‘अनि, फेरि गाई पाल्न थालें’

‘अनि, फेरि गाई पाल्न थालें’

एक वर्षअघि । गोकर्णेश्वर–१ रुप्सेटारमा हृदयविदारक घटना भयो । ओखलढुंगाका बाबुराम कार्की (४२) को ओम कृषि फार्ममा विद्युत् सर्ट भइ लागेको आगोले ९७ वटा गाई जलेर मरे । त्यो कारुणिक घटनाले सारा नेपालीलाई स्तब्ध बनायो । १ वर्षपछि त्यही घटनास्थल पुग्दा बाबुराम खुसी देखिए । उनी त्यस दिनको दुर्घटना भुल्दै फेरि गाई पालिरहेका छन् । भन्दै थिए, ‘अरू काम गर्न मन लागेन । फेरि गाई पाल्न थालें।’

दुर्घटनाको निसानी मेटिएकै छैन । घाउ बोकेका केही गाई अझै फार्ममा छन् । केही गाईको उपचार जारी छ । दाना खाइरहेको गाई देखाउँदै भने, ‘यसको नाम उमा हो । ढाडको घाउ निको भएको छैन । अब यसलाई बच्चा जन्माउन नलगाउने । रिटायर्ड लाइफ बिताउँछ अब यसले ।’ कुनामा उघ्राइरहेको गाइहरूलाई देखाउँदै भने, ‘यसको नाम ब्राउन स्विस हो । घाइते भए पनि यसले यसपालि बाच्छी पायो ।’ केही गाई उपचारमा छन् । भने, ‘गौरीको स्वयम्भूमा उपचार भइरहेको छ । डेढ महिनामा फर्किन्छ ।’ कुनामा सुतिरहेको सेतो गाई देखाउँदै भने, ‘त्यसको नाम लक्की हो । लक्की नै रहेछ । घटनामा केही भएन ।’

त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र पढाउँथे उनी । कहिलेकाहीँ अनुसन्धान पनि गर्थे । चाबहिलमा बस्दै आएका उनी छोरीका लागि ताजा दूध खोज्दा खोज्दै गाई पाल्ने सोचमा पुगे । त्यसपछि भक्तपुर दूधपाटी पुगे । दुई वटा गाई पाल्न सुरु गरे । फाइदा भएपछि १ महिनापछि बैंकबाट ऋण लिएर फेरि ६ वटा थपे । अनि, विश्वविद्यालयमा अध्यापनसँगै गाई पालेर भक्तपुरमै बस्न थाले ।

दूधको माग बढ्दै गयो । ठाउँ अभाव भएपछि २०७४ फागुनमा सुन्दरीजलमा सरे । वार्षिक १० लाख रुपैयाँमा १० वर्षकै लागि ५० रोपनी जग्गा भाडामा लिएर फार्म खोले । डेढ करोड खर्चिएर टहरा बनाए । २० जनालाई रोजगारी दिए । ५० गाई नयाँ फार्ममै जन्मिए । बाँकीलाई अढाई लाखसम्म तिरेर ल्याए । त्यो पैसा उनले बैंकबाट ऋण लिएका थिए । त्यसपछि दैनिक १२ सय लिटर उत्पादन भयो । खर्च कटाएर दैनिक २२ हजार आम्दानी हुन थाल्यो । भन्छन्, ‘कमाइ राम्रो थियो । चाबहिल, पुरानो बानेश्वर, कौशलटारलगायत पाँच ठाउँबाट दूध वितरण हुन्थ्यो ।’

२०७४ असार ३ गते । बाबुराम बिहानको खाना खाएर आराम गर्दै थिए । एक्कासि ठूलो स्वरमा गाई कराएको आवाजले उनी झस्किए । हत्तपत्त बाहिर निस्किए । अगाडिको टहरामा आगो दन्किरहेको थियो । उनको होसहवास उड्यो । अत्तालिँदै दमकलाई फोन गरे । दमकल त आइपुग्यो, तर आगो नियन्त्रणमा आएन । हेर्दाहेर्दै आँखै अगाडि गाई जल्न थाल्यो । मानिसहरू चुकचुकाइरहेका थिए । आगोमा जल्दै छटपटाइरहेका थिए गाईहरू । हेर्दाहेर्दै बाबुरामको ‘ओम कृषि फार्म’ आगोको लप्कामा परिणत भयो । फार्मको ठिक माथि धुवाँ मडारिन थाल्यो । आँखै अगाडि परिवारका सदस्यजस्ता गाईहरू भकाभक मर्न थाले । केही समयमै १ सय २२ मध्ये ९७ गाई जलेर मरे । दर्ननाक घटना सम्झिँदै बाबुराम भन्छन्, ‘अहिले पनि बेलाबेलामा त्यो दृश्यले झस्काइरहन्छ ।’

