खर्च सात करोड, पदक एउटा
खर्च सात करोड। खेलाडी संख्या १८७। उपलब्धि मात्र एउटा रजत पदक। अनुभव आर्जन गरियो। ठूला राष्ट्रसँग प्रतिस्पर्धा गर्ने अवसर जुर्यो। यसैमा चित्त बुझाऔं। पदकभन्दा चीन, जापान र कोरिया सहभागी हुने खेलकुदमा उपस्थिति नै काफी छ। यसैमा गौरवान्वित छ हाम्रो खेल नेतृत्व।
एसियाडमा जम्बो टोलीसहित गएको नेपालको उपस्थिति उपलब्धिपूर्ण हुन सकेन। यो परिणामले हाम्रो खेल–भविष्यमै प्रश्न उठेको छ। बीउ रोपेर फल फल्दैन भने त्यसको के अर्थ ? एसियाड सहभागितामै प्रश्न उठ्न थालेको छ। सरोकारवालालाई ठूलै झट्का हो यो। सहभागिता नै जित ठान्नेलाई उत्तर दिने कुनै ठाउँ छैन।
प्रतियोगितामा नेपालले सहभागी गराउँदै आएको खेलाडीको टिठलाग्दो प्रदर्शन, एसियाडमा राष्ट्रको लगानी, प्रशिक्षक, व्यवस्थापक, पदाधिकारी र सञ्चारकर्मीसहित जोड्ने हो भने तीन सयको हाराहारी उपस्थिति। प्राप्त उपलब्धिबारे गम्भीर बहस हुनैपर्छ।
यद्यपि, यसमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार बिष्टको भनाइ फरक छ। नेपालको सन्दर्भमा एसियाली खेलकुदजस्ता ठूला प्रतियोगितालाई केवल पदक जित/हारको संकीर्ण दायरभन्दा माथि उठेर हेरिनुपर्ने उनको तर्क छ। एसियाडमा नेपाली टोलीका सेभ अफ दी मिसन (टोली नेता) समेत रहेका बिष्ट एसियाली खेलकुदजस्ता ठूला प्रतियोगितालाई नेपालले आफ्ना खेलाडीका लागि बढीभन्दा बढी अनुभव र सीप आर्जन गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्छन्।
‘एसियाली खेलकुदमा ओलम्पिकमा समेत तहल्का मच्चाउने चीन, जापान, कोरियाजस्ता शक्तिशाली राष्ट्रको सहभागिता रहन्छ। त्यसैले हाम्रा खेलाडीका लागि यो प्रतियोगिता पदक जित्नेभन्दा पनि आफूभन्दा बलिया प्रतिद्वन्द्वीसँग भिडेर आफ्नो प्रदर्शनमा निखार ल्याउने महत्वपूर्ण अवसर हो। यद्यपि हामीले यस्ता प्रतियोगितामा समेत पदक जित्ने लक्ष्यलाई भने भुल्नु हुँदैन’, बिष्ट भन्छन्। उनी अठारौं एसियाडमा नेपाली खेलाडीको सहभागितालाई निकट भविष्यमा आफ्नै देशमा आयोजना हुने तेह्रौं दक्षिण एसियाली खेलकुदको तयारीका रूपमा लिइएको बताउँछन्। सदस्यसचिव बिष्टले भनेझैं पक्कै पनि एसियाली खेलकुदजस्ता ठूला प्रतियोगिता नेपाली खेलाडीका लागि अनुभव आर्जन गर्ने गतिलो अवसर हो।
