यो डोल्पाको कथा हो

यो डोल्पाको कथा हो

 काठमाडौं  : ‘म सानो हुँदाको घटना हो यो । उपल्लो डोल्पाबाट मेरो मामाको छोरा नागरिकता बनाउन सदरमुकाम गएछन् । उनलाई नेपाली भाषा बोल्न नआउने । तीन महिनासम्म सदरमुकाममै बसे । अति भएपछि कार्यालयमा झगडा गरेछन् । उनीमाथि कुटपिट भयो । गहिरो चोटपटक लाग्यो । समयमा उपचार भएन । घाउ पाक्यो । त्यही घाउकै कारण उनको मृत्यु भयो ।’ गुरु रानाग रिन्छेन रिन्पोछेले एकै सासमा उपल्लो डोल्पाको कथा सुनाए ।

त्यो घटना भएको दशकौं बितिसक्यो । उपल्लो डोल्पाबाट १२ वर्षको उमेरमै काठमाडौं पसेका रानाग अहिले ४५ वर्षका भए । आजभोलि मानिसहरू उनलाई ‘डोल्पो बुद्ध’ उपनामले बोलाउँछन् । यो उपनाम कसरी रहन गयो ? यसको लामो कथा छ ।

उनको खास नाम फुर्वा टासी गुरुङ हो । वि.सं. २०३० सालमा उपल्लो डोल्पाको साल्दाङ–१ जन्मिए । आमाबुवाले ६ वर्षको उमेरदेखि नै लामा पढ्न गुम्बामा राखिदिए । अवतारी लामा उनी त्यसपछि बने रानाग रिन्छेन रिन्पोछे । बाल्यकाल गुम्बामा बित्यो । औपचारिक शिक्षा लिन पाएनन् । ६ वर्ष यात्सेर गुम्बामा पढेपछि बुवा नोर्बु गुरुङ र आमा बोन्छोकले आफ्ना कान्छा छोरालाई पढ्न काठमाडौं पठाए । काठमाडौं आएर टुसालमा रहेको उगेन दोङाक छोइलिङ गुम्बामा पढ्न थाले । १२ वर्षमा ‘मास्टर डिगनिटी’ पास गरी लामा गुरु बने ।

बिचबिचमा डोल्पा जाने–आउने क्रम चलिरह्यो । आफूले पढेको शिक्षाले गाउँमा तात्विक अन्तर आएको देखेनन् । उस्तै देख्थे डोल्पा । उस्तै देखे गाउँको दुःख । उस्तै देखे अँध्यारो । पाँच वर्षे बालिकाहरू टाढाबाट पानी बोकिरहेका । बालकहरू चौंरीको पछिपछि कुदिरहेका । स्कुल थिएन । उस्तै थियो, तल्लो डोल्पा आउँदा भोग्नुपर्ने समस्या । उस्तै थियो, उपल्लो डोल्पालीले कलम किन्न पनि घुस खुवाउनुपर्ने विडम्बना । भन्छन्, ‘भाषा नबुझिने । कलम किन्न पनि घुस दिनुपथ्र्यो ।’ सदरमुकाममा महिनौं कुर्थे, उनी कतिपय रित्तै फर्किन्थे । कुर्नेहरू प्रायः मौसम नमिलेर बिरामी पर्थे । भन्छन्, ‘चिसो ठाउँको मान्छे । मौसम नमिलेका कारण कति मर्थे पनि ।’

उस्तै देखे, झमेला । उस्तै देखे दुःख । भन्छन्, ‘पैसा नहुने । भाषा पनि नबुझ्ने । लेखपढ गर्न पनि नआउने । मनपरि हुन्थ्यो प्रशासनमा । मेरै मामाले लालपुर्जाको लागि १० वर्षसम्म दुःख पाउनुभयो ।’ उनले देखे चुनावमा मात्रै आउने नेताको उस्तै लस्कर । भन्छन्, ‘नेताहरूले चुनावको बेला भेडा बाख्रा जस्तै गर्थे हामीलाई । उनीहरूलाई भोट नदिए कुट्थे पनि ।’

सबै समस्याको मुल जरो शिक्षा ठाने उनले । भन्छन्, ‘शिक्षाले नै डोल्पालीको आँखा खोल्न सक्छ भन्ने लागिरह्यो ।’

