हेलिकोप्टर दुर्घटना : ६  को मृत्यु, एकको जिवितै उद्धार

हेलिकोप्टर दुर्घटना : ६  को मृत्यु, एकको जिवितै उद्धार

बिदुर : जापानी पर्यटकसहित यात्रु बोकेर गोरखाबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर शनिबार नुवाकोटको मुइलाम्रा हिमाली भेगमा दुर्घटना हुँदा चालकसहित ६ जनाको ज्यान गएको छ । एक महिलाको जिवितै उद्धार गरिएको छ ।

सदरमुकाम विदुरदेखि ४० किलोमिटर पश्चिममा रहेको म्यागङ गाउँपालिका–४ मुइलाम्राको गुराँसे पहाडको जंगलमा अल्टिच्युड एयरको नाइनएन एएलएस कलसाइनको ६ सिट क्षमताको हेलिकोप्टर दुर्घटनामा परेको हो ।

हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु, रामेछापका दिल्लीबहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, गोरखा चुमनुब्री–२ का ल्हो आनि डोल्मा निकी, चुमनुब्री–१ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका सुनील तामाङ र चालक निश्चल केसी सवार थिए । गोरखाकी डोल्मा निकीलाई घाइते अवस्थामा उद्धार गरिएको नुवाकोट प्रहरीले जनाएको छ ।

घाइते डोल्मा निकीले टेलिफोन गरी हेलिकोप्टर दुर्घटनाबारे जानकारी दिएकी थिइन् । निकीले हेलिकोप्टर दुर्घटनालगत्तै आफू घाइते भएको र उद्धार गर्न अनुरोध गर्दै फोन गरेको विमानस्थल कार्यलयका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए । घाइतेलाई सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौंको मेडासिटी हस्पिटल लगिएको थियो । घाइते निकीलाई स्थानीय, जनप्रतिनिधि तथा सुरक्षाकर्मीले उद्धार गरेको म्यागन गाउँपालिकाका कर्मचारी मच्छिन्द्र प्याकुरेलले जानकारी दिए । घाइते ल्हो आनीलाई उद्धारकर्ताले एक घण्टा बोकेर उद्धारमा गएको हेलिकोप्टरसम्म ल्याएका थिए ।

गोरखा सामागाउँबाट बिहान सात बजेर ५६ मिनेटमा उडेको उक्त हेलिकोप्टर नुवाकोट र धादिङको सिमानामा आइपुगेपछि सम्पर्कबिहीन भएको थियो । बिहान आठ बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसहित अवतरण गर्नुपर्ने उक्त हेलिकोप्टर विमानस्थलको टावरसँग आठ बजेर पाँच मिनेटपछि सम्पर्कविच्छेद भएको विमानस्थलका प्रवक्ता तिवारीले जानकारी दिए ।

दुर्घटनास्ग्रस्त हेलिकोप्टर मुइलाम्राको घना जंगल खोंचमा टुक्राटुक्रा अवस्थामा फेला परेको घटनास्थल पुगेको म्यागङ गाउँपालिकाका–४ का वडाध्यक्ष कमलबहादुर तामाङले जानकारी दिए । दुर्घटनास्थलमा चालकसहित पाँचै जनाको शव फेला परेको थियो । हेलिकोप्टर पछाडिको भाग टुक्राटुक्रा भएको छ । सिमसिम पानी परेका कारण दुर्घटनामा परेको हेलिकोप्टरमा आगो भने लागेन ।

