सामूहिक आय आर्जनमा युवा
स्याङ्जा : विदेशी भूमिमा रगत र पसिना बगाएका युवा स्वदेश फर्केपछि सामूहिक तरकारीखेती गरेर मनग्ये आम्दानी लिन थालेका छन्। कल्कलाउँदो जवानी विदेशी भूमिमा खर्चेका युवा स्वदेश फर्केपछि पनि आफ्नै गाउँमा फर्केर आयआर्जनमा लागेका हुन्। विदेशी सीप नेपाली भूमिमा प्रयोग गर्दै स्याङ्जा पुतलीबजार नगरपालिकाका केही युवाले तरकारीखेतीसहित कुखुरापालनमा लागि परेका हुन्।
आठ जना युवा मिलेर रानीश्वारा पात्लेखर्क बहुउद्देश्यीय एग्रो फारम सञ्चालनमा ल्याएका छन्। एक सय २८ रोपनी जग्गा भाडामा लिएर तरकारी तथा कुखुरा फारम सञ्चालनमा ल्याइएको हो। पुतलीबजार नगरपालिकाका यामप्रसाद रेग्मी, बोधराज रेग्मी, ओमप्रकाश शर्मा, कृष्ण केसी, भूपेन्द्र मरासिनी, कमला मरासिनी, विष्णु रेग्मी र पार्वती रेग्मीलगायतले झण्डै एक करोड रुपैयाँ लगानी गरिसकेका छन्।
२०७४ सालदेखि सञ्चालनमा ल्याइएको फार्ममा अहिले सात हजार पाँच सय बोयलर कुखुरा छन्। अहिलेसम्म आठ औं पटकसम्मका कुखुरा बिक्री भइसकेको छ। फार्ममा ६ वटा सुविधासम्पन्न खोर निर्माण गरी कुखुरा पालिएका छन्। यहाँका कुखुरा पोखरा, बुटवल र काठमाडौंसम्म बिक्री हुर्ने े गरिएको फार्म सञ्चालक कृष्ण केसीले जानकारी दिए। ‘अबका केही दिनभित्र अण्डा दिने र गिरीराज कुखुरासहित २० वटा भैंसी र ६० वटा बाख्रा समेत पाल्ने तयारी भइरहेको केसीले बताए।
फारममा लगाइएका तरकारीलगायत घाँसपातको सदुपयोग र आवश्यकपर्ने गोबर मलका लागि भैंसी र बाख्रा पाल्ने योजना थप गरिएको अर्का सञ्चालक यामप्रसाद रेग्मीले बताए।
आठ जना युवा मिलेर रानीश्वारा पात्लेखर्क बहुउद्देश्यीय एग्रो फारम सञ्चालनमा ल्याएका छन्।
फार्ममा मौसमी तथा बेमौसमी दुवै किसिमका तरकारी रोपिएका छन्। असार साउनमा रोपिएका घिरौंला, काँक्रो, बोडी, सिमी, फर्सी, गोलभेंडा अहिलेसम्म फल्दै छन्। काउली, बन्दा, साग, मुला, गोलभेंडाका बिरुवा रोपिएका छन्। लगानी अनुरुपको उत्पादन लिन सकिनेमा सञ्चालक विश्वस्त छन्। आफूले लगाएको तरकारी पहिलोपटक दुई क्विन्टल टिपेर बेच्न पाएपछि मेहनतको फल राम्रो हुनेमा ढुक्क भएर लगानी गरेको कमला रेग्मीले बताइन्।
रोजगार खोज्दै युवा बिदेसिने, बालबच्चा पढाउने निहुँमा युवती सहरमा झर्ने गरेपछि गाउँका जग्गा जमिन बाँझै रहे। जग्गाको उपयोग गर्न र आफ्नो सीप सदुपयोग गर्न सामूहिक तरकारी तथा कुखुरापालन व्यवासाय सञ्चालन गरेको बोधराज रेग्मीको भनाइ छ। रोजगारका लागि उनी १९ वर्ष कतारमा बसेका थिए।
२० वर्षको लागि वार्षिक दुई लाख ६० हजार भाडा तिर्नेगरी जग्गा लिइएको हो। १८÷१९ वर्षदेखि १०÷१२ वर्षसम्म कतार, दुबई, मलेसिया, अरब, भारत लगायतका देशमा बसेर काम गरेका युवा र तिनका परिवारका नाममा फारम सञ्चालनमा ल्याइएको हो। यो फारममा हाल चार परिवारले रोजगार पाएका छन्।
कक्षा १० मा पढ्दापढ्दै रोजगारका लागि कतार पुगेका कृष्ण केसीले त्यहाँ रहँदा धेरै हण्डर खानु परेको र तोकेको रकम पनि नपाउने धेरै समस्या देखेपछि साथीहरू समेटेर सामूहिक खेती किसानमा लागेको बताए।