गत आइतबार इन्डोनेसियाको जकार्ता र पालेम्बाङमा सम्पन्न सोह्रदिने एसियाडको पदकतालिकामा चीन पहिलो स्थानमा रह्यो। सहभागी ४५ राष्ट्रमध्ये ३६ राष्ट्रले कुनै न कुनै पदक हात पारे। नेपालले विभिन्न २९ खेलमा एक सय ८७ जना खेलाडी सहभागी गराएको थियो। सुरुमा एक सय ८५ खेलाडी सहभागी गराउने भनिए पनि अन्तिम समयमा टेनिसका दुई खेलाडी थप गरिएको थियो। खेलाडी संख्याका आधारमा प्रतियोगितामा सहभागी ४५ राष्ट्रमध्ये नेपाल उन्नाइसौं स्थानमा पर्छ। अर्थात् जारी एसियाडमा १८ वटा राष्ट्रले मात्र नेपालको भन्दा बढी खेलाडी सहभागी गराएका थिए। २६ वटा राष्ट्रले भने प्रतियोगितामा नेपालको भन्दा कम खेलाडी पठाएका थिए। नेपालको भन्दा बढी खेलाडी सहभागी गराउने सबै राष्ट्र (पाकिस्तानबाहेक) ले पदक तालिकामा आफ्नो बलियो उपस्थिति दर्ता गराए। यसबाहेक नेपालको भन्दा कम खेलाडी सहभागी गराउने १७ वटा राष्ट्रले पनि एसियाडमा कुनै न कुनै पदक जिते। पदक तालिकामा नेपाल भने तेत्तीसौं स्थानमा रह्यो।
अठारौं एसियाडलाई विगतका संस्करणभन्दा बढी उपलब्धिपूर्ण बनाउने उद्देश्यसहित इन्डोनेसिया यात्रामा होमिएको नेपाल केवल एउटा रजत पदकमा चित्त बुझाउन बाध्य भयो। पदकको आशा गरिएका अधिकांश खेलमा आफ्ना खेलाडीले निराशाजनक प्रदर्शन गरेपछि प्रतियोगिताको अन्त्यतिर प्याराग्लाइडिङले नेपाललाई रजत पदक दिलायो। एसियाली खेलकुदमा पहिलोपटक सहभागी गराइएको खेल प्याराग्लाइडिङले पदक जितेपछि नेपाली टोलीलाई रित्तो हात घर फर्कनुपर्ने त्रासबाट मुक्ति मिल्यो। एसियाली खेलकुदको इतिहासमा २० वर्षपछि एउटा रजत जितेकाले यही एउटा पदकलाई निकै ठूलो उपलब्धि मान्दै नेपाली टोली इन्डोनेसियाबाट स्वदेश फर्कियो।
यद्यपि, सन् १९९८ मा थाइल्यान्डको बैंककमा भएको एसियाली खेलकुदमा नेपालका लागि तेक्वान्दो खेलाडी सविता राजभण्डारीले रजत पदक जितिसकेकी थिइन्। यो अवधिमा आफूभन्दा कमजोर एसियाली राष्ट्रले पदक तालिकामा निकै ठूलो फड्को मारिसक्दा समेत नेपालले भने एउटा पदकलाई नै ठूलो उपलब्धि मानेर चित्त बुझाउनुपर्यो। अठारौं एसियाड नेपालको भन्दा कम खेलाडी सहभागी गराउने १४ वटा राष्ट्र पदक तालिकामा नेपालभन्दा पनि अगाडि रहे। नेपालभन्दा कम खेलाडी सहभागी गराउने तीन राष्ट्र अफगानिस्तान (दुई कास्य), म्यानमार (दुई कास्य) र सिरिया (एक कास्य) मात्र नेपालभन्दा पछाडि रहे यद्यपि पदक संख्याका आधारमा अफगानिस्तान र म्यानमार पनि नेपालभन्दा अगाडि नै रहे। नेपालभन्दा बढी दुई सय ५५ जना खेलाडी सहभागी गराएको पाकिस्तान पनि रजत पदक नजितेकै कारण मात्र तालिकामा पछाडि पर्यो। उसो त पदक संख्याका आधारमा पाकिस्तानले पनि चारवटा कास्य हात पार्यो।
पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको नेपालले यस्ता ठूला प्रतियोगितालाई कहिलेसम्म अनुभव आर्जनको थलो मात्र बनाइरहने भन्ने प्रश्न उत्तिकै टड्कारो छ।