बाच्छीसहित २५ वटा बाँचे । केही सकुशल भए पनि प्रायः घाउ बोकेर बाँचे । घाइतेमध्ये ३ वटा आमा भइसके । केही गाई अझै तंग्रिन बाँकी छन् ।

त्यसदिनको अकल्पनीय घटनाले बाबुरामलाई निकै विक्षिप्त बनायो । कैयौं रात निदाएनन् । खाना खाएनन् । भन्छन्, ‘दिनभरि मान्छेसँग गफ गर्दा बिर्सेजस्तो हुन्थ्यो । राति एक्लै भएपछि छटपटी चल्थ्यो । खानै नरुच्ने, निन्द्रै नलाग्ने भयो ।’ धेरैले सान्त्वना दिए । सम्झाए । घाइते गाईको उपचार गरिरहे । बेलाबेलामा निरास हुन्थे । भन्छन्, ‘अब गाईपालन नै गर्दिनँ भन्नेमा पनि पुगँे ।’

बाबुरामलाई साथीहरूले निरास हुन दिएनन् । गाई पाल्न सुझाव दिइरहे । प्रवासमा हुने साथीहरूले चन्दा उठाएरै उनलाई सहयोग गर्न तयार भए । भन्छन्, ‘ऋण तिरे पनि तिर, नतिरे पनि नतिर । हामी पैसा पठाउँछौं । फेरि गाईपालन सुरु गर भन्ने साथीहरू धेरै आए ।’

विपदमा राज्य !

साथीभाई आफन्तको ढाडसले उनीभित्र फेरि गाई पालन गर्ने सोच पलायो । करिब साढे ४ करोड रुपैयाँ नोक्सान भएकोमा ६० लाख रुपैयाँ मात्रै बिमाबापत पाए । उनले ६ महिनाभन्दा माथिका ८७ वटा मात्रै गाईको बिमा गराएका थिए । त्यसपछि विपद्मा राज्य सम्झिए । केही आडभरोसा पाउने आशाले पशुपक्षी विकास मन्त्रालय र सरकारी अड्डा धाउन थाले । त्यो क्षण सम्झिँदै बाबुराम भन्छन्, ‘घाइते गाइलाई म बचाउँछु । जति मरे, त्यसको पक्कै केही सहयोग राज्यले गर्छ होला भन्ने लागेर सरकार गुहारें ।’

वडा कार्यालयदेखि नगर कार्यालयसम्म । सीडीओ कार्यालयदेखि मन्त्रालयसम्म । सिफारिस, सरजमिन, मुचुल्का, पुलिस रिपोर्टको फाइल बोकेर धाउँदा धाउँदै बाबुरामको डेढ महिना बित्यो । अड्डा–अड्डा कुद्दाका कैंयन तीता अनुभूतिहरू सँगालेका छन् बाबुरामले । उनको पढाउने काम पनि जारी छ । पीएचडीको तयारी पनि गर्दै छन् । तर त्यो बौद्धिक हैसियत मन्त्रालयमा काम लागेन । भन्छन्, ‘उपप्राध्यापकको परिचयपत्र सिंहदरबार छिर्न मात्रै काम लाग्यो ।’ राज्यप्रतिको आशा धमिलो हुँदै गयो । किसान भन्दै गेटभित्रै पस्न नदिएका, उल्टै झपारेर पठाएका केही घटनाहरू बेहोरे । भन्छन्, ‘किसान ठान्दै झपारे । भेट्ने समय नै दिएनन् ।’

मन्त्रालय धाउँदा धाउँदै उनले एकसरो निष्कर्ष निकाले । ‘नेपालमा व्यावसायिक पशुपालन सम्भव छैन । यस्तो पाराले कृषि क्षेत्र झनै धारासायी हुँदै जानेछ ।’ असम्भव देख्नुमा आफ्ना व्यावहारिक अनुभव सुनाउँछन् उनी, ‘पैसा ठूला घरनासँग छ । तर, उनीहरू कृषिमा आउँदैन । कृषिमा केही गर्छु भन्नेसँग पैसा छैन । बैंकले कृषकलाई पत्याउँदैन । यस्तो बेला सरकार आफन्त होइन वैरी जस्तो भइदिन्छ । अनि कसरी फस्टाउँछ नेपालमा कृषि र पशुपालन ? ’