अनि सुरु भयो स्कुल

२०५५ सालमा उनलाई साथीभाईले घुम्न हङकङ बोलाए । गए । तर यात्रामा अंग्रेजी बोल्न नआउँदा निकै अप्ठेरो ब्यहोरे । भन्छन्, ‘नेपाली भाषा पनि राम्रोसँग बोल्न नसक्ने म अंग्रेजी बुझ्न झनै गाह्रो भयो ।’ ३ महिनाको यात्रामा उतै पूजापाठ गरे । केही पैसा जम्मा गरे । अनि, अलग्गै सपना देख्न थाले । स्कुल देख्नै नपाई चौंरीको पछिपछि दगुर्ने बाल्यकालीन साथीभाई सम्झे । शिक्षाको उज्यालोबाट बञ्जित डोल्पा सम्झे । उनको दिमागमा उपाय फु¥यो । सम्झिँदै भन्छन्, ‘त्यो पैसाले गाउँका भाइबहिनीलाई पढाउँछु भन्ने लाग्यो ।’ तर हङकङका साथीहरूले उनलाई दुईचार जनालाई पढाउने भन्दा स्कुल नै खोल्न हौसला दिए ।

त्यसपछि काठमाडौंमा २०५९ सालबाट स्कुल सुरु गरे । जिल्ला शिक्षा कार्यालयबाट सम्बन्धन लिए । स्कुलको नाम राखे स्नोल्याण्ड रानाग स्कुल । विद्यार्थी खोज्न गाउँ पुगे । टुहुरा, बाआमाबिच छोडपत्र भएपछि छाडिएका, द्धन्द्धपीडित र गरिब असाहयलाई उनले पढाउने मापदण्ड बनाए । मापदण्ड अनुसारका १२ जना केटाकेटी लिएर काठमाडौं आए । नयाँ बानेश्वरमा एउटा फ्ल्याट भाडामा लिएर स्कुल सुरु गरे ।

अब स्कुल तयार भयो । विद्यार्थी आइपुगे । तर, शिक्षक छैन । भन्छन्, ‘आफूलाई पढाउन नआउने । शिक्षक कहाँ खोज्ने ? समस्या भयो ।’ धेरै दिनसम्म शिक्षक बिना अलपत्र परिरह्यो स्कुल । बौद्धकी याङ्गी तामाङ भेटिइन् । उनलाई पढाइदिन आग्रह गरे । उनी आफैँ कक्षा १० मात्रै पढेकी रहेछिन् । उनैले पढाउन थाले ।

तर, फेरि अर्को समस्या आइप¥यो । भन्छन्, ‘कक्षा सुरु भएको केही महिनामै गाउँको बच्चाहरू फोहरी हुने भन्दै स्कुल सार्न घरबेटीले किचकिच गर्न थाल्यो ।’ त्यसपछि रानाग पोकापुन्तरा बोकेर विशालनगर सरे । भाडामा फ्ल्याट लिएर स्कुल चलाउन थाले । विदेशमा बस्ने साथीहरूले उनलाई आर्थिक सहयोग गर्न थाले । उनले पनि पूजापाठ गरेको पैसा स्कुलमै खर्च गरिरहे । ‘विशालनगरमा आएपछि अलि राम्रो भयो,’ भन्छन्, ‘विदेशी भोलिन्टियर पनि हेर्न आउन थाले । केही सहयोग प्राप्त भयो ।’ ८ जना शिक्षक थपिए । विद्यार्थी संख्या ६० पुग्यो ।

उनी पूजापाठ गर्न विदेश गइरहे । पाठपूजा गरेको पैसा स्कुलमै खर्च गर्थे । त्यो पैसा जोहो गरेर बुढानिलकण्ठ सरे । मासिक १ लाख तिर्ने गरी घर भाडामा लिए । विद्यालयलाई १० कक्षासम्म पढाउन मिल्ने बनाए । हिमाली भाषा पनि कक्षामा समावेश गरे । अहिले १८० विद्यार्थीलाई २५ जना शिक्षक÷शिक्षिकाले पढाइरहेका छन् ।

ती सबै विद्यार्थीले कुनै पनि शुल्क तिर्नु पर्दैन । सबैका ‘बुवा’ उनी नै हुन् । पास आउट भई बाहिर प्लस टु पढ्नेहरू पनि त्यहीँ होस्टेलमै बस्छन् । भन्छन्, ‘७ ब्याच पास आउट भइसक्यो । एसएलसीमा एप्लस ल्याउने विद्यार्थी धेरै छन् ।’