दक्षिण एसियाली खेलकुद (साग) मै समेत आफ्ना खेलाडीले विगतको साख जोगाउन नसकिरहेको अवस्थामा एसियाली खेलकुदमा धेरै खेलमा ठूलो खेल टोली सहभागी गराउनु नै गलत निर्णय भएको एक खेल अधिकारी बताउँछन्। ‘हामीले दक्षिण एसियाली खेलकुदमै समेत आफ्नो विगतको साख जोगाउन सकिरहेका छैनौं। भारतमा भएको बाह्रौं सागमा पनि हामीले आफ्ना खेलाडीको प्रदर्शनलाई नजिकबाट नियाल्यौं। यस्तो स्थितिमा एसियाका सबै शक्ति राष्ट्रको जमघट हुने प्रतियोगितामा यति धेरै खेलाडी सहभागी गराउनु आवश्यक नै थिएन’, ती पदाधिकारीले भने। सन् १९९९ मा घरेलु मैदानमा आयोजना भएको दक्षिण एसियाली खेलकुदमा तेक्वान्दो र कराँतेले मात्र १४/१४ वटा स्वर्ण दिलाएपछि नेपाल पदक तालिकाको दोस्रो स्थानमा उक्लिएको थियो। तर त्यसपछिका साग खेलकुदमा भने नेपालको प्रदर्शन निरन्तर खस्कँदो छ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले खासगरी कराँते, तेक्वान्दो, बक्सिङ, उसु, जुडोजस्ता ‘पावर गेम्स’ मा आफ्नो पहिचान बनाएको छ। तर बाह्रौं सागमै पनि तेक्वान्दो र बक्सिङ नेपाललाई स्वर्ण पदक दिलाउन असफल भएकाले कराँतेलाई प्रतियोगितामा समावेश नै गरिएको थिएन। यस्तो स्थितिमा ठूलो धनराशि खर्च गरेर चीन, जापान, कोरियाजस्ता विश्व खेलकुदका हस्तीको उपस्थिति रहने एसियाली खेलकुदमा नेपालले धेरै खेलमा बढी खेलाडी सहभागी गराउनु अनावश्यक रहेको ती खेल अधिकारीको तर्क थियो। अठारौं एसियाडमा सहभागिताका लागि नेपालले सात करोड रुपैयाँभन्दा बढी रकम खर्च गरेको छ।
सन् १९५१ मा भारतको दिल्लीमा आयोजित एसियाली खेलकुदको पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको नेपालले यस्ता ठूला प्रतियोगितालाई कहिलेसम्म अनुभव आर्जनको थलो मात्र बनाइरहने भन्ने प्रश्न उत्तिकै टड्कारो छ।
एसियाली खेलकुदको ६७ वर्ष लामो इतिहासमा नेपालले एउटा संस्करणमा मात्र सहभागिता जनाएको छैन। अर्कोतिर एसियाली खेलकुदजस्ता ठूला प्रतियोगितामा खेलाडीको संख्या र पदकबीच कुनै सम्बन्ध नरहने पुष्टि पनि एसियाडको अठारौं संस्करणले नै गरिसकेको छ। अठारौं एसियाडमा लेबनानले केवल २९ जना खेलाडीलाई सहभागी गराएको थियो। तर लेबनानले प्रतियोगितामा एक स्वर्ण, एक रजत र दुई कास्य पदक जितेर खेलाडीको संख्याले पदक हार/जितमा कुनै असर नपार्ने गतिलो सन्देश दियो। त्योभन्दा पनि रमाइलो पक्ष भनेको केवल एक सय ६ जना खेलाडी सहभागी गराएको बहराइनले त १२ वटा स्वर्ण पदक जितेर शक्ति राष्ट्रलाई नै गतिलो चुनौती दियो।
