लागू नहुने कानुनको के काम ?

लागू नहुने कानुनको के काम ?

उपाध्यायदेखि उँधो झर्दै, झर्दै, झर्दै आएको दलित हुने परम्परा कुनै ठाउँमा आएर पानीसमेत नचल्ने भएर उभिएको छ


कानुनी रूपमा यो कुरा उठाउनु अब सायद असान्दर्भिक हुन्छ। उसो त २०२१ सालकै मुलुकी ऐनले जातिपाति र छुवाछूतको विषयलाई अपराधका रूपमा करार गरिसकेकै हो। तर कानुनले वर्जित गरे पनि त्यसलाई लागू गर्ने भूमिकामा रहेकाहरू नै पूर्वाग्रही हुनाले सामाजिक दबाबको आश्रय लिँदै कानुन निष्क्रिय गराउने काममा सक्रिय हुने गरेकै छन्। प्रहरी चौकी हुँदै जिल्ला प्रशासन कार्यालयसम्म पुगेका कैयौं जातिवादी मुद्दा पीडितकै विपक्षमा फैसला हुँदै आएकै हुन्। खासमा अधिकांश कर्मचारी माथिल्लो जातका भनी मानिएका समुदायका हुने र तिनको सहानुभूति आफ्नै समुदायप्रति बढी रहने भएकाले यो जातीय विभेदको जरोलाई कानुनको धारले अझैसम्म छिनाउन सकेको छैन।

अचम्मलाग्दो के छ भने ठूलाठूला क्रान्तिकारी कुरा गरेर नथाक्ने र क्रान्ति नै लडेर आएका हौं भन्ने दलहरूसँग आबद्ध व्यक्तिहरू पनि निजी सन्दर्भमा आइपुग्दा कि मौन बस्ने कि परम्पराको रटान गर्नेहरूमा नै रूपान्तरण हुने गरेका भेटिन्छन्। गाउँगाउँमा चेतनाको ज्योति बाल्यौं भनेर गर्व गर्नेहरूकै अघि दलित भनिने जातिहरूमाथि भइरहने छुवाछूतका घटनामा भरिसक्य छलफलमा बस्न नपरे हुनेजस्तो गरिरहेका हुन्छन्। लाजलाग्दो त के छ भने जुन समुदायको जनसंख्या बढी छ, भोलिको चुनावमा पाइने भोटको आकलनसँग तिनीहरूबाट हुने प्रतिक्रियाले निर्भर गरेको देखिन्छ।

२००७ सालको क्रान्तिपछि नै सामाजिक परिवर्तनका आवाज उठ्दै आएका छन्। २००७ सालपछि बाहुनहरूले पनि रक्सी र कुखुरो खान थाले भनेर त्यसको पक्ष र विपक्षमा समाज विभाजन भएको थियो भनिन्छ। कैयौं बूढाहरूले कसैलाई गाली गर्नुपरे ‘तेरा घरमा कांग्रेस पसोस्’ भनी सराप्ने पनि गरिन्थ्यो रे। त्यस बेलासम्म क्षेत्री–बाहुनले कपाल अनिवार्य खौरिनुपर्नेमा युवाले कपाल पाल्नु पनि ठूलै सामाजिक विकृतिको रूपमा हेरिन्थ्यो रे। उतिबेलै छुवाछूतविरुद्ध आवाज उठाउने माथिल्ला जातका मानिनेहरूले आफूलाई परिवर्तन गर्न रक्सी र कुखुरो खाए। यसलाई विद्रोह मानियो। तर के विद्रोहका नाममा नशालु पदार्थ सेवन गर्नु वा कुखुरा, भैंसी, सुगुरको मासु खानु परिवर्तन थियो ? 

आज करिब सत्तरी वर्षपछि पनि त्यो माथिल्लो जात भनिनेले रक्सी, कुखुरो, भैंसी आदिको मासु खानुभन्दा अघिल्लो समाज सुधार के गरेको छ ? के उसले दलित त के आफूभन्दा एक खुट्किलोमुनिको मानिने जातसँग बिहेबारी गरेको छ ? विद्रोह गर्नेहरूलाई बिहे गर्नका लागि छनोटको स्वतन्त्रता रहे पनि जातपातले छेक्दैन भन्ने सामाजिक मान्यताको विकास भएको छ ? कानुनले सबैलाई खुला गरे पनि सामाजिक व्यवहारमा कानुनलाई प्रवेश गरिएको छ ? 

