप्य रुपमा गरिएको गाउँपरिषद् खारेज गरेर सार्वजनिक रुपमा अर्को गाउँपरिषद् गर्नुपर्ने माग उनीहरुको छ। 

आर्थिक वर्ष २०७३/७४ मा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कार्यालय व्यवस्थापनका लागि पठाएको एक करोड नौ लाख बजेट मध्ये गाउँपालिका प्रमुख चौरसीयाले हरेक वडा कार्यालयका लागि एक–एक थान कम्प्युटर र केही फर्निचर खरिदमा ४९ लाख मात्र खर्च गरी बाँकी ५१ लाख रुपैयाँ हिनामिना गरेको आरोप उनीहरुको छ।

त्यसैगरी गाउँपालिकामा वाईफाई जडानका लागि गाउँपरिषदबाट ३५ लाख रुपैयाँ विनियोजन गरिएकोमा २५ लाख रुपैयाँ निकासा गरी गाउँपालिका प्रमुख चौरसीयाले आफ्नै भान्जाको नाममा नयाँ इन्टरनेट कम्पनी दर्ता गर्न लगाई उक्त रकम जिम्मा लगाएको पनि आरोप असन्तुष्ट जनप्रतिनिधिको छ। 

 गाउँपालिकामा अझैसम्म न्यायिक समिति गठन हुन नसकेकोप्रति समेत पत्रकार सम्मेलनमा आपत्ति जनाइएको छ।समिति गठनका लागि आग्रह गर्दा प्रमुख चौरसीयाले आवश्यकता नरहेको गैर जिम्मेवार जवाफ दिएको उपप्रमुखको आरोप छ।

गाउँपालिकाको एम्बुलेन्स ग्यारेजमा थन्क्याएको, प्रमुखले नै ५५ लाखमा जेसीबी खरिद गरेकोलगायत आरोप लगाइएको छ। गाउँपालिकाले गत आर्थिक वर्षको बजेटबाट सात महिना (असोज देखि असारसम्म) को अवधिमा पदाधिकारीको पारिश्रमीक शीर्षकमा १९ लाख, पदाधिकारीको बैठक भत्ता शीर्षकमा १५ लाख, पदाधिकारीको अन्य सुविधा शीर्षकमा ६ लाख, पदाधिकारीको अन्य भत्ता शीर्षकमा तीन लाख, गाउँपालिका कार्यालयको मसलन्द खर्चमा २४ लाख, पदाधिकारीको सवारी सधान भाडा शीर्षकमा १० लाख, पदाधिकारीको इन्धन शीर्षकमा चार लाख र सवारीसाधन मर्मत शीर्षकमा तीन लाख रुपैयाँ खर्च गरेको छ। 

गाउँपालिका प्रमुख चौरसीयाले भने दुवै आर्थिक वर्षको गाउँपरिषद् प्रकृया पुरयाएर सम्पन्न भएको दाबी गरेका छन्।  गाउँपालिकाको बजेट खर्चमा अनियमितता भएको भन्ने आरोप निराधार भएको उनको भनाइ छ।
‘बजेटबाट गरिएको हरेक खर्च स्पष्ट छ, यदि कसैले खर्चको विवरण माग्छ भने दिन तयार छु’, उनले भने। गाउँपालिका उपप्रमुख कुश्मी इमान्दार भएको तर उनलाई केही व्याक्तिले उक्साएर आफनो स्वार्थ पूरा गर्न पत्रकार सम्मेलन गराएको आरोप प्रमुखको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.