हदै केयर : पहिले उहाँले, अहिले मैले
बुवाको स्वभाव कम बोल्ने खालको छ। घरमा बोलचाल गर्ने, रमाइलो गर्ने भन्ने छैन उहाँलाई। तर, मलाई छेउमै देखिरहनुपर्ने।
म परिवारको एकमात्र सन्तान। बुवाआमाको विवाह भएको १६/१७ वर्षपछि जन्मिएँ। लामो समयसम्म सन्तान नभएपछि ममीले हरेक दिन भगवान्लाई पूजा गर्नुहुन्थ्यो रे। सन्तान हुने आश मारिसकेको परिवारमा मेरो जन्म भयो। त्यसपछि घरमा खुसियाली नै छाएको थियो रे। बुढेसकालमा जन्मिएको सन्तानलाई बुवाआमाले खुबै केयर गर्नुभयो, अरूले देख्दा पनि झिँजै लाग्ने गरी।
मेरो बुवा बैरागी काइँला हरदम मेरो बारेमा सोधीखोजी गर्नुहुन्थ्यो। टिनएजको बेला त रिस पनि उठ्थ्यो। जति बेला पनि कति चासो लिनु परेको होला भन्नेजस्तो लाग्ने। साथीहरू पनि ‘तिम्रो बुवाले त अति गर्नुहुँदो रहेछ’ भनेर जिस्क्याउँथे। प्लस टु पढ्दा पनि ४ बजेभित्र घर पुगिनँ भने बुवालाई म्यासेज गर्नुपर्थ्यो।
एउटा घटना सम्झन्छु। ब्याचलर पढ्न म सिंगापुर गएकी थिएँ। त्यति बेला पनि बुवा र मेरो दिनमै दुईतीनपटक कुरा हुन्थ्यो। मेरो उता परीक्षा छ भने यता बुवाले ममीलाई मन्दिर पठाउनुहुँदो रहेछ पूजापाठ गर्न, छोरीको परीक्षा राम्रो होस् भनेर।
हिजोआज भने बुवाको केयर मैले गरिरहेको छु। बुवा बूढो हुँदै जानुभयो। स्वास्थ्य पनि कमजोर बन्दै गयो। अहिले उहाँको फोन आएन भने मलाई पीर हुन्छ। समय उल्टो भएको छ। अहिले म कल गरिरहन्छु। विभिन्न रोग छ, केही भयो कि भनेर अत्तालिन्छु। अहिले म अभिभावक र उहाँ बच्चाजस्तो हुनुभएको छ। उहाँले अहिलेसम्म मरो प्लानका बारेमा पनि सोध्नुभएको सम्झना छैन। यसो गर, उसो नगर भनेर उहाँले मलाई कहिल्यै प्रेसर पनि दिनुभएन।
मलाई नै छेउमा राखेर बुवाले मलाई गाली गर्नुभएको अनुभव छैन। मेरो सट्टा आमाले गाली खानुपर्छ। आमाले पछि मलाई भन्नुहुन्छ। म कतै गएँ र उहाँसँग कुरा भएन भने बुवाले आमासँग असन्तुष्टि पोख्नुहुँदो रहेछ। बुवाको स्वभाव कम बोल्ने खालको छ। घरमा बोलचाल गर्ने, रमाइलो गर्ने भन्ने छैन उहाँलाई तर मलाई छेउमै देखिरहनुपर्ने। उहाँको रमाइलो भनेकै काम हो कि। कामबाहेक अरू थोक छैन जस्तो लाग्छ।
बिहान खाजा आफैं बनाएर खानुहुन्छ। के खान मिल्ने, के नमिल्ने उहाँलाई थाहा छ। ११ बजेतिर खाना खाएपछि पढ्ने, लेख्ने काम गर्नुहुन्छ। के पढ्नुहुन्छ, के लेख्नुहुन्छ, सेयर गर्नुहुन्न। बुवासँग गफ गरुम् भन्ने नै हुँदैन।
बुवासँग डर लाग्छ मलाई। उहाँको पर्सनालिटी पनि त्यस्तै किसिमको छ। मलाई केही नगरे पनि, केही नभने पनि उहाँसँग डर लाग्छ। बोल्नु पर्योप भने उहाँको मुड हेरेर बोल्छु। परिवारमा पहिल्यैदेखि उहाँसँग सबै डराउने। तर, हृदयचाहिँ कोमल छ उहाँको। मलाई किन उहाँसँग डर लाग्छ, मलाई नै थाहा छैन।
सानैदेखि प्रायः म बुवाकै साथमा हुर्किएँ। बुवाका कार्यक्रमहरूमा पनि म बाक्लै जान्थेँ। बुवा एकेडेमीमा छँदा विभिन्न कार्यक्रम भइरहन्थ्यो। त्यस्ता कार्यक्रममा बुवाको साथ लाएर गएको त्यति बेलाका फोटोहरू हेर्दा रमाइलो लाग्छ। सातआठ वर्षको उमेरदेखि नै प्रज्ञाका कार्यक्रमहरूमा म पुग्थेँ। गोष्ठीमा त म कति गएँ कति !
हिजोआज बुवालाई सकेसम्म कार्यक्रम, गोष्ठी कम जानु भन्न थालेको छु। उहाँको पेट बेलाबेलामा बेस्सरी दुख्छ। त्यसैले बुवा कतै हिँड्दा म पनि गोठालोजस्तो उहाँसँगै हिँड्छु। सकेसम्म बुवालाई कार्यक्रममा नलगिदिनु भनेर आयोजकहरूलाई कन्भिन्स गराउन खोज्छु।
घरमा बस्दा बुवा ल्यापटपमा काम गरिरहनुहुन्छ। प्रविधिप्रति चाख छ उहाँलाई। ग्याजेटसँग रमाउनुहुन्छ। मसँग ट्विटर छैन तर उहाँ ट्विटर चलाउनुहुन्छ। फेसबुक चलाउनुहुन्छ। गत हप्ता भने मैले उहाँको फेसबुक अकाउन्ट डिएक्टिभ गरिदिएको छु। अहिले ट्विटरमा एक्टिभ हुनुहुन्छ। यस्ता सामाजिक सञ्जाल चलाउँदा उहाँ के के प्रश्न सोधिरहनुहुन्छ। यो के हो, त्यो के आयो भनेर चाहिने नचाहिने प्रश्न सोधिरहने। मलाई दिक्कै लगाउनुहुन्थ्यो, अहिले अलि कम भएको छ।
सानोमा मान्छेहरूले बुवालाई देखाएर ‘तेरो हजुरबुवा हो’ भन्दै मलाई जिस्क्याउँथे। एउटा समयमा बुवा बूढो हुनुहुन्छ भन्ने लाग्थ्यो। अहिले त झनै बुवा बूढो भइसक्नुभयो। त्यसैले उहाँको केयर गरिरहेको छु।
(कवि वैरागी काइँलाकी छोरी नामोतीसँग किरण दहालले गरेको कुराकानीमा आधारित)