कञ्चनपुरबाट आईजीपी खनालको चेतावनी : एसपी, डीआईजी कसैलाई छोड्दिनँ
महेन्द्रनगर : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुर घट्नामा लापरवाही गरेको प्रमाणित भएमा संलग्न प्रहरी अधिकारीहरुको जागिर जाने बताएका छन् ।
कसैलाई छाड्दैनौँ
राष्ट्रिय मानव अधिकार आयोगले महेन्द्रनगरबाट सुरु गरेको ‘महिला हिंसा न्यूनीकरण, मानव अधिकारको संरक्षण, सुरक्षा र प्रहरीको जवाफदेहिता’ राष्ट्रिय अभियानको उद्घाटन समारोहमा बोल्दै खनालले बालिकाको बलात्कारपछि हत्या घटनाका दोषी र अनुसन्धानमा लापरवाही गर्ने जोसुकै भएपनि नछाडने बताएका हुन् ।
‘यो घटनाले संगठनलाईसमेत निकै गम्भीर बनाएको छ’ आईजीपी खनालले भने, ‘अनुसन्धान भइरहेको छ, हत्यारा जोसुकै होस कानुनी कठघरामा उभ्याइने छ ।’ उनले अनुसन्धानमा प्रहरीले कमजोरी गरेको आफूले समेत स्थलगत निरीक्षण र मुद्दाको मिसिल हेर्दा फेला पारेको बताए ।
जागिर नै खोस्छौँ
‘अनुसन्धानकै क्रममा तत्काल दोषी देखेरै एसपी डिल्लीराज विष्टलाई निलम्बन गरिसकिएको छ, अनुसन्धानमा संलग्न अरु अधिकृत पनि दोषी पाइए निलम्बन हुन्छन्’ आईजीपी खनालले भने, ‘उनीहरुमाथि पनि अनुसन्धान भइरहेको छ, घटनामा लापरवाही गरेको प्रमाणित भए उनीहरुको जागिर नै जान्छ ।’
उनले एसपी होस, अथवा डीआईजी होस जस्तोसुकै दर्जाको भएपनि संगठनलाई आच आउने र संगठनकै मानमर्दन हुने काममा संलग्नलाई नछाड्ने चेतावनी समेत दिए । उनले लापरवाही र गल्ती गर्ने कर्मचारी प्रहरी संगठनमा अटाउन नसक्ने बताए ।
तत्कालीन नेतृत्व नालायक
आईजीपी खनालले तत्कालिन नालायक नेतृत्वका कारण आफूलाई निकै लज्जित बनाएको बताए । उनले कञ्चनपुर घटनाले धेरै पाठ सिकाएको भन्दै अब नयाँ अनुसन्धान टोलीलाई घटनाको अनुसन्धानमा सहयोग गरिदिन आग्रहसमेत गरे ।
सोधे : किन दिइयो यातना ?
‘अनुसन्धानका क्रममा प्रहरीले थुप्रैलाई यातना दिएको कुराले गम्भीर बनाएको छ’ उनले भने, ‘यातना दिने, जबरजस्त कबुल गराउन खोज्ने र बयान लिने काम बन्द गर्नुस ।’ उनले सबै प्रहरी अधिकृतहरुलाई गम्भीर भएर प्रहरी संगठनको अधिकार भित्र रहेर काम गर्न निर्देशन समेत दिए ।
प्रहरीमाथि नै अविश्वास बढिरहेको भन्दै यसलाई चिर्नसमेत संगठनका अधिकृतहरु जिम्मेवार हुनु जरुरी रहेको उनले बताए । केही प्रहरी कर्मचारीले जिम्मेवारी बहन नगरी गैरव्यावसायिक हुँदा उनीहरुका चरित्रका कारण सिंगो संगठनमाथि नै गम्भीर असर परिरहेको भन्दै अब यस्ता प्रवृत्तिका प्रहरीलाई कारबाहीको दायरामा ल्याइने खनालले दाबी गरे ।