बाबुबिनाको बाल्यकाल

बाबुबिनाको बाल्यकाल

मेरो बायोलोजिकल बुवा र आमा को हो ? मलाई आजसम्म थाहा छैन। काठमाडौं क्षेत्रपाटीस्थित गणेश मन्दिरमा स्थानीय माहिली बज्यैले सालनालसहितको बेवारिसे शिशुको रूपमा मलाई उठाउनु भएको हो।


मद्यपान, धूमपान, जुवा र वेश्यावृत्ति नै मानिसका प्रमुख नकारात्मक आदत हुन्। जसले स्वास्थ्यसँगसँगै पारिवारिक, आर्थिक र सामाजिक पक्षलाई सखाप पार्छ। मेरा बुवा यी चारवटै आदतमा अभ्यस्त हुनुहुन्थ्यो। रक्सी नखाएको दिन हुँदैनथ्यो। चुरोट हरदम ओठमा च्यापिएकै हुन्थ्यो। जुवाका लागि सोल्टी क्यासिनोसम्म पुगेको मलाई थाहा छ। बुवाको वेश्यावृत्तिलाई लिएर घरमा कहिलेकाँही चर्चा हुने गरेको म अहिले पनि सम्झन्छु। जीवनको आखिरी एक वर्ष बुवाले यी सम्पूर्ण आदत छाड्नुभयो। तर, ढिला भइसकेको थियो। वर्षौंवर्षको गलत जीवनशैली र आदत सामु एक वर्षको सुकर्म निरीह बन्यो। बुवा क्यान्सरले बित्नु भयो।

छोराका लागि एउटा बुवाले गर्नुपर्ने भौतिक प्रबन्धमा उहाँले कहीँ कतै कमजोरी गर्नु भएन। तर, म उहाँले भनेजस्तै हुनुपर्ने उहाँको बुझाइका कारण बाबु छोराको सम्बन्ध प्रेमपूर्ण र सौहार्द बनेन। उहाँको सर्तपूर्ण प्रेमले ‘बुवाले मलाई माया गर्नु हुन्न’ भन्ने धारणा म भित्र सदैव रह्यो। अहिले म जसलाई बुवा भनेर कुरा गरिरहेको छु। उहाँ मेरो ‘बायोलोकिल बुवा’ होइन। मेरो बायोलोजिकल बुवा र आमा को हो ? मलाई आजसम्म थाहा छैन।

२ असार २०१८ मा काठमाडौं क्षेत्रपाटीस्थित गणेश मन्दिरमा स्थानीय माहिली बज्यैले सालनालसहितको बेवारिसे शिशुको रूपमा मलाई उठाउनु भएको हो। उहाँले रक्तकालीस्थित सन्तान नभएको परिवारमा मलाई सुम्पिदिनु भयो। उक्त परिवारमा तीनजना दाजुभाइ रहेछन्। त्यसमध्ये कान्छा भोगेन्द्रमान २००७ सालको जनक्रान्तिमा १६ वर्षको उमेरमा सहिद भएका रहेछन्। माहिला कृष्णमानको धर्मपुत्रको रूपमा म सिंह श्रेष्ठ परिवारको सदस्य बन्न पुगेँ।

म धर्मपुत्र बनेर उक्त घरमा छिरेको समय श्रेष्ठ परिवार तीव्र समस्याबाट गुज्रिरहेको रहेछ। गणेशमान सिंहको तेह्रदिने दाजुभाइभित्र पर्ने हाम्रो परिवार पनि कांग्रेसको राजनीतिमा आबद्ध रहेछ। २०१७ सालको काण्डपश्चात गणेशमान सिंह जेल गएपछि परिवारले प्रतिष्ठा मात्र गुमाएन, आर्थिक हैरानी पनि बेहोर्नु पर्यो । यही दुःखको कालखण्डमा म कृष्णमानको धर्मपुत्र बन्न पुगेको थिएँ। एक्लो सन्तान भएका कारण म बुवाको प्यारो थिएँ। बुवा जहाँ जाँदा पनि मलाई सँगै लिएर जानुहुन्थ्यो रे। आमाले मलाई भन्नु भएअनुसार म चार महिनाको हुँदा नै बुवाले प्लेनमार्फत मलाई जनकपुर लैजानु भएको थियो रे। बुवाको हातमा पैसा पर्योन भने मैले इच्छा गरेका चिजहरू पनि किनी दिनुहुन्थ्यो। मलाई बुवाले साइकल किनी दिएको याद छ। त्यो जमानामा साइकल किन्नु चानचुने कुरा थिएन।

