म बुवाको संगीत
बुवाको पछिल्लो महाकाव्य ‘ऋतम्भरा’ पूरा हुन अलि बाँकी छ। उहाँलाई पुनर्लेखन नगरी चित्त बुझ्दैन। मैले बुवाकै महाकाव्यमा संगीत हाल्दैछु। उहाँको ‘राजेश्वरी’, ‘राष्ट्रनिर्माता’ लगायतका कृतिमा पनि संगीत भरेकी छु।
‘यी हाँसे पनि सुख छैन मनमा बिर्से कि आमा भनी,
यी रोए पनि सुख छैन मनमा सम्झे कि आमा भनी।’
केटाकेटी बेलादेखि ‘गौरी’ खण्डकाव्यका श्लोकहरू सुन्दै हामी हुर्कियौं। म गौरी र राष्ट्रकवि माधव घिमिरेकी जेठी छोरी। गौरी काव्यमा म चार वर्षको छु भने बहिनी कान्ति ६ महिनाकी। म अहिले ७४ वर्षको भएँ। तर, गौरी काव्य रहुन्जेल अनन्त कालसम्म म त्यही चार वर्षीया शान्ति रहनेछु।
ठमेलमा मेरो जन्म भए पनि आमा बितेपछि बुवा फर्केर पहाडमै जानुभयो। लमजुङको गाउँसहरमा बुवासँग बिताएका जीवनका ती स्वर्णिम दिनहरू वर्णन गरे एउटा ठूलो किताबमा पनि नअटाउन सक्छ।
बुवालाई सबैले ‘जेठा गुरु’ भन्थे। अहिले पनि गाउँमा त्यही नामले चिनिनुहुन्छ। लमजुङकै खुदीमा मामाघर थियो। ‘यही हो तपाईंको गौरी’, बुवाले हजुरआमालाई यसो भन्दै बहिनी दिनुभयो। तर, मलाई भने छाड्न सक्नुभएन। कहिलेकाहीँ मामाघर जान मन लाग्थ्यो। बुवाले भरिया लगाएर मामाघर छाड्न पठाउनुहुन्थ्यो। भरिया मलाई छाडेर हिँडिहाल्थे। तर, मैले त्यहाँ बस्न नमानेपछि तुरुन्तै मावलीले अर्को भरिया खोजेर बुवाकहाँ पुर्या उन पठाउँथे।
बुवाले आमा र बाबु दुवै भएर हुर्काउनुभयो मलाई। मेरी आमा बितेपछि हामीलाई ममतामयी आमा फेरि दिनुभयो। मैले पहिलोपटक आमा शब्दको प्रयोग अहिलेको आमालाई प्रयोग गरेँ। कान्तिबाहेक भाइबहिनीहरू मञ्जु, उषा, किरण, ज्योति, इन्दिवर र राजीव दिनुभयो। जननी आमाको रूपमा गौरी हुनुभयो, आमाको रूपमा मैले महाकाली घिमिरेलाई पाएँ र उहाँकै मायाप्रेमले हुर्किएँ।
‘बाख्राको पाठो किन्छौ कि तीन आनामा दिन्छौ कि’— स्कुल जाँदा मलाई पिठ्यूँमा बोकेर यसरी नै गुनगुनाउँदै हिँड्नुहुन्थ्यो बाबा। गाउँसहरमै एउटा राजकुमारी जसरी हुर्किएँ। जसको घर गए पनि माया गर्थे। बाटोमा हिँडे, सबैले बोक्थे। गाउँले गौरीका श्लोक पढेर रुन्थे। मलाई देखेर किन रोएका होलान् भनेर अचम्म लाग्थ्यो। प्रत्येक घरका ढोकामा म जाँदा खुसीले खुल्थे। सबैले त्यत्तिकै माया पाउँछन् भन्ने म ठान्थेँ।
बुवाले स्कुल जाने बेलामा दौरासुरुवाल र जुत्ता तल ल्याउन अह्राउनुहुन्थ्यो। जुत्ता ठूला भएकाले भœयाङ भœयाङ गर्दै बल्लतल्ल भर्यालङ ओर्लन्थेँ। छोरीले लुगा ल्याई भन्दै बुवा खुसी भएर कहिले त पुरस्कार नै दिनुहुन्थ्यो। हतार भएका बेला बुवा हिँडिहाल्नु हुन्थ्यो। स्कुल नजिकै भए पनि एक्लो हुँदा रुँदै जान्थेँ। गुरुको छोरी किन रोएको होला भनेर विद्यार्थीले हेरेपछि जानीजानी भुइँमा लडिदिन्थेँ। उनीहरूले मेरो लुगाको धुलो टकटक्याएर बुवाकहाँ पुर्या इदिन्थे।