छुवाछूतको कुरा कतिसम्म छ भने उपाध्याय भनिने ब्राह्मण परिवारले जैसी भनिने अर्को बाहुन परिवारसँग छूतको व्यवहार गर्छ। जैसीको घरमा पाकेको भान्सा उपाध्यायलाई चल्दैन। उपाध्यायको चुलामा जैसीलाई पिरा ओछ्याइँदैन। बिहेबारीको कुरा त कता हो कता। यता जैसी भनिनेले क्षेत्रीलाई आफ्नो चुलोमा चढ्न दिँदैनन्, न क्षेत्रीको भान्सामा जैसीले हात धुन्छन्। उपाध्यायदेखि उँधो झर्दै, झर्दै, झर्दै आएको यो दलित हुने परम्परा कुनै ठाउँमा आएर पानीसमेत नचल्ने भएर उभिएको छ।

दलित र तिनका पत्नी त थोकमै अछूत भइहाले, तिनको कुरा किन गरिरहनु ? उपाध्याय, जैसी, क्षेत्री भनिनेहरूका घरभित्र प्रत्येक महिना तिनका आमा, पत्नी, र दिदीबहिनीहरू चार दिनसम्म अछूत हुन्छन्। तिनले पानी खाने गिलास, खाने थाल, सुत्ने ओछ्यानसमेत अलग गरिन्छ। अझ पश्चिम नेपालमा त पानी खाने धारो र कुवासमेत भिन्दै हुन्छ रे। छाउपडी प्रथालाई कानुनले अपराध माने पनि त्यसलाई कठोरताका साथ जोगाएर राख्ने समाज आज पनि आश्चर्यजनक रूपमा शक्तिशाली छ। यो छाउपडी त काठमाडौंका चारपाँचतले घरका छतहरूमा बनेका साना मन्दिरजस्ता कोठाहरूमा भूमिगतरूपमा सुरक्षित गरिएको पनि भेटिन्छ। आफूलाई शिक्षित, सभ्य र आधुनिक भनेर मञ्चमा निकै कुर्लिने दिदीहरू आफैं पनि र आफ्ना छोरी–बुहारीहरूलाई समेत हरेक महिना अछूत बनाइरहेका हुन्छन्। कारण सोध्यो भने कतिले परम्परालाई दोष दिन्छन्, कतिले यो आफ्नै स्वतन्त्रता हो भनिरहेका हुन्छन्। आफ्नै घरभित्र अछूत पालेर बसेका पुरेतहरू, तिनै अछूत पत्नीका सिपालु हातहरूले पकाएका परिकार खाएर ठूलो आवाजमा डकारिरहेका हुन्छन्।

यो कस्तो राज्य हो, जसले कानुन त बनाउँछ तर लागू गराउन सक्दैन। के देशको कानुन भनेको कुनै लेखकले लेखेको साहित्यिक कृतिजस्तै हो, जसलाई मन हुनेले पढ, मन नहुनेले नपढ ?

जनै लगाएर जातको पहिचान राख्नेहरूका घरभित्रका कुनै पनि महिलाको काँधमा जनै हुँदैन। अनि तिनै महिलाले हरेक जनैपूर्णिमामा सासू भएर ज्वाइँका हातमा जनै समर्पण गर्दछिन्। जसलाई जनै लगाउने अधिकार छैन तिनैले जनै समर्पण गरिरहेकी हुन्छिन्। हरेक महिना अछूत हुने र कहिल्यै जनै नलगाउने ती महिलाले पस्किएर दिएको खाना खाने पण्डितहरूको यो अछूत सिद्धान्त कहाँनेर चुकेछ होला ? 