यसरी हेर्दा बुवाले मेरा लागि आफूले सकेको सुखसुविधा उपलब्ध गराउनु भएकै हो। तर, उहाँको रक्सी पिउने आदतले आमा सधैं प्रताडित बन्नुपथ्र्यो। रक्सी नखाँदा असल देखिने बुवा रक्सी खाएपछि उग्र बन्नुहुन्थ्यो र आमालाई पिट्नु हुन्थ्यो। उहाँले मलाई पनि तथानाम मुख छाड्नुहुन्थ्यो। उहाँले गर्ने एक अश्लील गालीले मेरो कलिलो मनमा गहिरो चोट पुर्याउएको थियो। खासगरी आमालाई अपमान गरेर गरिने उक्त गालीको सन्दर्भ मैले कलिलै उमेरमा स्पष्ट बुझेँ। नेवारको टोलमा कतिपय छिमेकीहरूले मलाई नेवारीमा ‘बर्मु’ (बाहुन) भन्ने गर्थे। आफ्नो अनुहार बाहुनको जस्तो छ भन्ने सुन्दै आएको मैले आठ वर्षको हाराहारीमा एक आफन्तमार्फत आफू धर्मपुत्र रहेको थाहा पाएँ। बुवाले बारम्वार गर्ने गालीका पछाडि आफू धर्मपुत्र रहेको तथ्य थाहा पाएपछि म धेरै दुःखी भएँ। उहाँ मेरो बुवा जस्तै लागेन वा बुवा मायालु छैनन् भन्ने लाग्न थाल्यो।

धनुषाको नराहा र सर्लाहीको जानकीनगरमा रहेको करिब ६ बिघा खेत नै हाम्रो परिवारको आयस्रोत थियो। अधियाँमा कमाउन दिएको उक्त खेतको आम्दानी बुझ्न बुवा त्यहाँ जानुहुन्थ्यो। म करिब नौ वर्षको थिएँ होला, बुवाले मलाई पनि नराहा लिएर जानु भएको थियो। एक बिहान नराहामा बुवाले मलाई ‘नुहा कि नुहा’ भन्नुभयो। मलाई नुहाउन पटक्कै मन थिएन। बुवाको जिद्दी सामु केही नलाग्ने देखेपछि तेल घसेर मात्र नुहाउँछु भनेँ। वरपर तेल पाइने अवस्था थिएन। तर, बुवाले तेल उपलब्ध गराएरै छाड्नु भो। अब भने तर्क र बहानाबाजी नचल्ने भयो। म फुत्त भागेँ। बुवाको हातमा ठूलो ढलोटको लोटा थियो। मलाई त्यसैले हिर्काउनु भयो। धन्न निसाना चुक्यो र म बाचेँ। यो घटनाले मभित्र ठूलै भूकम्प गयो। मर्नसमेत सक्ने गरी सजाय दिने बुवाले मलाई माया गर्नुहुन्न भन्नेमा म स्पष्ट भएँ। यसपछि जीवनभर बाबु छोराको सम्बन्ध सुमधुर हुन सकेन।

मलाई बुवाले पैसा दिन छाड्नुभयो। म १४, १५ वर्षको उमेरबाटै व्यावसायिक चित्रकार बनेर पैसा कमाउन थालिसकेको थिएँ। खासगरी थाङ्का पेन्टिङमार्फत म राम्रै आम्दानी गर्थें। सन् १९७९ मा म चित्रकारको रूपमा रसिया गएँ। म रसिया गएको कुरामा बुवाले खुबै गर्व गर्नु हुन्थ्यो। उहाँले छरछिमेकमा ‘गणेशमान मन्त्री भएर चीन गए। मेरो छोरो रसिया गएर आयो,’ भनेर सुनाउँदै हिँड्नु भएको मलाई अहिले पनि याद छ।

बुवा बिरामी भएपछि जँचाउन वीर अस्पताल लगियो। उहाँलाई क्यान्सर भएको कुरा डाक्टरले सुनाए। बुवा अब बाँच्नुहुन्न भन्ने भएपछि म मर्माहत भएँ। त्यसदिन ‘यही मान्छेले मलाई हुकाईबढाइ गरेको त हो नि’ भन्ने लाग्यो। म खुबै रोएको थिएँ। आफूलाई क्यान्सर लागेको थाहा भएपछि बुवाले खानपान र आनिबानीमा पूरै सुधार गर्नु भयो। त्यसपछिको एक वर्ष बाबु छोराको सम्बन्ध पनि केही खुकुलो र आत्मीय बन्यो।

क्यान्सर लागेर करिबकरिब थला परिसकेपछि बुवाले सकी नसकी आफैं गएर मेरो नागरिकता बनाइदिनु भयो। ठूलो बुवाको परिवारले मलाई अंश दिँदैनन् भन्ने भयका कारणले नै बुवाले मेरो नागरिकता बनाइदिनु भएको थियो। यसरी हेर्दा मेरो बुवाले मेरो चिन्ता र प्रेम गर्नुहुन्नथ्यो भन्ने होइन। तर उहाँको आफूले भनेको जस्तै म बन्नुपर्छ भन्ने आग्रहका कारण म उहाँसँग सहज बन्न सकिनँ।