दुई हजार मिटर उचाइमा रहेको गुराँसे पहाडमा कुहिरो लागेको बेला हवाइमार्ग पहिचानमा समस्या हुँदा ठोक्किन पुगेको हवाई प्राविधिकको अनुमान छ । दुर्घटनाको जानकारी पाउने वित्तिकै जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट डीएसपी भीमलाल भट्टराईसहितको टोली म्यागङको मुइलाम्रा जंगल पुगेको थियो । प्रहरी, सेना तथा स्थानीयको टोली दुई घण्टा पैदल हिँडेर घटनास्थल पुगेका थिए । दुर्घटनास्थलमा बाक्लो कुहिरो लागेर पानी परिरहेका कारण उद्धारमा समस्या आएको थियो । दुर्घटनास्थलमा उद्धारका लागि काठमाडौंबाट गएको हेलिकोप्टर अवतरण गर्न कठिनाई हुँदा घाइतेको उद्धारमा पनि समस्या आएको थियो । दुर्घटनालगत्तै दुर्घटनास्थल वरिपरि उद्धारका लागि हेलिकोप्टर पुगे पनि ती हेलिकोप्टर अवतरण गर्न नसक्दा आकाशमै घुमिरहेका थिए ।

दुर्घटनाको जानकारी पाए लगत्तै विदुर, देउराली प्रहरी चौकीबाट प्रहरी तथा उद्धारकर्ताको टोली परिचालन गरिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए ।

आठ घण्टापछि दुर्घटनास्थल पहिचान दुर्घटनाको आठ घण्टापछि घटनास्थलवाट ल्हो आनीलाई उद्धारकर्ताले उद्धार गरेका हुन् । ल्हो आनी स्वयंले आफू चढेको हेलिकोप्टर दुर्घटनामा परेको खवर गरेकी थिइन् । बिहान आठ बजेर पाँच मिनेटमा विमानस्थलसँग सम्पर्क भएको हेलिकोप्टर दुर्घटनास्थलको पहिचान दिउँसो ३ बजेमात्र भएको थियो ।

दुर्घटनास्थल मुइलाम्रा जंगलमा बाक्लो कुहिरो लागिरहेको र पानी परिरहेको कारण दुर्घटनास्थल पहिचान गर्न कठिनाई भएको दुर्घटनास्थल पुगेकी म्यागङ गाउँपालिका उपाध्यक्ष शान्ति लामाले बताइन् । उच्च भेगमा एयर संकेतका आधारमा हेलिकप्टर गस्तीका आधारमा घटनास्थल पहिचान गर्न सफल भएको म्यागङ गाउँपालिका–४ का वडाध्यक्ष कमलबहादुर तामाङले बताए । समयमै घटनास्थल पहिचान गरी पुग्न सकेको भए अन्य यात्रुलाई पनि जिवितै उद्धार गर्न सकिने अवस्था आउने उनले बताए ।

‘घाइतेको भीरबाट उद्धार’

बिहान ११ बजे सेमजोङको आकाशमा निकै तलबाट हेलिकोप्टर आएपछि मात्रै हामीले दुर्घटनाबारे थाहा पाएका थियौं । बेपत्ता हेलिकोप्टर खोज्न गाउँ नजिकैबाट हेली आएको रहेछ । बर्सुङचेतको जंगलमा हेली फेला प¥यो भनेपछि हामी त्यतै गएका हौं । हामी पुग्दा बर्सुङचेतबाट केही प्रहरी र स्थानीय आइसकेका थिए । ३ जनाको शव हेलिकोप्टर भित्रै थियो ।

१ को शव दुर्घटनाग्रस्त हेलिकोप्टर भन्दा १० मिटर जति पर, अर्काे एउटा शव ५० मिटर जति पर फेला परेको हो । रूखको हाँगाबिंगामा ठोक्किएर हेलिकोप्टर पुरै क्षतिग्रस्त भएको छ । विस्फोट हुने डरले हेलिकोप्टरको नजिक कोही जान सकेनन् । घाइते महिलालाई दुर्घटनास्थल भन्दा करिब १ सय ५० मिटर जति तल लहरामा अड्केको अवस्थाबाट हामीले उद्धार गरेका हौं । उनलाई उपचारका लागि पठाउन केही पर लगेर राखिएको थियो । म गाउँबाट २ घण्टा हिँडेर घटनास्थलमा पुगेको हुँ । म ४ बजेतिर घटनास्थलबाट फर्किंएको हुँ ।

(धादिङ सेमजोङका स्थानीय सुकराम तामाङसँग अन्नपूर्णकर्मी मनिष दुवाडीले टेलिफोनमा गरेको कुराकानीमा आधारित)

०००


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.