परिवर्तित राजनीतिक अवस्थामा पनि संस्कृतिका नाममा सबै नेता तथा सरकार प्रमुखहरूले जनता खुसी पार्ने रणनीतिमा यथास्थितिकै भूमिका निभाइरहेका हुन्छन्। मनमा आस्था र विश्वास नभए पनि सस्तो लोकप्रियताकै लागि पनि त्वं शरणम्को अवस्थामा देखिन्छन् उनीहरू। परिवर्तन शब्द जति कर्णप्रिय छ व्यवहारमा त्यो त्यति नै ठिहिरो वा तातो रहेछ भन्ने उनीहरूले बुझिरहे झैं लाग्छ। अझ नेपालको पछिल्लो राजनीतिक सन्दर्भमा कुरा गर्ने हो भने सबैभन्दा बढी क्रान्तिकारी मानिएका राजनीतिक पार्टीका कार्यकर्तालाई अचेल गाउँ वा सहर जतासुकैका परम्परागत मठमन्दिरमा आफ्नो पार्टीगत सहभागिता जनाउने नाममा मन्दिरनिर्माण समिति, मन्दिर जीर्णोद्धार समिति, मन्दिर संरक्षण समिति, कीर्तन मण्डली समिति आदिहरूमा सक्रियतापूर्ण सहभागिता भइरहेको देखिन्छ। सामाजिक संस्थाको आर्थिक सहयोगार्थ गाउँगाउँमा लगाइने पुराण समितिहरूमा प्रतिस्पर्धात्मक रूपले हस्तक्षेप गरिरहेका भेटिन्छन्। पहिला–पहिला धर्म र परम्पराको कुरा गर्नेहरूलाई समेत कारबाही गर्नेहरू अहिले धर्म निरपेक्ष संविधानको आडमा पैसा आउने भए पुराण आयोजक समितिको टीको निधारभरि लगाएर श्रीकृष्ण गोविन्द हरे मुरारे, हे नाथ नारायण वासुदेव भजिरहेका हुन्छन्। तैपनि ती पुराण समितिहरूमा त के पुराणपरिसरमै पनि दलित भनिनेहरूलाई प्रवेश शून्य गरिएकै देखिन्छ।

गाउन त धेरै जनवादी गायकहरूले दलितहरूका श्रमको प्रशंसाका गीतहरू गाए तर आज पनि कुनै दमाई, कामी, सार्की, पोडे, डोम, आदिहरूलाई स्वतन्त्र रूपले मन्दिरहरूमा प्रवेश गरिरहेको देख्न पाइँदैन। यस्ता प्रश्न गरेमा समाज परिवर्तन राजनीतिक परिवर्तनजस्तो चाँडो हुँदैन भनेर निकै बौद्धिक भाषण दिन्छन् र आफूलाई जनैको सुरक्षा कबचले बाँधिरहन्छन्।

आज त झन् देशमा संसारकै संसदीय इतिहासमै पहिलोपटक दुईतिहाइ बहुमत प्राप्त गरेको कम्युनिस्ट पार्टीको सरकार छ। तर यो सरकारको नेतृत्वमा पनि जनैकै लठारो लह्रो देखिन्छ। आज पनि गाउँगाउँमा दलितहरूलाई पानीको धारो छुन नदिएको, अन्तर्जातीय विवाह गर्ने जोडीहरूलाई गाउँनिकाला गरिएको, उनीहरूको बस्तीमा जाने बाटाहरू बन्द गरिएका खबर हरेक दिन पत्रिकाका प्रथम पृष्ठमै पढ्न पाइन्छ।

आफू लुकेर दलित बस्तीमा पसेरे जे खाए पनि, जे गरे पनि, समाजलाई देखाउने बेलामा आदर्शको भलाद्मी अनुहार देखाएर यो समाजलाई ढोंगीहरूको सुन्दर नगर बनाउने काम उपल्लो मानिएको जाति, धनिक वर्ग र ढोंगी संस्कृतिका संरक्षक मानिएकाहरूको नै हो। कागज, भाषण र मञ्चमा देखिने हरेक आदर्शहरू निर्णयक क्षणमा सदैव मौन बस्दै आएका छन्। क्रान्तिकारी परिवर्तनका संवाहकहरू गतिहीन समाजका स्थापक भइरहेका छन्।