यो मेरा मात्र होइन, अधिकांश बाबुहरूको कथा हो। हाम्रो समाजमा बुवा परिवारको सुरक्षा दिन बडीगार्ड जस्तो र आमा सेवा गर्ने सेविका जस्तो देखिन्छ। जसले सुरक्षा दिन्छ, उसले सुरक्षा दिनेलाई गुलाम बनाउँछ। बाबाले सन्ततिलाई मैले भनेको मान भनेर दबाब दिनु यही सुरक्षाको मनोवृत्तिबाट जन्मिएको हो। आफूप्रति गरेका लगानीका कारण सन्तान बाबुप्रति श्रद्धावान् बन्न त पुग्छन्। तर बाबु शासकको रूपमा प्रस्तुत भइदिँदा डराउन बाध्य हुन्छन्। जहाँ डर हुन्छ, त्यहाँ प्रेम हुँदैन। मेरो बुवा र मबीच पनि डरको पर्खाल ठडियो, जहाँ प्रेम छिर्न सकेन।

आमाले सन्तानका लागि एक पटक प्रसव पीडा झेल्छिन्। तर बाबुले सन्तानको लागि आफू नमरुन्जेल प्रसव पीडा झेलिरहेको हुन्छ। सन्तान बिग्रिए पनि बाबुले जिम्मेवारी लिनुपर्छ। सन्तानले पढेन भने फलानाको छोराले पढेन। असामाजिक कार्य गर्योत भने पनि फलानाको छोराले गर्योर। बाबु हरेक पल सन्तानसँग जोडिएर प्रसव पीडामा हुन्छ। तर उसको शासकीय अहंकारको कारण बाबु ‘बाह्र छोरा तेह्र नाति बूढाको धोक्रो काँधै माथि’ बन्न बाध्य हुन्छ।

अन्त्यमा, मेरो बुवा पनि आम बुवाहरूजस्तै हुनुहुन्थ्यो। सन्तानको सुखका लागि प्रतिबद्ध तर आफू अनुकूलको सन्तान बन्नुपर्छ भन्ने आग्रहबाट निर्देशित।


पापा मेरो साथी


  • क्वान्टम (विकासानन्दका छोरा)

पापाको स्मरण गर्दा एक जना दाह्रीवाल मानिसको याद आउँछ। मैले दाह्री नभएको पापा कहिल्यै पनि देखेको छैन। म बच्चैदेखि मामुसँगभन्दा पापासँग नजिक छु। मैले भनेको र मागेको हरेक कुरा पापाले मान्नुहुन्छ। यो हुँदैन र सकिँदैन कहिल्यै भन्नुहुन्न।

मलाई आजसम्म पापाले चित्त दुखाउनु भएको छैन। कहिलेकाहीँ हामी सम्पूर्ण परिवार बाहिर घुम्न जाने योजना बनाउँछौं। तर, अन्तिममा पापाको व्यस्तताको कारण जान पाइँदैन, त्यस्तो बेला चित्त दुख्छ। तर पापाले जानाजान मलाई कहिल्यै पनि दुःखी बनाउनु भएको छैन।

मेरो पापाले मेरा इच्छा, निर्णय र चाहनाको जहिल्यै पनि सम्मान गर्नुहुन्छ। यसो गर, उसो नगर, पढाइ यस्तो हुनुपर्छ, यति मार्क ल्याउनुपर्छ जस्तो कुरा पापाले कहिल्यै पनि भन्नु हुन्न। उहाँले मलाई कुनै पनि लिमिटेसनमा राख्नु भएको छैन। म आफूलाई लागेको काम गर्न पूर्ण स्वतन्त्र छु।

एकचोटी पापा, ममी र दिदी काभ्रेको नमोबुद्ध गएका थियौं। मैले एक ठाउँमा हाम फाल्छु भनेँ। ममी डराउनु भयो। तर पापाले ‘हाम फाल, केही भयो भने म छु भन्नुभयो।’ हाम फालेपछि मलाई सामान्य चोट लाग्यो। त्यसबेला पापाले ‘सन्तानको हड्डी भाँचियो भने जोड्न सकिन्छ तर दिल भाँचियो भने जोड्न सकिन्न,’ भन्नु भएको थियो। यो कुरा मलाई जहिले पनि याद आइरहन्छ।

मलाई स्कुल जान मन लागेन भने पापाले कहिल्यै जाउ भन्नु हुन्न। तर, मेरा साथीका बुवाहरू जसरी पनि स्कुल जाउ भन्नुहुन्छ। यो देख्दा मेरो पापा अरूको बुवाहरूभन्दा निकै फरक हुनुहुन्छ जस्तो लाग्छ। म पापासँग जुनसुकै कुरा पनि गर्न सक्छु। गल्ती भए नलुकाई भन्न सक्छु। पापा मेरो साथी जस्तै हुनुहुन्छ।

(ईश्वर दाहालसँग गरिएको कुराकानीमा आधारित)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.