वास्तविक किसानसम्म सरकार पुग्नै पर्ने यी बौद्धिक कृषकको भनाइ छ । भन्छन्, ‘आम मानिसले विकास भनेको ‘वडाध्यक्षको डोजरले बाटो खन्नुमात्रै हो’ भन्ठानें । यो गलत भयो । विकास भनेको कृषि र पशुपालन क्षेत्रलाई पनि अघि बढाउने भन्ने पनि हो । यसबारे सरकारले खै बुझाएको ? ’       

बाबुराम भौतारिँदै वल्र्ड बैंकको ढोकासम्म पुगे । ऊ लगानी गर्न तयार भयो । तर प्रक्रिया गाह्रो र चित्त नबुझ्दो भएपछि पछि हटे ।

चारचौरास भौंतारिएर डेढ महिनापछि बल्लबल्ल राज्यबाट सहयोग रकम प्राप्त भयो । तर, ४ लाख रुपैयाँ मात्रै । भन्छन्, ‘मरेका गाई पुर्न मात्रै ६ लाख रुपैयाँ लाग्यो ।’ त्यसपछि बन्द गरिदिए सरकारी कार्यालय धाउन ।

सरकारको ढोका चाहारेर निरास भइ बसेको एक बिहान । फार्ममा आइपुगे, जिल्ला पशु सेवा कार्यालयका प्रमुख । उनले बडो उदारतापूर्वक बाबुरामलाई भने, ‘तपाईंजस्तो मान्छे, राष्ट्रपति पुरस्कारका लागि फारम भर्नुस्, पक्का पाउनु हुनेछ ।’ बाबुरामको कन्पारो तातिएर आयो । केही प्रतिक्रिया दिएनन् । खिस्स हाँसेर टारिदिए ।

आपतमा साथी

रातको समय । बाबुराम एक्लै धुम्धुम्ती बसिरहेका थिए । फार्मको गेटैबाट हल्लाखल्ला गर्दै डम्बर बस्नेत आइपुगे । ‘कुममा प्याट्ट हिर्काउँदै भने, ‘के चिन्ता लिन्छस् । अब सरकारको पछि नलाग् । भोलि बिहान मेरो फार्ममा आइज । रोजेर दुई वटा गाई लैजा । पैसा दिनु पर्दैन ।’ बाबुराम भोलिपल्ट बिहानै डम्बरको फार्ममा गए । रोजीरोजी दुई वटा गाई सित्तैमा लिएर आए ।

बाबुरामलाई सहयोग गर्न उनका साथीहरूले ५ वटा समूह खोले । १०÷१० लाखको दरले बिनाब्याजमा पैसा उपलब्ध गराए । त्यही पैसा फार्म पुनः सञ्चालन गर्ने आधार बन्यो । केही गाई उधारोमा लिए । भारतबाट डेढदेखि दुई लाखसम्मका गाई ल्याए । एक वर्षको जग्गा भाडा बैंकबाट ऋण लिएर तिरे । त्यसपछि आगोले डढेको फार्म फेरि सफा गरे । भन्छन्, ‘टहरा मर्मत गर्न मात्रै ३० लाख लाग्यो ।’ उनका अनुसार अहिले दुई करोड ऋण लागेको छ । भन्छन्, ‘बैंकको एक करोड छ । सात वर्षमा तिरिसक्नुपर्छ । साथी भाइको एक करोड दुई वर्षभित्रमा तिर्नुपर्छ ।’

बाबुरामको फार्म विस्तारै फेरि हराभरा हुन थाल्यो । दैनिकी विस्तारै सहज हुँदै छ । १ सय ५० वटा गाईले फेरि भरियो फार्म । उनका अनुसार पहिले दैनिक १२ सय लिटर दूध उत्पादन हुनेमा अहिले ८ सय लिटर पुग्छ । पहिलेको स्तरमा पुग्न ६ महिना लाग्ने उनको अनुमान छ । भन्छन्, ‘१ वर्ष अगाडि दैनिक २३ हजार कमाइ हुन्थ्यो । अहिले मुस्किलले पाँचदेखि ७ हजार हुन्छ ।’ तर, उनी आशावादी छन् । फार्ममा १३ जनालाई रोजगारी दिएका छन् । तलबबापत मात्र मासिक ३ लाख रुपैयाँ खर्च हुने उनी बताउँछन् ।

विश्वविद्यालयमा पढाइ सकेर सीधै जान्छन् फार्ममा । कहिलेकाहीँ राति अबेरसम्म फार्ममै हुन्छन् । हाँस्दै सुनाउँछन्, ‘भित्र पसेपछि दिन गाको पत्तै हुँदैन ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.