भर्खरै जनैपूर्णिमा पर्व सकिएको छ। धुमधामसँग तागाधारीहरूले यो पर्वलाई मनाए। सांस्कृतिकरूपमा विकसित भएर आएको पर्व मनाउनु बेठीक होइन। रमाइलो र खुसी जीवनको पहिलो सर्त हो। त्यो पर्व मनाउने कुरामा केकस्तो खर्चबर्च, रंगीचंगी भयो त्यो पनि सरोकारको विषय होइन। सरोकार हो, त्यो पर्वसँग हजारौं वर्षदेखि टाँसिएर आएको छुवाछूत प्रथाको नवीकरण। जनैपूर्णिमा जुन धुमधामले मनाइन्छ, त्यसले उस्तै धुमधामका साथ समाजको ठूलो समुदायलाई हरेक वर्ष अछूत नै रहेको घोषणा गरि नै रहन्छ। अनि एउटा ठूलो समाज विस्तारै फेरि पछि सर्दै आँगनको डिलमा गएर बस्छ। यस युगमा आइपुग्दा पनि हामी यो मान्यताका डोरीले कसिएका छौं कि समाजका अमूकअमूक जाति र थरका मानिसले छोएको पानीसमेत पनि पिउनु हुँदैन। मानिसले छोएको मानिसले खानै नहुने त्यस्तो के चीज हुन्छ, जुन खानाले स्वास्थ्यलाई नै हानि गर्छ ? 

योभन्दा घिनलाग्दो परम्परा अर्को के हुन सक्छ ? के मानिसका अघि मानिस नै त्यति हदसम्म घिनलाग्दो हुन सक्छ ? हुन सक्छ भने उसलाई त्यस्तो बनाएको कसले ?

कुनै कालमा सतीप्रथा परम्परागत र धर्मसम्मत मानिन्थ्यो। गरुढ पुराणमा त्यसलाई पति मरेपछि पत्नीले गर्नैपर्ने अनिवार्य कर्मका रूपमा व्याख्या गरिएको छ। आज पनि पढ्न सकिन्छ। तर त्यसलाई तात्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको एक आदेशले बन्द गरियो। त्यो घोषणालाई परम्परा र धर्मका नाममा गर्न नहुने काम भनी कसैले विरोध गर्न सकेन। सय वर्षदेखि आज हाम्रा आमाहरू बाबुको लाससँग बलिरहेका छैनन्। आश्चर्य लाग्छ– यो कस्तो राज्य हो, जसले कानुन त बनाउँछ तर लागू गराउन सक्दैन। के देशको कानुन भनेको कुनै लेखकले लेखेको साहित्यिक कृति जस्तै हो, जसलाई मन हुनेले पढ, मन नहुनेले नपढ ?

जनै लगाउनेले लगाउनु तर त्यसलाई मानिस–मानिसका बीच भावनात्मक र विभेदकारी रेखाको बिम्बका रूपमा किन चित्रित गर्नु। किन कुनै एक खास जातिका पुरुषहरूले मात्र त्यसलाई वरण गर्नु हुने र त्यो वरण गरिसकेपछि त्यो बालक उसको हिजोसँगै खेलेको र सँगै बसेर खाएको साथीभन्दा भिन्दै र अलग्गै हुनुपर्ने ? यदि त्यो स्वस्थकर कुरो हो भने सबै पुरुष महिलाले किन लगाउनु नहुने ? 

२०४० सालमा विवाह गर्ने अघिल्लो दिन मेरो व्रतबन्ध गरियो र मेरो आङमा पहिलोपटक जनै पर्‍यो। बेहुली भित्र्याएको भोलिपल्ट बिहान नुहाउँदा खोलेको जनै अर्को वर्ष जनैपूर्णिमाको दिन फेरि सासूले टीको लगाएर हत्केलामा हालिदिँदा थापेको थिएँ। हरेक वर्ष जनैपूणिमामा मैले हत्केलामा जनै थाप्दै आएको छु। तर त्यसले मेरो आङमा कहिल्यै बास पाउँदैन। जनैसँग मेरो कुनै दुस्मनी छैन, त्यो लगाएरै पनि म यो मानवताविरोधी छुवाछूत प्रथाबाट मुक्त रहन सक्छु तर पनि म यो त्यसकारण लगाउँदिन कि त्यो लगाउनेबित्तिकै म मेरोभन्दा तल्लो मानिएको जातको मानिसको अघि एउटा विभेदकारी विचारवाहक व्यक्तिमा परिणत हुन पुग्छु। मलाई मानिसले छोएको मानिसले खान किन हुँदैन भन्ने कुरा कहिल्यै कसैले भरपर्दो गरी सम्झाउनै सकेन नत्र म पनि बाहुन हुँदो हुँ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.