थाहै नभई बाल्यकालका अवस्था पार गरेर यौवनावस्थामा पुगेँ। आफू परिचित परिवारमा उहाँले मेरो विवाह गरिदिनुभयो। बुवाले विवाहमा दाइजो साइकल र सितार दिनुभएको थियो। हामी २००९ सालतिर काठमाडौं आएका हौं। काठमाडौंमा त्यति बेला फाट्टफुट्ट मात्रै साइकल चल्थे। उहाँले लैनचौरमा लगेर आफैं मलाई साइकल सिकाउनुभएको थियो। साइकल चढेपछि सधैं भेट्न आउछे भन्ने थियो। संगीत नछाडोस् भनेर सितार थमाइदिनुभएको थियो। कसैसँग पनि नडराउने र जोसँग पनि बोल्न नहिच्किचाउने स्वभाव मैले बुवाबाटै सिकेँ। छोराको तालिम दिनुभएको थियो मलाई। विवाह हुन्जेल बहिनीहरू मात्रै थिए, पछि मात्रै भाइहरू जन्मिएका हुन्। हामीमध्ये जसलाई खेलाउनुहुन्थ्यो, कवितामै खेलाउनुहुन्थ्यो। भाइ जन्मियो। ‘थैया थैया थैया, सानो मेरो भैया’ भनेर लेख्नुभयो। ‘कता पर्योह पूर्व कता पर्योम पश्चिम, त्यतै पर्योए पूर्व जता आमा बस्छिन्’, बुवाले गुनगुनाउँदा भाइ दंग परेर खेल्थ्यो।
‘घामपानी’ भित्रका धेरै बालगीत बुवाले त्यति बेला मलाई काखमै राखेर लेख्नुभएको हो। हामी बसेको घरबाट अलि पर मस्र्याङ्दी देखिन्थ्यो। हिमचुलीबाट घाम झुल्कन्थ्यो। त्यो झुल्का कोठामा आउँदा बुवा गुनगुनाउनुहुन्थ्यो। बेलुका बेलुका बुवा संगीत पनि सिक्नुहुन्थ्यो। आफूले जीवनमा संगीत पूरा गर्न सक्दिनँ भनेर उहाँले मलाई संगीत सिकाउनुभएको हो। आज बाबुछोरीको नाता भनेको साहित्य र संगीत पनि हो। साहित्य उहाँ हुनुहुन्छ भने म उहाँको संगीत। अर्को नाता गुरु चेलीको। मेरो पिता नै मेरो गुरु। बहिनीहरू र मलाई सँगै राखेर खुला कौसीमा उहाँले गायत्री मन्त्र दिनुभयो।
म पढ्नमा साह्रै ठग्ने, खेल्नै मात्र जान्ने। बुवाले मलाई तह लाउन खोज्दा भाइबहिनीहरू भने तह लागे। मलाई एकदम शेरा बनाउनुभयो। पढ्नुपर्छ भनेर दिमागमै आएन। उहाँ आफैं पढाउनुहुन्थ्यो, तैपनि पढ्न मन लागेन। उहाँले अर्ति दिने काम कहिल्यै गर्नुभएन। कवितामय वातावरणमा हुर्किएकाले अलिअलि लेखिन्थ्यो तर बुवालाई सुनाउन डर लाग्थ्यो। हिम्मत जुटाएर एक दिन बुवालाई कविता सुनाएँ। उहाँले ‘तँ यसमा नलाग, तैंले संगीत गर’ भनेर मेरो हातमा सितार पो थमाइदिनुभयो। मैले संगीत सिक्दा तीन वर्षको कोर्स नौ महिनामै सकाएको थिएँ। त्यति बेला मैले गाना सिकेको थिएँ भने राजपरिवारका ऐश्वर्या, कोमल र प्रेक्षाले सितार सिकेका थिए। उनीहरू चाँदनी, चन्दा र सोनीको नामले चिनिन्थे।
