अब आमा बाँचिन्
बर्दिबास : जातीय भेदभावको सिकार भई विष सेवन गर्न बाध्य भएकी महोत्तरी बर्दिबास नगरपालिका–४ भब्सीकी बुद्धमाया विश्वकर्माको जीवन पछिल्लो समय केही सहज भएको छ।वैशाख १५ गते साँझ पानी छोएको निहुँमा बुद्धमायाकी छोरी मनीषालाई छिमेकी कमला गिरीले कुटपिट गरेकी थिइन्। आफ्नो छोरीलाई कुट्नुको कारण के हो भनी छिमेकमा न्याय माग्दा उल्टै कमलाका भान्जा रामबाबु दाहाल बुद्धमायामाथि जाइलागेका थिए।
न्यायको खोजीमा अदालत पुगेकी बुद्धमाया र मनीषाले असार २४ गते न्याय त पाइन्। तर, पीडिकहरू जेल जाने भएपछि बुद्धमायामाथि छिमेकीहरूले दबाब बनाए। त्यसपछि उनी डराइन्। दबाब सहन नसकेरे उनी विष सेवन गर्न बाध्य भइन्। विष सेवनपश्चात् गम्भीर भएकी उनलाई काठमाडौंमा उपचार गराई फर्काइएकी छ।
उपचारपश्चात् डेढ महिनापछि बाँचेर फर्किएकी बुद्धमायालाई देखेर उनको परिवारमा खुसी भएका छन्। छिमेकीबाटै अन्याय खेप्न विवश बुद्धमाया निको भएर फर्केसँगै पुरानै दैनिकीमा फर्किएकी छन्। ‘मैले जुन दुःख भोग्नुपर्यो त्यो अरूले नपरोस्’, बुद्धमायाले भनिन्, ‘समाजमा मिलेर बस्दा नै सबैको भलो हुन्छ।’