खासगरी एथलेटिक्समा आफ्नो दबदबा कायम गरेको बहराइनले सात रजत र सात कास्यसमेत जित्दै आफूलाई पदक तालिकाको एघारौं स्थानमा उभ्यायो। यो एसियाडमा उत्तर कोरियाले समेत नेपालको भन्दा कम खेलाडी सहभागी गराएको थियो। एक सय ६८ जना खेलाडी मैदानमा उतारेको उत्तर कोरिया १२ स्वर्ण, १२ रजत र १३ कास्यसहित कुल ३७ पदक जित्दै तालिकाको दसौं स्थानमा रहन सफल भयो। यसैगरी केवल ४५ जना खेलाडी पठाएको जोर्डनले दुई स्वर्ण, एक रजत र नौ कास्य गरी कुल १२ वटा पदक जित्यो भने ५४ जना खेलाडी सहभागी गराएको इराकले पनि एक स्वर्ण र एक रजत पदक हात पार्यो। अझ ४३ जना मात्र खेलाडी सहभागी गराएको कम्बोडिया त दुई स्वर्ण र एक कास्य पदक जित्न सफल भयो।
केवल एक सय २१ जना खेलाडी मैदानमा उतारेको संयुक्त अरब इमिरेट्स (यूएई) ले पनि तीन स्वर्ण, ६ रजत र पाँच कास्यसहित कुल १४ वटा पदक हात पार्यो। एक सय ५२ जना खेलाडी पठाएको किर्गिस्तानले दुई स्वर्ण, ६ रजत र १२ कांस्य जित्यो भने एक सय ११ जना खेलाडी मात्र उपस्थित गराएको मकाउले पनि एक स्वर्ण, दुई रजत र दुई कांस्य गरी कुल पाँच पदक हात पार्यो। यसैगरी ६४ खेलाडी पठाएको तुर्कमिनिस्तानले एक रजत र दुई कांस्य, एक सय ३८ खेलाडी सहभागी गराएको साउदी अरेबियाले एक स्वर्ण, दुई रजत र तीन कांस्य तथा एक सय ३९ खेलाडी पठाएको लाओसले दुई रजत र तीन कांस्य हात पारे। केवल ३३ खेलाडी सहभागी गराएको कुबेतले पनि तीन स्वर्ण, एक रजत र दुई कांस्य पदक जित्न सफल भयो। पदक तालिकामा उपस्थिति जनाउन नसके पनि यो एसियाडमा ब्रुनाईले १५, भुटानले २४, यमनले ३८, ओमानले ४६, टिमोर लिस्टेले ६७ र माल्दिभ्सले एक सय ६ जना खेलाडी मात्र सहभागी गराएका थिए। यसैगरी अठारौं एसियाडमा नेपाली टोली वा खेलाडीले हराएका अधिकांश प्रतिद्वन्द्वी भुटानका थिए।
नेपाली खेलाडीले भुटानबाहेक अन्य राष्ट्रका प्रतिद्वन्द्वीलाई विरलै मात्र हराएका छन्। प्रश्न उठ्नु स्वाभाविक हो, के एसियाडमा ६७ वर्ष लामो अनुभव बटुलेको नेपालको हैसियत अठारौं संस्करणसम्म आइपुग्दा भुटानी खेलाडीलाई मात्र हराउनुमा सीमित रहनु स्वाभाविक हो। एसियाड यात्राबाट फर्किएपछि नेपाली खेल पदाधिकारीले अन्य राष्ट्रको खेलाडी संख्या, पदकको हार/जित, आफ्ना खेलाडीको प्रदर्शन र सहभागितामा भएको खर्चजस्ता कुरालाई आधार मानेर पनि गम्भीर विश्लेषण गर्नु आवश्यक छ। यसबाहेक वर्षौंदेखि खेल पदाधिकारीको आपसी विवादमा रुमलिँदै आएको नेपाली खेलकुदलाई यस्ता विवादले पुर्याउँदै आएको असरको विषयमा समेत गम्भीर बहस हुन आवश्यक छ।
अठारौं एसियाडको पूर्वसन्ध्यामा समेत तेक्वान्दो, कराँते, कुस्ती, टेनिसलगायतका खेलमा खेलाडी छनोटदेखि लिएर प्रशिक्षण सञ्चालनमा समेत संघका पदाधिकारीबीच विवाद र आरोप–प्रत्यारोप भएको तथ्य कसैसँग लुकेको छैन।
- जकार्ता (इन्डोनेसिया) बाट फर्केर।