विसं २०२५ तिरको कुरा हो। पतिको जागिरको सिलसिलामा नाम्चे पुगेका थियौं। त्यहाँ मलाई सियो, धागो चाहिएकाले बुवासँग मागी पठाएँ। यसले सियो धागो पो मागी, संगीत छाडी कि भन्ने आशंका बुवालाई भएछ। उहाँले सियो, धागोसँगै कविता पनि पठाउनुभयो, ‘सियो खोइ सियो, कता परि दियो। सानो सानो सियो, काम ठूलो थियो। खोज तिखा आँखा, आँखा यता नजा।’
बुवाले जहिले सिकाउने पाठ इमानदारी हो। एकपटक पसलमा केही किन्दा एक सुका बढी आएछ। म दंग परेँ। अब के के न गर्छु भनेर धेरै कल्पना गरेँ। बुवाले तुरुन्तै गएर फर्काइहाल भनेपछि मैले फेरि गएर फर्काइदिएँ। भौतिक रूपमा पनि बुवासँग मेरो अनुहार यति मिल्छ कि, उति बेला असनतिर तरकारी किन्न जाँदा नचिनेका मानिसले पनि बुवा घरमा हुनुहुन्छ ? भनेर सोध्थे।
यसपालि बुवा नराम्रोसँग बिरामी पर्नुभयो। त्यति बेला म अमेरिकामा थिएँ। उत्तिखेरै उडेर जाऊँ कि गुडेर जस्तो भयो। उता आफूले जन्माएका सन्तान छन्। उनीहरूले असाध्यै माया गर्छन्। यता बुवा हुनुहुन्छ, उहाँलाई पनि छाड्न सक्दिनँ। म पनि जीवनको उत्तरार्द्धमा पुगिसकेँ। तैपनि बुवा हुनुहुन्छ भनेर ढुक्कै लाग्छ।
बुवाको पछिल्लो महाकाव्य ‘ऋतम्भरा’ पुरा हुन अलि बाँकी छ। उहाँलाई पुनर्लेखन नगरी चित्त बुझ्दैन। मैले बुवाकै महाकाव्यमा संगीत हाल्दैछु। बुवा बिरामी हुँदा ‘ओहो मैले यो महाकाव्य अब पूरा गर्न सक्दिनँ नि। त्यो अपूरो भयो भने मेरो जीवन पनि अपूरो हुन्छ कि’ भन्ने लागेको थियो।
असोज ७ गते बुवाको जन्मदिन पर्छ। उहाँ जीवनका सुखदुःखका अनन्त यात्रारूपी भेलमा आफ्नो परिवारको डुंगालाई लिएर उमेरले शताब्दीको ढोका खोल्दै हुनुहुन्छ। हामी सबै सन्तान त्यही नाउमा छौं, त्यो हाम्रो सौभाग्य हो। बुवाको महाकाव्यमा संगीत भरेर उहाँलाई जन्मदिनको उपहार दिने मेरो सोच छ। महाकाव्यको पहिलो श्लोकमा संगीत हालेर त्यस दिन सबैलाई सुनाइनेछ। यसको पहिलो सर्गमा १६ वटा गीत छन्, सबैमा मैले संगीत हालिसकेँ। बुवाको ‘राजेश्वरी’, ‘राष्ट्रनिर्माता’ लगायतका कृतिमा पनि संगीत भरेकी छु। अरू केही कृतिमा सकाउने प्रयासमा छु। ‘घामपानी’मा भएका प्रसिद्ध बालकविताहरूको ‘मिरिमिच्चे म्याँ म्याँ बुरुक्क’ सीडी निकालेकी छु। ‘किन्नर किन्नरी’बाट पनि एउटा गीतको भिडियो बनाएको छु। बुवाकै जन्मदिनमा रिलिज गर्ने विचार छ।
महाकाव्यमा संगीत भर्न थालेपछि यसका प्रत्येक लाइनमा बुवाभित्र ऋषिपन देखेकी छु। यसमा समाधिका कुरा छन्, योगीहरूका कुरा छन्। वेद, उपषिद्को निचोड महाकाव्य ‘ऋतम्भरा’ हो। बुवाभित्र मैले बाबु, गुरुभन्दा पर महर्षि देखेको छु। मेरो बुवा भित्रको महर्षिलाई प्रकट गराउनु मेरो उद्देश्य हो। यो काव्य पूरा भएर पढेपछि भोलि समाजले पनि बुवालाई महर्षि नै देख्नेछ।
(रामकला खड्कासँगको कुराकानीमा आधारित)