वितेको १६ वर्षमा धेरै परिवर्तन भयो गाउँमा । पहिला मानिसहरू स्कुल जान मान्दैन थिए । स्कुल पनि थिएन । अहिले पढ्नुपर्छ भन्ने सोचको विकास भएको उनी बताउँछन् । त्यही पढेका विद्यार्थीमध्ये १२ जनाले स्नातक पास गरे । उनकी बहिनी पेमा डोल्मा गुरुङले पनि स्नातक पास गरिन् । अहिले दाइलाई सघाउँदै छिन् । उनी स्नोल्याडकी प्रिन्सिपल समेत हुन् । कोही विदेश गइसके । भन्छन् ‘कोही अमेरिका छन् । कोही युरोप पुगे ।’

उनको गाउँमा स्कुल खुलिसकको छ अहिले । कोही गाउँ फर्किएर स्कुल चलाइरहेका छन् । स्कुलबाटै पढेर कोही इन्जियिरियङ बन्ने तरखरमा छन् । कोही उपल्लो डोल्पाको पहिलो डाक्टर बन्दैछन् । भन्छन्, ‘ग्याल्जेन गुरुङ गरिब परिवारको छोरा हो । उ अहिले गन्डकी मेडिकल कलेज पोखरामा पढ्दैछ ।’ स्नोल्याण्डमा पढेका बच्चाहरू बाबुआमासँगै नागरिकता बनाउन सदरमुकाम आएको देख्दा उनी दंग पर्छन् ।

१० कक्षा पढिसकेपछि विद्यार्थीलाई भोलिन्टिएर गर्न गाउँ पठाउँछन् । उनी आशावादी छन् । भन्छन्, ‘अबको १० वर्षमा गाउँको मुहार अझै फेरिन्छ पक्कै ।’ पहिला उनको कुरा सुन्न तयार नहुनेहरू अहिले उनको अघि नतमस्क हुन्छन् । उनलाई उपल्लो डोल्पालीले भन्न थालेका छन् ‘डोल्पो बुद्ध ।’ अर्थात ज्ञानको ज्योति बाड्ने बुद्ध ।

कसरी चल्दैछ स्कुल ?

सातवर्षदेखि बुढानिलकण्ठस्थित रुद्रेश्वरमा स्कुल सञ्चालन गरिरहेका छन् उनी । ७ जनाको सञ्चालक समिति छ । शिक्षकलाई सरकारी स्केल अनुसारै तलब दिन्छन् । वार्षिक २ करोड खर्च हुने उनी बताउँछन् । बैंकबाट ऋण निकालेर स्कुलको लागि जग्गा किन्ने र स्कुललाई प्लसटुसम्म पु¥याउने उनको योजना छ ।

स्कुल चलाउन निकै मुस्किल परिरहेको उनी बताउँछन् । पूजापाठ गर्न विदेश गइरहन्छन् उनी । ताइवान, हङ्कङ अलि बढी गइरहने ठाउँ हुन् । युरोप पनि जान्छन् बेलाबेला । विदेशमा सहयोग संकलन गरेर ल्याउँछन् । काठमाडौंमा चिनजानका मानिस कम भएकाले समस्या परिरहेको उनको भनाइ छ । भाषाको समस्याले उनलाई पछ्याउन अझै छाडेको छैन । भन्छन्, ‘औपचारिक शिक्षा नपढेकाले गाह्रो भइरहेको छ । विदेशीलाई इङ्लिसमा बुझाउन सकेको भए अझै सहयोग प्राप्त हुन्थ्यो होला ।’

पूजापाठसँगै रानाग विदेश गइरहनुमा उनको अर्को शिप सहयोगी बनेको छ । त्यो हो, उपचार । उनी उपचार पनि गर्छन् । विदेश गएर त्यहीवापत पारि श्रमिक लिन्छन् । अनि, स्कुल चलाउँछन् ।

स्कुलभित्रै छात्र र छात्राका लागि छुट्टाछुटै होस्टेलको व्यवस्था छ । अविवाहित उनी पनि स्कुलकै एउटा कोठामा बस्छन् । स्कुल छाडेर बाहिर निस्कन मन नलाग्ने उनी बताउँछन् । भन्छन्, ‘सानासाना भाइबहिनी छन् । उनीहरूको एकदमै माया लाग्छ । तिनीहरूलाई छाडेर बाहिर बस्न मनै लाग्दैन ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.